१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

काठमाडौं– नेपाल टेलिकमले कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने छ। 

यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको छ। त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने छ। 

पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ। 

कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको छ। टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ। 

लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिसहरु सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयहरुलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ। त्यसकारण, मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालयहरु तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाहरुको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघ÷संस्था र कम्पनीहरुका लागि यो सेवा निकै नै उपयोगी छ। पछिल्लो समयमा व्यक्ति तथा साइबर क्याफे र होटल तथा कलकारखानाहरुका लागि समेत यो सेवा फलदायी बनेको छ। 
मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिन्छ। त्यसका लागि चाहिएको क्षमताको इन्टरनेट लिज सेवाको माग सहितको निवेदन पेश गर्नुपर्ने टेलिकमले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०७६ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App