काठमाडौं – नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ। आइतबार साँझ परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओली उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो।
सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक, व्यावसायिक क्षेत्रका समस्याबारे आफू गम्भीर रहेको भन्दै ती समस्या समाधान गर्दै जाने विश्वास दिलाएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसर प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताएको उल्लेख छ।
परिसंघका अध्यक्ष मोरले भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार/बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको र यसबाट निजी क्षेत्र उत्साहित भएकोले त्यसको कार्यान्वयनका लागि तीव्र सक्रियताको खाँचो रहेको बताएको जनाइएको छ।
प्रकाशित: २८ आश्विन २०७६ ०२:१८ मंगलबार





