१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटक लोभ्याउँदै तोरीखोला होमस्टे

फाइल फोटो

बाग्लुङ– साँझ छिपिँदै थियो। कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे। गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए। भजन गाउँदै सामुदायिक भवन पुर्‍याए। 

बुधबार दिउँसैदेखि तोरीखोला गाउँ बेग्लै सुरसारमा थियो। पाहुनाको सत्कारका लागि स्थानीय आतुर थिए। गलकोट नगरपालिका–२ नरेठाँटीस्थित गाउँ त्यो दिन आधारातसम्म जागै बस्यो।

तोरीखोला सामुदायिक घरवास (होमस्टे) पुगेका पाहुना खुलेर रमाए, तनाव बिर्सिए। पदमार्ग हुँदै सामुदायिक भवन पुगेका पाहुनालाई गाउँलेले ‘सगुन’ चखाए। संस्कृति देखाए। कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला र गेँडागुडीको अचार टक्राए। पाहुनले स्वाद मानेर खाए। स्थानीय महिला समूहले ‘घुम्टे साइँला’ को लयमा गीत गाए। थाली नाच नाचे। 

सामुदायिक भवनमा सत्कारसहित ‘सगुन’ खुवाउने कार्यक्रमपछि पाहुना घरवासमा बाँडिए। त्यहीँ रात बिताएर भोलिपल्ट फर्के। तोरीखोलाका पाँच घरमा घरवास सेवा छ। एक रातमा कम्तीमा २५ जना पाहुनाको क्षमता छ।

गत महिनादेखि व्यवस्थितरुपमा घरवास सुरु गरिएको हो। बुधबार कलाकारसहितका पाहुना आउने भएपछि गाउँलेले विशेष तयारी गरेका थिए। स्वागतद्वार र रङ्गीचङ्गी ध्वजापतकाले गाउँ सजिएको थियो। सोही अवसरमा इन्द्रेणी समूहले मौलिक दोहोरीगीतको छायाङ्कनसमेत गर्यो। लोकदोहोरीमा स्थानीयले नाचेर, गाएर साथ दिए।

घरवासको प्रवर्द्धनका लागि सञ्चालक समिति र वडा कार्यालयले छायाङ्कनको तारतम्मे मिलाएका थियो। घरवासबाट गाउँलाई चिनाउने योजना रहेको सञ्चालक समितिका अध्यक्ष कुमार घर्तीमगरले बताए। ‘पर्यटकलाई हाम्रो मौलिकपन र पहिचानमा रमाउने वातावरण बनाउँदैछौँ’, उनले भने,‘थप १० घरमा घरवास सञ्चालनको योजना रहेको छ।’

कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो। स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ। प्रत्येक दिन बेग्लाबेग्लै खानाका परिकार बन्ने घरवास सञ्चालक सीता पुनले बताइन्। 

उनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको १२ सय रुपैयाँ तिर्नुपर्छ। पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ। खानामा मकैको आटो, कोदोको ढिँडो, रोटीजस्ता परिकार बन्छन्। गाउँमै उत्पादित माछामासु, तरकारी, गेँडागुडी, आलु आदि उपलब्ध गराइने घरवास सञ्चालक बताउँछन्।

मगर समुदायमा प्रचलित कला, संस्कृति पनि तोरीखोला घरवासमा आकर्षण हुन्। सोरठी, कौडा, थाली नाच, भजन, झ्याउरेगीतलगायत मौलिक संस्कृतिले आगन्तुकलाई लोभ्याउँछ। घरवासबाट गाईघाट झरना, निलुवा, शिवधुरी, गलकोट दरबार, सहस्रधारालगायत नजिकका पर्यटकीय गन्तव्यस्थल पुग्न सकिन्छ।

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट नजिकै रहेकाले तोरीखोला आउजाउ गर्न पनि सहज छ। लमजुङको काउलेपानी र स्याङ्जाको सिरुबारी घरवासको भ्रमणपछि तोरीखोलामा घरवासको योजना बनेको वडासदस्य भक्तबहादुर घर्तीमगरले बताए। 

‘भ्रमणपछि घरवास भन्ने यस्तो हुँदो रैछ भन्ने सिकियो’, उनले भने,‘हाम्रो गाउँमा पनि सम्भावना छ भन्ने देखेपनि अघि बढ्यौँ।’ घरवासका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा दश लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको थियो। उक्त बजेटबाट गाउँमा सौर्यबत्ती जडान, इन्टरनेटलगायत सेवा, सुविधा थप गरिएको छ।

तोरीखोलामा घरवाससँगै ‘नमुना बस्ती’ योजना पनि सञ्चालनमा रहेको छ। गलकोट नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट नमूना बस्तीका लागि छुट्टिएको छ।

उक्त योजनाबाट पदमार्ग, सडक, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा काम भइरहेको छ। ‘यो वर्ष नाली निर्माण र गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउँदैछौँ’, वडाध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘नमूना बस्ती नगरको क्रमिक योजनामा छ।’ रासस

प्रकाशित: ७ मंसिर २०७६ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App