१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

महासंघको भावी अध्यक्ष गोल्छा

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले विधान संशोधनमा देखिएको विवाद अन्त गरेसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भावी अध्यक्ष हुने निश्चित भएको छ।

महासंघको बिहीबार बसेको समितिको बैठकले विधान संशोधनका लागि आएको प्रस्ताव तत्काललाई रोक्ने निर्णय गरेपछि विवाद टुंगिएको हो। विधान संशोधनका लागि शुक्रबार विशेष साधारणसभा बोलाइएको थियो। यो सभा पनि अब नहुने भएको छ।

बैठकले विधान संशोधन नगर्ने प्रस्ताव पारित गरेको हो। महासंघको अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भए पनि विधान संशोधन गरेर यो व्यवस्था हटाउने चलखेल भएको थियो।

अध्यक्षको प्रत्यक्ष निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको व्यवस्थालाई कायम राख्ने निर्णय भएको छ। आगामी साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघकी अध्यक्ष राणाले बताइन्। ‘विधान संशोधनको विवाद टुंगिएको छ,’ उनले भनिन्। विधान संशोधनको विषयलाई लिएर केही विवाद देखिए पनि निजी क्षेत्र एक ढिक्का हुनु आवश्यक भएकाले अहिले उक्त विषय स्थगित गरिएको राणाले बताइन्। ‘निजी क्षेत्र एक ढिक्का भएर अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘आन्तरिक विवादभन्दा आर्थिक एजेन्डा प्रमुख छन्।’

–विधान संशोधन विवाद टुंगियो, अब आर्थिक एजेन्डा प्रमुख : भवानी राणा

विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउन महासंघभित्रको एउटा समूहले चर्को लबिङ गरेको थियो। महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालसहितको सक्रियतामा पुनः विधान संशोधनको लागि लबिङ गरेर विशेष साधारणसभा डाकिएको थियो। बिहीबार महासंघको बैठकले औपचारिक निर्णय गरे पनि गत शुक्रबार नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई नै कायम राख्ने विषयमा महासंघको विधान संशोधन समितिबीच सहमति भएको थियो।

विधान संशोधन गर्न महासंघका पूर्वअध्यक्ष ढकालको संयोजकत्वमा समिति गठन भएपछि चर्को मतभेद सतहमा आएको थियो। पूर्वअध्यक्ष पशुपति मुराराकालगायतले विधान संशोधनको विषयमा महासंघको बैठकमा लिखित रुपमा असहति प्रकट गर्दै आएका थिए।

विधान संशोधन गरेर विद्यमान व्यवस्था हटाउने वा नहटाउने भन्नेमा महासंघभित्र चरम धु्रवीकरण र विवाद भए पनि अन्ततः साबिककै व्यवस्थालाई निरन्तरता दिन अध्यक्ष राणा सफल भएकी छिन्। राणाले समन्वयकारी भूमिका खेलेर विवादलाई ‘सेफ ल्यान्डिङ’ गराइन्। राणा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि विधानमा भएको व्यवस्था अनुसार स्वतः अध्यक्ष भएकी थिइन्।

वरिष्ठ उपाध्यक्ष गोल्छाले अबको साधारणसभाबाट आफू महासंघको अध्यक्ष हुने निश्चित भएको बताए। ‘म वरिष्ठ उपाध्यक्षमा भोट ल्याएर जितेको हुँ,’ गोल्छाले भने, ‘महासंघको विधान अनुसार म स्वतः अध्यक्ष बन्छु।’ आफू अध्यक्ष बन्ने भएपछि रोक्ने प्रयास भए पनि विशेष साधारणसभा रोकिएपछि अब नियमित साधारणसभा हुने उनले बताए।

–विधिबाटै वरिष्ठ उपाध्यक्ष चुनिएकाले अब म स्वत : अध्यक्ष–शेखर गोल्छा

गोल्छा अध्यक्ष बन्ने निश्चित भएपछि अब वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ। आगामी चैतमा हुने महासंघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षसहितका अन्य आकांक्षीले सक्रियता बढाएका छन्। अहिले विधान संशोधन नभएपछि सम्भवतः अब वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति नै महासंघको अर्को कार्यकालमा अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्षका लागि अहिलेका उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ, किशोर प्रधानलगायत आकांक्षी देखिएका छन्।

महासंघले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा पनि जिल्ला तथा नगरका उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट, उद्योग प्रतिष्ठानसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ। महासंघले राज्यका निकायबाट लगानीको वातावरणमा असर पुग्ने गरी क्रियाकलाप गरेको ठहर गरेको छ। उद्योगपति रुपज्योतिको पक्राउप्रति लक्षित गर्दै कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App