६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सकियो छेवेटार मेला, ५० हजारले अवलोकन गरे

मेला समापन कार्यक्रममा सहभागी हुँदै सांसद खड्का लगायत । तस्विर: नागरिक

गोरखा– गोरखा नगरपालिका १० को छेवेटारमा १० दिनसम्म संचालित प्रथम गोरखा छेवेटार रमाइलो मेला २०७६ सकिएको छ। मेलाको संघीय सांसद चुडामणि खड्काले एक कार्यक्रमका बीच शनिवार समापन गरेका हुन्।  

असोज ३० गतेदेखि संचालित मेलाको ५० हजार दर्शकले अवलोकन गरेको आयोजक सुर्योदय युवा परिवारले जनाएको छ। मेलामा बाल उद्यान, लत्ता कपडा, भाँडाकुँडा र खानाका परिकार सहितका स्टल संचालनमा रहेको थियो। मेला समापनको दिन प्रमुख अतिथि र अतिथिहरुलाई बजागाजासहित छेवेटार बजारबाट मेलास्थल लगिएको थियो। मेलामा एक सय ५० भन्दाबढिले हेलिप्टरबाट गोरखा दरवारसहित बिभिन्न ठाउँहरुको दृश्याबलोकन गरेको आयोजक क्लवका अध्यक्ष प्रदिप कुँवरले बताए।  

कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी सांसद खड्काले युवाहरु मिलेर गाउँमा गरेको मेला महोत्सवले ब्यापार ब्यवसाय सँगै बिकासमा पनि सहयोग गर्ने बताए। राजनीतिक मतभेदलाई अन्त्य गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए। 

कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त,पालुङ्टार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, नेपाली कांग्रेसका सभापति हरिबहादुर घले, नेकपाका नगर समिति सचिव कृष्ण राना, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, सुर्योदय युवा परिवारका उपाध्यक्ष सुनिल श्रेष्ठ लगायतले धारणा राखेका थिए। मेलामा धारणा राख्नेहरुले युवाहरुको समूहले पहिलो पटक ब्यापारीक केन्द्र बन्दै गरेको छेवेटारमा सफलता पूर्वक मेला गर्न सफल भएको भन्दै प्रंशसा गरेका थिए। 

सोही अवसरमा पहिलो छेवेटार लोक तारा घोषणा गरिएको थियो। तारा घोषित गोरखा नगरपालिका १४ की राममाया थापा मगरलाई नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र दिइएको सुर्योदय युवा परिवारका सचिव बिकास थापाले बताए। 

कार्यक्रमको अवधिमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार ज्योती मगर, प्रकाश सपुत, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा लगायतका कालाकारको प्रस्तुति रहेको थियो। मेलाबाट अनुमानित पाँच लाख नाफा हुने र उक्त रकम सामाजिक काममा खर्च गर्ने सुर्योदय युवा परिवारले जनाएको छ। उक्त क्लबले यस अघि पनि छेवेटारमा एम्बुलेन्स संचालन गर्नुका साथै दरौँदी किनारमा खेलमैदान निर्माण गर्न अतिक्रमित जग्गा फिर्ता लगायतको काम गर्दै आएको छ। 

प्रकाशित: १० कार्तिक २०७६ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App