८ वैशाख २०८१ शनिबार
अर्थ

पाल्पामा तीन सय ७० नयाँ उद्योग थपिए

पाल्पा – पाल्पामा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ। उद्योग–धन्दामा खासै चासो नदेखाउने यहाँका युवा पछिल्लो समय यसमा आकर्षित भएका हुन्।

आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा तीन सय ७० नयाँ उद्योग थपिएका छन्। यहाँ उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटन र सेवामूलक गरी चार प्रकारका उद्योग दर्ता भई सञ्चालनमा छन्।

हालसम्म उत्पादनमूलकतर्फ ५२, कृषि तथा वन्यजन्तुतर्फ एक सय ११, पर्यटनतर्फ ९७ र सेवामूलकतर्फ एक सय १० उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेले जानकारी दिए।

‘आफैं उद्यमी भएर व्यावसाय गर्ने युवाको जिल्लामा हिजोआज उत्साह बढ्दै गएको छ, यसले परनिर्भरतालाई कम बनाएको छ,’ उनले भने।

आव ०७५/७६ मा तीन सय ६८ उद्योग नवीकरण भएका छन्। नामसारी १७ र ठाउँसारी आठवटा उद्योगको गरिएको छ। निष्क्रिय अवस्थामा रहेका ३६ उद्योग खारेजी भएका छन्। जसअन्र्तगत उत्पादनमूलक १०, कृषि तथा वन्यजन्तुमूलक १०, पर्यटनमूलक १० र सेवामूलक ६ रहेको कार्यालयले जनाएको छ।

आव ०७४/७५ मा उत्पादनमूलक ४८, कृषि तथा वन्यजन्तुमूलक ७८, पर्यटनमूलक एक सय पाँच र सेवामूलक ८३ घरेलु उद्योग दर्ता भएका थिए। जिल्लामा हालसम्म दुई हजार पाँच सय ६१ उद्योग दर्ता भई सञ्चालनमा छन्।

जसमा उत्पादनमूलक चार सय ९८, कृषि तथा वन्यजन्तुमूलकतर्फ चार सय ५४, पर्यटनमूलकतर्फ ६ सय ४१ र सेवामूलकतर्फ नौ सय ६८ उद्योग छन्। उद्योग अधिकृत गैरेका अनुसार न्यूनतमा एक लाखदेखि एक करोड ५० लाखसम्म पुँजी राखेर दर्ता वा व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई घरेलु उद्योगमा दर्ता गरिन्छ।

१० करोडसम्म पुँजी भएका उद्योगलाई साना, १० करोडदेखि २५ करोडसम्मलाई मझौला र २५ करोडदेखि माथिलाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा यस्ता उद्योग दर्ता हुने गरेका छन्। त्यस्तै उद्योग विभागमा १० करोडमाथिका उद्योग दर्ता गर्नुपर्ने प्रावधान छ। जिल्लामा एक करोड ५० लाखसम्मका दुई–तीन उद्योग मात्र सञ्चालनमा छन्।

उद्योग नवीकरणका लागि तोकिएको म्याद सकिएको ३५ दिनभित्र गरे जरिवाना नलाग्ने, ३५ दिनदेखि तीन महिनासम्म दोब्बर शुल्कमा, तीन महिनादेखि एक वर्षभित्रमा तेब्बर शुल्क लिएर नवीकरण गर्दै आएको कार्यालयले जनाएको छ।

नवीकरणका लागि एक वर्ष म्याद नाघिसकेपछि मन्त्रालयबाट नियमबमोजिम मात्र नवीकरण गर्ने व्यवस्था छ। जिल्ला सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि विभिन्न उद्योग, व्यवसाय सञ्चालन हुने क्रम विस्तारै बढ्दै गएको पाइएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकाभित्र पनि पछिल्लो समय उद्योग खुल्ने क्रम बढेको छ।

लगानीमैत्री वातावरण बन्दै जादाँ थोरै लगानीबाट उद्योग सञ्चालन, ऊर्जा र कामदारको खपत धान्न सकिने भएपछि साना तथा घरेलु उद्योगमा लगानी बढ्दै गएको उद्योग अधिकृत गैरेले बताए। स्वदेशमा दक्ष जनशक्ति नहुँदा र युवापुस्ता विदेश पलायन हुँदा जिल्लामा सञ्चालित ठूला उद्योगमा भारतीय नागरिक बढी रोजगार छन्। तर, होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, छाला जुत्ता उद्योग, सःमिल, सिलाइकटाइ, हस्तकला, धातुजन्य उद्योग, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचर, कृषि तथा पशु फार्म, निर्माण जस्ता साना तथा घरेलु उद्योगमा भने नेपाली कामदार बढी रोजगार रहेको उनले बताए।

विशेष गरी पछिल्ला वर्षा रोजगारीका लागि विदेश गएर फर्किने साना तथा घरेलु उद्योगमा लगानी गर्ने क्रम बढ्दो छ। यससँगै मुलुकमा स्थिरताको अपेक्षा र पाल्पा लगानीका हिसाबले राम्रो जिल्ला भएका कारण पनि यहाँ घरेलु तथा साना उद्योगमा लगानी बढ्दै गइरहेको छ।

हिजोआज महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ। घरेलु उद्योग महिलाको नाममा दर्ता भई सञ्चालनमा छन्। सधैं परनिर्भर रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भर हुँदै गएका छन्।रासस

प्रकाशित: ५ कार्तिक २०७६ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App