डोल्पा - जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको उक्त आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको हो।
एनए इन्जिनियरिङ कन्सल्टेन्सीलाई आयोजनाको डिपिआर निर्माणका लागि २३ महिना समयावधि दिइएको थियो। डिपिआर निर्माण समयावधि नजिकिँदै जाँदा निर्माण कार्यले तीव्रता पाएको छ। तोकिएको समयावधि आगामी पुसमा सकिदै छ। कन्सल्टेन्सीलाई दिइएको समयावधिभित्र सकिने गरी डिपिआर निर्माण भइरहेको कम्पनीले जनाएको छ। आयोजना निर्माणका लागि सात वर्ष लाग्ने बताइएको छ।
डिपिआर निर्माणपछि निर्माणस्थलसम्म आवश्यक सामग्री तथा उपकरण सहजरुपमा पु¥याउन सर्वप्रथम सडक, पुललगायत पूर्वाधार निर्माणमा दुई वर्ष र विद्युत् आयोजनामा पाँच वर्ष गरी सात वर्ष लाग्ने अनुमान गरिएको आयोजना प्रमुख सन्जय सापकोटाले बताए। उनका अनुसार आयोजना पूर्णरुपमा सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ‘भौगालिक विकटताका कारण आयोजना निर्माण हुँदासम्म प्रारम्भिक रुपमा २२ अर्ब लाग्ने अनुमान गरिएको छ,’ सापकोटाले भने, ‘अरु के कति खर्च लाग्छ भन्ने कुरा डिपिआर निर्माणपछि मात्रै थाहा हुने छ।’ यो आयोजनामा ६.१ किलोमिटर लामो भूमिगत सुरुङ पनि निर्माण गरिने छ।
आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुने छ। जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत विद्युत् गृहमा पानी खसालिने छ। साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत् उत्पादन गृह निर्माणसमेत गरिने आयोजना प्रमुख सन्जय सापकोटाले बताए। यहाँबाट उत्पादन भएको विद्युत् सिधैं जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलस्थित चार सय केभी प्रसारण लाइनमा जोडिने पनि आयोजना प्रमुख सापकोटाले जानकारी दिए।
निर्धारित समयमै आयोजना निर्माण
ऊर्जा मन्त्री वर्षमान पुनले निर्धारित समयभित्रै निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजना पूरा हुने बताएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट पहिलो पटक डोल्पा पुगेका मन्त्री पुुनले मंगलबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरेका छन्। आयोजना अनुगमन तथा निरीक्षणका क्रममा जगदुल्ला हाइड्रोपावरको बाँध बाँधिने स्थानमै पुगेका मन्त्री पुनले स्थानीयसँगको भेटघाटमा उक्त कुरा बताएका हुन्। दुई वर्षमा सडक हाइड्रोपावरको आयोजनास्थलसम्म पुग्ने र पुल निर्माण प्रकृया पनि सुरु भइसकेकाले आयोजनासँगै सडक पनि दुई वर्षमा पुग्नेमा विश्वस्त हुन उनले आग्रह गरे।
नेपाल सरकार आफैंले निर्माण गर्न लागेको हाइड्रोपावरको मन्त्री आफैंले निरीक्षण गरेपछि स्थानीयमा निर्माण कार्यले मूर्त रुप लिनेमा आशा पलाएको छ। हाइड्रोपावरको निरीक्षण तथा अनुगमन र कामको प्रगति बुझ्न आएका मन्त्री पुनले आयोजना निर्माणका क्रममा अधिग्रहण गर्न लागिएको जग्गाबारे समेत स्थानीयसँग छलफल गरी जनताको चित्त बुझ्ने गरी मुआब्जा उपलब्ध गराइने बताए। आयोजना निर्माणका क्रममा दुई सय ४० रोपनी जग्गा अधिग्रहण हुने बताइएको छ।
ऊर्जा मन्त्रीसँगै आयोजना निर्माणस्थलमा पुगेका वन तथा भू–संरक्षण मन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद वीरबहादुर शाही समेतको टोलीलाई जगदुल्ला र मुड्केचुला गाउँपालिकाका स्थानीयले फुलमाला र अविरले भब्य स्वागत गरेका थिए।
प्रकाशित: २० मंसिर २०७६ ०२:१६ शुक्रबार