८ वैशाख २०८१ शनिबार
अर्थ

सोल्टी होटलमा चिया, इलाममा तरंग

नेपालमै पहिलोपटक १९२२ सालमा चियाखेती गरिएको इलाम चियाबारीमा रहेको १९३५ सालमा निर्मित चिया कारखाना। तस्बिर : भीम/नागरिक

इलाम – चीनकै कोसेलीका रूपमा डेढ सय वर्षअघि नेपाल भित्रिएको इलामे चिया केही दिनअघि काठमाडौं आएका चिनियाँ राष्ट्रपतिको ‘डिनर मेन्यु’मा प-यो। जब राष्ट्रपति सी जिनपिङलाई इलामे चियाको चुस्की दिलाइयो, त्यसले चिया उत्पादनको राजधानी इलाममा चाहिँ आसलाग्दो तरंग सञ्चार गरिदिएको छ।

राष्ट्रपति सीलाई इलामको चिया चखाउनुले चियाको ‘मार्केटिङ’मात्र गरेको छैन, लामो समयदेखि कायम नेपाल–चीन सम्बन्धलाई एकपटक पुनः स्मरणसमेत गराएको छ। र, इलामे चियाले बोकेको नेपाल–चीन सम्बन्धको ऐतिहासिक महत्व बुझेका जिल्लावासीसमेत चिनियाँ राष्ट्रपतिलाई यहाँको चिया चखाउन पाउनु जिल्लाकै गौरव भएको बताउँदैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २५ मा नेपाल भ्रमणमा आएका चिनियाँ समकक्षी सीका लागि त्यसैदिन बेलुका काठमाडौंको सोल्टी होटलमा रात्रिभोज आयोजना गरिन्। र, रात्रिभोजको अन्तिम नेपाली कोसेली बन्यो–इलामको चिया र गुल्मीको कफी। ‘रात्रिभोजमा राष्ट्रपति सीले इलामको ब्ल्याक टी पिउनुभयो,’ सँगै रहेका इलाम क्षेत्र नम्बर २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले नागरिकसँग भने, ‘राष्ट्रपति सीले मैले पिएको चिया इलामको हो भन्ने थाहा पाउनुभयो, कुनै प्रतिक्रिया भने दिनुभएन।’

तर, राष्ट्रपति सीलाई चीनबाटै ल्याएको कोसेली इलामको चिया चखाउनुले नेपाली चियाको बजार प्रवद्र्धनमात्र नभई वर्षाैंदेखिको नेपाल–चीन सम्बन्धलाई एकपटक चर्चामा ल्याएको नेम्बाङले बताए। ‘हामी नेपालकै इतिहास बोकेको इलामको चियालाई सम्पदाका रूपमा विकास गर्ने प्रयासमा छौं,’ उनले भने, ‘त्यसैले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत सल्लाह गरेर चिनियाँ राष्ट्रपतिको डिनरमा इलामको चिया समावेश गर्न सफल भएका हौं।’

राष्ट्रपति सीको रात्रिभोजमा इलामको चियासमेत पु-याउन नेम्बाङले नै मुख्य प्रयत्न गरेका थिए। र, नेपालमै पहिलोपटक चियाखेती गरिएको इलाम चियाबारी रहेको इलाम नगरपालिकाले इलामे चिया र चीनबीचको सम्बन्ध इतिहासबारे जानकारी पठाएको थियो। ‘इलामको चिया नेपाल–चीनबीच जनस्तरको सम्बन्धको प्रतीक हो,’ नेम्बाङ भन्छन्, ‘मैले चीन भ्रमणमा जाँदा पनि इलाममा खेती भएको चिया र चीनसँगको सम्बन्धबारे चर्चा गरेको थिएँ। इलाम आएर चिनियाँ चियाको अवलोकन गर्न आग्रह गरेको थिएँ।’ नेम्बाङले यसपटक राष्ट्रपति सीलाई इलामको चिया चखाएर इलामे चियाबारीलाई ‘नेपाल–चीन’ सम्बन्धको कडी बनाउने प्रयास गरेको बताए। उनले इलामको चियालाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्न चीनकै सहयोगसमेत ल्याउन सकिन्छ कि भन्ने आशासमेत गरेको सुनाए।

वेत्रावती सन्धिअनुसार १९२२ सालमा चिनियाँ सम्राटले प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारका रूपमा पठाएको चिया इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यहाँ खेती गर्न लगाएका थिए। १९३५ सालमा इलाम चियाबारीबीचमा स्थापना भएको कारखाना पनि नेपालकै पुरानो कारखानाका रूपमा छ। नेपाल–चीनबीच १८४९ भदौ ६ मा भएको सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवर्षीय मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ। नेपाल र चीनबीच पटक–पटकको युद्धपछि भएको वेत्रावती सन्धिअनुसार नै चिनिया सम्राटले जंगबहादुरलाई उपहारका रूपमा पठाइएको चियाको बिरुवा इलाम ल्याएर रोप्न लगाइएको इतिहास छ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत चिनियाँ राष्ट्रपतिलाई इलामको चिया खुवाएर वर्षाैंअघिको नेपाल–चीन सम्बन्धलाई स्मरण गर्नु गर्वको विषय भएको बताउँछन्। ‘इतिहास पल्टाउँदा इलामको चियासँग नेपाल–चीन कूटनीतिक सम्बन्ध जोडिएको देखिन्छ,’ महेन्द्ररत्न बहुमुखी क्याम्पसको इतिहास विषयका पूर्वअध्यापकसमेत रहेका प्रमुख बस्नेत भन्छन्, ‘चीनको उपहारका रूपमा आएको चिया इलाममा १ सय ५५ वर्षसम्म उत्तिकै उत्पादन दिइरहेको छ, चीनमा चाहिँ यो प्रजातिको चिया मासिइसकेको हामीले सुनेका छौं।’ प्रमुख बस्नेतले इलामको त्यही पुरानो चियाबारी र कारखाना पर्यटकीयस्थलमात्र नभई नेपाल–चीन सम्बन्ध अनि चियाको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण स्रोत हो।’

नेपाल र तिब्बतबीच व्यापारिक तथा मौद्रिक कारणले सम्बन्ध तनावपूर्ण रहेकामा १८३२ सालमा खासामा सन्धि भएको थियो। १८४५ असार १० मा पहिलो र १८४८ मा दोस्रोपटक नेपाल–चीन युद्ध भएपछि नेपालको वेत्रावतीमा दुई देशबीच सन्धि भएको थियो। तर, पुनः १९११ फागुनमा तेस्रोपटक नेपाल–तिब्बत युद्ध घोषणा भएपछि १९१२ चैतमा थापाथलीमा अर्काे सन्धि हुँदा पनि ‘नेपाल र तिब्बत दुवैले चिनियाँ वादशाहलाई आदर गर्ने’ उल्लेख भएको इतिहास भेटिन्छ।

चिनियाँ विश्वविद्यालयमै चिया विषय अध्ययन गरेका उद्योगी उदय चापागाईं चिनियाँ राष्ट्रपतिले इलामको चिया पिउनु सिंगो नेपाली चियाका लागि सुखद् भएको बताउँछन्। ‘हुन त नेपाली चियाले विस्तारै दार्जिलिङलाई समेत उछिनेर विश्वबजारमा आफ्नो पहिचान कायम गर्दैछ,’ हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका चापागाईं भन्छन्, ‘चिनियाँ राष्ट्रपतिको टोलीलाई इलामको चिया भनेर मेन्युमा राखिदिनुले चीनमा मात्र होइन, विश्वमै नेपालको चियाको पहिचानमा सघाएको छ।’

राष्ट्रपति सीलाई इलामको चिया खुवाउनुले उनको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकलाई यहाँको चियाबारे उत्सुक बनाउने उद्योगीको प्रतिक्रिया छ। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु ‘इलामको चिया’को नाममा नेपालकै चियाले एकपटक नेपाल, चीन र विश्वभर चर्चा पाएको बताउँछन्। ‘राष्ट्रपति सीको डिनर मेन्युमा परेकै कारण इलामको चिया मुखैमा आएको पर्यटन वर्ष सन् २०२० मा नेपाल आउने पर्यटकका लागि पनि कोसेली बन्नसक्छ,’ उनले भने, ‘इलामको ऐतिहासिक चियाबारी र कारखानाको इतिहासलाई त्यसले एकपटक स्मरण गराएको छ।’

चिया उद्योगी कमल मैनाली चिनियाँ पर्यटकले चिया खरिद गर्दा नेपालको आन्तरिक बजारमा समेत यहाँको चियाको खपत बढ्ने बताउँछन्। ‘गुणस्तरीय उत्पादन भएको इलामको चिया विश्वमा यति माग छ कि, माग पु-याउनै सकिँदैन,’ मैनाली भन्छन्, ‘राष्ट्रपति सीका माध्यमबाट नेपालमा आउने पर्यटकले नेपाली चिया रोजे भने आन्तरिक खपत पनि आफसे आफ् बढेर जान्छ। यो चाहिँ सिंगो चिया क्षेत्रका लागि हर्षको विषय हो।’

उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया उत्पादन गरेर तेस्रो मुलुक निर्यात गरिरहेका उद्योगी सरद सुब्बा पनि चीनमा नेपाली चियाको बजार बढ्ने विश्वासमा छन्। ‘चीनबाट यो वर्ष मलाई मात्रै पनि ५ हजार किलो तयारी चियाको माग आएको हो तर १५ सय किलोभन्दा बढाउन सकिनँ,’ उनी भन्छन्, ‘गुणस्तरीय चिया बनाउने हो भने बजार त अहिले पनि राम्रो छ तर राष्ट्रपति सीले जब इलामको चिया पिएको खबर आयो, सिंगो चिया क्षेत्रले गौरव गरेको छ, हाम्रो मेहनतको कदर भएको संकेत गरेको छ।’

प्रकाशित: २९ आश्विन २०७६ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App