६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेचामा ‘चिया खेती’ सुरु

सोलुखुम्बु – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चिया उत्पादन ब्लक कार्यक्रममार्फत आर्थिक वर्ष २०७५/७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका विभिन्न क्षेत्रमा चियाको बोट रोप्न थालिएको छ । चियाका लागि उपयुक्त हावापानी रहेको नेचासल्यान गाउँपालिकाको माथिल्लो भेगमा ५० हजार चियाको बोट रोपिएको छ ।

कार्यक्रमअन्तर्गत दुई सय हेक्टर जमिनमा चिया रोप्ने लक्ष्य राखिएको नेचासल्यानमा पहिलो वर्ष नै पाँच हेक्टर क्षेत्रफलमा चिया रोपिएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिव वेदबहादुर भण्डारीले जानकारी दिए । ईलामबाट ल्याइएको ५० हजार बिरुवा कालीपोखरी र सेतिपोखरी सामुदायिक वनको खाली जग्गा तथा निजी जग्गामा रोपिएको छ ।

पहिलो वर्ष २० लाख लगानीमा चियाको बिरुवा र नर्सरीका लागि ५३ हजार चियाको डाला ल्याएपछि अहिले नेचामै दुई लाख चियाको नर्सरी उत्पादन गरिएको छ । कार्यक्रमका सचिव भण्डारीका अनुसार भण्डारी गाउँमा एक लाख, फुयालगाउँमा ३० हजार र झाँझरेमा ७० हजार चियाको नर्सरी उत्पादन गरिएको छ । दुई वर्षमा नर्सरी रोप्नका लागि तयार हुने भएकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा पनि इलामबाट एक लाख बिरुवा र नर्सरीका लागि ५० हजार डाला ल्याउने योजना बनाएको भण्डारीको भनाइ छ ।

सात वर्षसम्म चल्ने कार्यक्रम अवधिमा नेचासल्यानको माथिल्लो क्षेत्र सुकेपोखरी, चिसापानी पोखरी, फुर्के, भन्ज्याङ, गैरी हुदै ओखलढुंगाको धापसम्म नै चिया रोप्ने र आर्थिक उपार्जनसँगै पर्यटनलाई पनि जोडेर अघि बढ्ने सोच बनाएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिव भण्डारीले बताए ।

भण्डारीले भने, ‘चियाखेतीमा बिस्तारै आकर्षण बढ्दै छ तर, श्रमदान गर्ने युवा गाउँमा छैनन्, त्यसकारण श्रमदानमा निकै समस्या हुने गर्दछ । गाउँमा युवा नहुनुले पनि कतिपय पाका पुस्ताको मन हुँदाहुदै पनि बाँझो रहेको बारीमा चिया रोप्न सकिएको छैन ।’ रोपेको पाँच वर्षपछि चियाले उत्पादन दिने भएकाले नेचा क्षेत्रकै प्रशोधन केन्द्र स्थापना गरिने तयारी थालिएको छ ।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App