२४ श्रावण २०७७ शनिबार
अर्थ

बाख्रापालनलाई सुधार गर्न विज्ञ सम्मेलन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन। तस्बिर : सविता/नागरिक

चितवन – एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन आइतबारदेखि चितवनमा सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा आयोजना गरेको सम्मेलनमा १७ देशका विज्ञ सहभागी छन्। विश्वमा भइरहेको बाख्रापालन र नेपालको बाख्रापालनको भिन्नता र यसमा गरिनुपर्ने सुधारबारे सम्मेलनमा छलफल हुनेछ।

चार दिनसम्म चल्ने सम्मेलनमा चारवटा विशेष कार्यपत्र, १० वटा आमन्त्रित नोट, ६० वटा मौखिक र ४३ पोस्टर गरी एक सय १७ कार्यपत्र पेस हुने सम्मेलन मूल आयोजक समितिका अध्यक्ष विश्वविद्यालयका निमित्त उपकुलपति शारदा थपलियाले जानकारी दिइन्।

कार्यपत्र बाख्राको खाद्य तथा पोषण स्रोत, बाख्रा उत्पादनको राष्ट्रिय नीति, प्रजनन्, स्वास्थ्य, व्यवस्थापनलगायत विषयमा केन्द्रित छन्। अन्य देशका अनुभव र प्रविधि नेपाल सुहाउँदो छन् भने त्यसलाई प्रयोग गर्न र यहाँको हावापानी सुहाउँदो कसरी बनाउने भन्नाबारे सम्मेलनमा वृहत छलफल हुने उनले बताइन्।

रैथाने जातबाट बढी उत्पादन लिन र विकासे जातलाई नेपालको हावापानी सुहाउँदो गरी हुर्काउनेबारे छलफल गरिनेछ। ‘हाम्रा समस्यालाई अनुसन्धानमा आधारित भएर निस्किएका नतिजालाई यहाँका किसान र व्यवसायी समक्ष लैजान सम्मेलन आयोजना गरेका हौं,’ उनले भनिन्, ‘राज्यको नीति निर्माणमा पनि कस्तो नीति बनाउँदा उपयुक्त हुनेछ भन्ने निचोड सम्मेलनबाट आउनेछ।’ बाख्रपालनमा के कति काम नेपालमा भएको छ र अबका दिनमा के गर्नुपर्छ भन्नेमा नै सम्मेलन केन्द्रित रहने उनले बताइन्। बहुआयामिक नतिजा प्राप्त हुने अपेक्षा रहेको उनी बताउँछिन्।

नीति निर्माण, स्वास्थ्य, व्यवस्थापन, पोषणा, मूल्य शृंखलालगायत विषयभित्र रहेर सम्मेलनमा विमर्श गरिने निमित्त उपकुलपति थपलियाले जानकारी दिइन्। सम्मेलनमा सहभागी विज्ञलाई नेपाली किसानले गरिरहेको बाख्रापालन देखाउने कार्यक्रम पनि रहेको छ। विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन विषयक नाराका साथ आयोजना गरिएको सम्मेलनमा बाख्रा अनुसन्धानमा संलग्न वैज्ञानिक, अनुसन्धानकर्ता, उद्यमी, विद्यार्थीको सहभागिता रहेको छ।  पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार नेपालमा रैथाने प्रजातिका रुपमा च्यांग्रा, सिन्हाल, खरी र तराई प्रजातीका बाख्रापालन गरिन्छ।

यस्तै जमुनापारी, बारबेरी, ब्ल्याक बेंगाल, बोयरलगायत आयात गरिएका विकासे प्रजाति पनि पाल्ने गरिएको छ। गत वर्ष नेपालमा करिब एक करोड १७ लाख बाख्रापालन गरिएको थियो। नेपालमा मासु उत्पादनमा करिब २० प्रतिशत हिस्सा बाख्रापालनको रहेको डा. ढकाल बताउँछन्। मासुका लागि बाहेक दूध र पस्मिनामा पनि बाख्रापालनको योगदान रहेको छ। ‘पछिल्लो वर्षमा नेपालमा बाख्रापालन ३.८ प्रतिशतले वृद्धि भएको छ,’ उनी भन्छन्, ‘बाख्रापालनमा स्वास्थ्य, रोग, पूर्वाधार, व्यवस्थापनमा ध्यान दिएर वृद्धि गर्नुपर्ने छ।’

बाख्रपालनमा देखिएको पिपिआर रोग सन् २०३० भित्र उन्मुलन गर्ने लक्ष्यसमेत सरकारले राखेको उनले बताए। बाख्रापालन नगद आर्जनको राम्रो स्रोत भएकाले धेरै गृहिणीसमेत आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन्। सजिलै हुर्काउन र मूल्य पाएर बिक्री गर्न सकिने भएकाले बाख्रापालनमा जोड दिनुपर्नेछ। नेपाल मासु उत्पादन र बाख्रापालनमा आत्मनिर्भर समेत नभएकाले यसमा लाग्नुपर्ने उनी बताउँछन्।

नेपालमा व्यावसायिक बाख्रापालनको प्रचूर सम्भावना रहेको र पछिल्लो वर्षमा व्यावसायिक बाख्रापालन फस्टाउँदो छ। परम्परागत बाख्रापालन प्रणाली, दाना उपलब्ध नहुनु, उन्नत घाँसखेतीलगायत समस्याले बाख्रापालन फस्टाउन नसकेको विश्वविद्यालयका सहप्राध्यापक तथा बाख्राकै विषयमा पिएचडी गरेका डा. निराजन भट्टराई बताउँछन्। वैज्ञानिक ढंगले व्यावसायिक बाख्रापालन गर्न सके बाख्रापालन गरेर मासुमा आत्मनिर्भर बन्न सकिने उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७६ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App