१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सर्वत्र फूलैफूल

जिपी भण्डारी

फूलको जति बर्णन गरेपछि कम हुन्छ। हिन्दू धर्म अनुसार धार्मिक, सांस्कृतिक कार्यक्रम लगायत हरेक शुभकार्यमा फूल अनिवार्य छ। फूललाई प्रेमको प्रतीकका रूपमा पनि लिने गरिन्छ। फूल सबैको प्रिय भएकाले पनि होला प्रेमी–प्रेमिकाले एकअर्कालाई प्रेम प्रस्ताव गर्दा पनि फूल दिने चलन छ।

पश्चिमेली मुलुकमा सामान्य भेटघाट हुँदा फूल उपहार दिने चलन भए पनि हाम्रोमा चाडपर्व र धार्मिक काममा बढी प्रयोग हुन्छ। यिनैमध्ये बढी फूल माग हुने पर्व हो– भाइटीका।

पौराणिक कथा अनुसार मृत्युका राजा यमराज भाइटीकाको दिन बहिनी यमुनाकहाँ जाने टीका लगाउन जाने हुँदा तिहारको बेला मृत्युसमेत नहुने विश्वास छ।

भाइटीकाको पौराणिक, धार्मिक र सांस्कृतिकमात्र नभई सामाजिक महत्व पनि कम छैन। घरपरिवारमा सामान्य वैमनश्यले एकअर्कासँग नबोले पनि तिहारमा सबै सदस्य एक ठाउँमा जमघट हुने भएकाले चिसिएको सम्बन्ध पुनः सुध्रिन्छ। कामको सिलसिलामा देश–विदेशमा रहे पनि तिहारमा परिवारका सबै सदस्यसँग खुसी साट्न घर फर्किने चलन छ।

विशेष गरी दिदी बहिनीले दाजु–भाइलाई सयपत्री, मखमली र गोदावरी, दुवोको रंगीबिरंगी माला लगाई दीर्घायुको आशिर्वाद दिन्छन्। फूलको माला लगाई सगुनको रूपमा दही र अन्य मिठा खानेकुरा खुवाउने चलन छ। दिदीबहिनीको हातबाट टीका ग्रहण गरिसकेपछि दाजुभाइले उपहार र दक्षिणा दिन्छन्।

भाइटीकामा फूलको माला अनिवार्य भएकाले फूलको खपत अत्यधिक हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)का कार्यक्रम संयोजक जेबी तामाङले बताए। ‘दसैंमा जमरा र भाइटीकामा फूलको महत्व भएकाले यो बेला मुलुकमा उत्पादन भएका फूलले माग थेग्न नसक्ने भएकाले भारतबाट आयात हुने गरेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनले माग पूरा नहुने भएकाले यो बेला भारतबाट ठूलो मात्रामा सयपत्री फूल आयात हुन्छ।’

फानले केही दिनअघि सार्वजनिक गरेको विज्ञप्ति अनुसार गत वर्ष तिहारका लागि करिब १० करोड रूपैयाँको फूल आयात भएको थियो। वर्षभरमा करिब २० करोड रूपैयाँको फूल आयात भएको एसोसिएसनको भनाइ छ।

हाल मुलुकभर करिब सात सयवटा नर्सरी सञ्चालनमा छन्। ती नर्सरीको उत्पादनले अन्य समयमा फूलको माग धाने पनि दसैं–तिहारमा अत्यधिक माग हुने गरेकाले आयात गर्नुपरेको तामाङ बताउँछन्। उपत्यकाभित्र मात्र करिब तीन सय ५० वटा नर्सरीले फूलका बिरुवा, फूल र बीउ बिक्री गर्छन्।

मुलुकका ४३ जिल्लामा व्यावसायिक फूलखेती हुने गरेको छ। गत आवमा करिब दुई अर्ब ४२ करोड रूपैयाँको फूलको कारोबार भएको थियो। हाल पुष्प व्यवसायमा करिब ४३ हजार पाँच सयले प्रत्यक्ष रोजगारी पाएको फानको भनाइ छ।

बाह्रै मास सयपत्रीको माग हुने गरे पनि भाइटीका बेला गोदावरी र मखमली पनि अत्यधिक बिक्री हुने गरेको ठूलो भ-याङस्थित मुस्कान नर्सरीका सञ्चालक महेन्द्र सुवेदीले बताए। २०५० सालदेखि व्यावसायिक फूलखेती गर्दै आएका उनी भन्छन्, ‘दसैंदेखि आजसम्म करिब २० हजार सयपत्री, तीन हजार गोदावरी र मखमलीको बिरुवा बिक्री गरें।’

प्रतिबिरुवा सयपत्रीको ४० र गोदावरी, मखमलीको ५० रूपैयाँ मूल्य रहे पनि बिरुवा अनुसार मूल्य फरक पर्छ। २६ वर्ष अरूको नर्सरीमा काम गरेका उनले सबै अनुभव बटुलेपछि आफ्नै नर्सरी सुरु गरेको बताए। हाल सयपत्री, गोदावरी, मखमलीबाहेक अधिकांश फूल विदेशबाट आउने गरेको उनले बताए। केही वर्षअघिसम्म फूलको व्यापार चाडवाडका बेला मात्र हुने गरेकोमा विगत चार/पाँच वर्षयता बाह्रैमास माग हुने गरेको छ।

घर तथा आगन र कौसीमा फूल रोप्ने चलन बढ्दै गएकाले फूल बिक्री गर्न दसैं तिहार कुर्नुपर्ने अवस्था छैन। दसैं, तिहारका बेला खेतबारीदेखि आँगनमा फूल्ने गोदावरी फूलका विभिन्न जाति प्रजाति छन्। जसमध्ये मिनिएचर, इन्क्रर्म, रिफ्लेक्स, कट फ्लावर मुख्य हुन्।

ग्राहकको माग अनुसार भारत, नेदरल्यान्ड, चीन, थाइल्यान्ड लगायत मुलुकबाट विभिन्न प्रजातिका फूल आयात हुन्छ। विदेशबाट आयात हुनेमा डाइफन, बेचिया, ड्रयसेना, स्केट प्लान्ट, इसलिलीलगायत फूल छन्। यी फूलहरू घरमित्र सजाउन लिने गरेको उनले बताए। त्यसैगरी, असोजदेखि जेठसम्म फूल्ने पिटुनिया, बेन्थर, असर्जी, रेनकुलर, भरवेना, स्टक, पुतलीफूल, गजेनियालगायत मौसमी फूल आयात हुने गरेका छन्। चाडपर्वका समयमा फूलका उत्पादकले मात्र नभई खुद्रा बिक्रेताले पनि मनग्य आम्दानी गर्छन्। विगत १५ वर्षदेखि बसन्तपुर मरुटोलस्थित गणेशथान मन्दिर अगाडि फूल बिक्री गर्दै आएकी श्वेता कसजुले हाल दैनिक दुई सयभन्दा बढी माला बिक्री हुने गरेको बताइन्।

बच्चादेखि फूल बिक्री गर्दै आएकी उनले भनिन्, ‘अरू काम गर्दा निकै दौडधुप गर्नुपर्छ, फूल बिक्री गर्न माला सिउन जाने पुग्छ।’

प्रतिमाला फुटकर ३० रूपैयाँ लिने गरेकी उनले धेरै माला खरिद गरे पाँच रूपैयाँ छुट दिने बताइन्। उनले सयपत्री, गोदावरी र मखमली पूmलका माला बिक्री गर्दै आएकी छन्।

त्यसैगरी, जमलस्थित सडक पेटीमा फूल बिक्री गरी दैनिक पाँच हजार रूपैयाँ आम्दानी हुने गरेको सरिता तामाङले बताइन्। स्थायी घर काभ्रे बताउने उनले सात वर्षदेखि फूल बेचेर घरखर्च चलाउँदै आएकी छन्।

उनी भन्छिन्, ‘म बूढीलाई अफिसमा कसले काम दिने ? त्यही भएर कोठामा दिनभरी खाली बस्नुभन्दा यहाँ फूल बिक्री गर्दा नाति नातीनाको खर्च चल्छ।’

हाल दैनिक एक सय माला बिक्री हुने गरेको उनले बताइन्। प्रतिमाला ३० रूपैयाँका दरले बिक्री हुने उनले जानकारी गराइन्। भाइटीकाको अघिल्लो दिन गाउँ गएर परिवारसँग तिहार मनाउने योजनामा रहेको उनले सुनाइन्। इन्द्रचोकमा सयपत्री, मखमली, गोदावरी लगायत प्लास्टिकका माला बिक्री गर्दै आएकी मञ्जु श्रेष्ठले बाहै्रमास फूल बिक्री गर्दै आएको बताइन्। १० वर्षदेखि इन्द्रचोक, बसन्तपुर लगायत क्षेत्रमा फूल बिक्री गर्दै आएकी उनले यो व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि बहिनीलाई पनि फूलको व्यवसायमा संलग्न गराएको बताइन्।

प्रकाशित: ११ कार्तिक २०७६ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App