६ वैशाख २०८१ बिहीबार
अर्थ

कृषिप्रधान देशमा मोटर बिमा बढ्दो

काठमाडौं – सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि सर्वसाधारणले कृषिमा भन्दा बढी मोटर बिमामा खर्च गरेका छन्।

सर्वसाधारणले कृषि तथा पशुपन्छीको बिमा गर्दा फाइदा हुने भए पनि कृषि तथा पशु बिमा अनिवार्य नभएका कारण विलासिताका वस्तुको बिमा ठूलो रकम खर्च हुने गरेको हो। बिमा समितिको एक तथ्यांकअनुसार रकम संकलन गरेका छन्।

जसमध्ये सबैभन्दा बढी मोटर बिमा भएको छ। यी कम्पनीले सो अवधिमा सबैभन्दा बढी ८३ करोड २० लाख रुपैयाँ मोटर र सबैभन्दा कम नौ करोड ८८ लाख रुपैयाँ कृषि तथा बाली बिमा प्रिमियम संकलन गरेका छन्।

सरकारले सवारी साधन बिमा अनिवार्य गरेसँगै मुलुकमा मोटर बिमाको दायरा फराकिलो हुदै गएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

‘सवारी साधानको आयात बढेसँगै मुलुकमा सबैभन्दा बढी मोटर बिमा हुने गरेको छ,’ उनले भने, ‘मोटरसाइकल, कार, जिप, बसलगायत सवारीसाधन सडक दुर्घटनामा परी, चोरी वा अन्य कारणले सवारी साधन वा तेस्रो पक्षलाई क्षतिपूर्ति दिन मोटर बिमा गरिन्छ।’

मोटर बिमा गर्दा भविश्यमा आइपर्ने जोखिम वहन गर्न ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका २०६६’ लाई परिमार्जन गरी ‘मोटर बिमा दर सम्बन्धी निर्देशिका २०७३’ लागू गरेको समितिले जनाएको छ।

जसअनुसार यात्रुको पाँच लाख रुपैयाँ बराबरको बिमा कायम गरिएको छ भने सोही बिमांकको सीमाभित्र रहेर किरिया खर्चवापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मुत्यु भएमा तत्काल प्रतिव्यक्ति किरिया खर्च रकम ५० हजार रुपैयाँ दिनुपर्ने व्यवस्था छ।

औषधि उपचार बिमांकको सीमाभित्र कुरुवा खर्च प्रतिदिन पाँच सय रुपैयाँले ४५ दिनसम्मका लागि निर्धारण गरिएको समितिले जनाएको छ। त्यसैगरी, अंगभंग तथा औषधि उपचार दुवै तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्पर तथा अन्य कर्मचारीको सवारीसाधन दुर्घटना भएमा औषधि उपचारका लागि बढीमा तीन लाख रुपैयाँ पाउँने व्यवस्था रहेको छ। तर, तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा पाँच लाख रुपैयाँ र औषधि उपचारका लागि तीन लाख रुपैयाँ भुक्तानी हुने व्यवस्था छ।

समितका अनुसार चालु आवको साउन मसान्तसम्म मोटर बिमापछि अग्नि बिमा ६९ करोड १५ लाख रुपैयाँ प्रिमियम रकम संकलन भएको छ। त्यसैगरी, विविध ३६ करोड ४३ लाख, सामुन्द्रिक २४ करोड ७५ लाख, इन्जिनियरिङ १५ करोड ९३ लाख र नौ करोड ८८ लाख रुपैयाँ कृषि तथा बाली बिमा गरेवापत प्रिमियम संकलन भएको हो।

समितिका अनुसार सो अवधिमा सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सले २४ करोड ३० लाख रुपैयाँ मोटर बिमा प्रिमियम संकलन गरेको छ। त्यसैगरी, सबैभन्दा कम मोटर बिमा लम्बिनी जनरल इन्स्योरेन्सले २९ लाख रुपैयाँ मोटर बिमा प्रिमियम रकम संकलन गरेको बिमा समितिले जनाएको छ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्षको फागुन मसान्तसम्म कुल ३५ लाख ३९ हजार पाँच सय १९ सवारीसाधन आयात भएका थिए। जसअनुसार ४९ हजार तीन सय १८ बस, २५ हजार पाँच सय २५ मिनी बस/मिनी ट्रक, क्रेन, डोजर, एक्साभेटर ९० हजार चार सय ११ आयात भएका थिए।

त्यसैगरी सोही अवधिमा कार/जिप दुई लाख ३७ हजार ६ सय ५८, पिकअप ५५ हजार नौ सय ७३, माइक्रो सात हजार ६ सय ३८, टेम्पो ४५ हजार ६ सय ७२, मोटरसाइकल २५ लाख ३० हजार सात सय २२, ट्याक्टर एक लाख ४३ हजार नौ सय ६२, इ–रिक्सा २६ हजार चार सय ६६, अन्य सात हजार ६ सय सात सवारीसाधन आयात भएको विभागले जनाएको छ।

 

प्रकाशित: १७ आश्विन २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App