२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

अर्बमा मासुको व्यापार

(गत वर्षको खाद्य संस्थानको दसैं बजारमा किनवेच हुँदै , फाइल तस्विर/नागरिक)

‘चाडबाड होस् वा अन्य कुनै बहाना, व्यापारीले मूल्य बढाइहाल्छन्,’  चर्को महँगीमा पिल्सिएका सर्वसाधारण उपभोक्ताको सधैं यस्तो गुनासो हुनेगर्छ। नहोस् पनि कसरी, दसैं–तिहारजस्ता ठूला पर्व आयो कि तरकारी, फलफूल र माछामासुको मूल्य बढिहाल्छ।

त्यसमा पनि तरकारी र फलफूलको मूल्य चाडपर्व सकिएपछि केही तल झर्ने गरे पनि खसीको मूल्य बढेपछि कहिल्यै घटेको इतिहास छैन। व्यापारीहरूको मिलेमतोमा प्रत्येक वर्षको दसैंमा खसीको मुल्य बढाउने गरिएको इतिहास छ। यही इतिहासलाई यसपालिको दसैंमा पनि व्यापारीहरूले दोहो-याउने भएका छन्।

नेपाल मासु व्यवसायी संघका व्यवस्थापक जीवनराज खतिवडाले यो वर्ष पनि खसीको मासुको मूल्य बढ्ने जानकारी दिए। उनका अनुसार बाख्रापालक किसानले नै जिउँदो खसी प्रतिकिलो पाँच सय ५० देखि ६ सयसम्म लिने गरेका छन्। यसमा ढुवानी, औषधि, दाना, विभिन्न कारणले मरेको अवस्थामा क्षति, घटेको तौल र नाफा जोड्दा मूल्य माथि पुग्ने निश्चित छ। किसानबाट काठमाडौं आइपुग्दासम्म तीस किलोको खसीको तौल तीनदेखि पाँच किलोसम्म घटेको पाइएको छ।

‘पहिले भारतबाट भनेकै परिमाणमा आउने भएका कारण मूल्य तोक्न सक्ने अवस्था थियो तर आन्तरिक उत्पादनको मूल्यमा समानता छैन,’ खतिवडाले भने, ‘अहिले हाम्रो आन्तरिक उत्पादनमा भर पर्नुपरेको छ ठाउँ र व्यवसायीअनुसार मूल्य फरक–फरक छ, जसका कारण मूल्य निर्धारणमा समेत समस्या छ।’ उनले अहिले आवश्यक परिमाणमा खसीबोका आउने कुरामा शंका नभए पनि यति परिमाणमा यहाँबाट आउँछ भन्ने अवस्था नरहेको बताए।

व्यापारीहरूको मिलेमतोमा प्रत्येक वर्षको दसैंमा खसीको मूल्य बढाउने गरिएको छ। यसपालि पनि व्यापारीहरूले पुरानै इतिहास दोहो-याउने भएका छन्।

यसपटक हिमाली जिल्ला मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ। राजधानीका लागि दुई हजार च्यांग्रा ल्याउन लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका मुस्ताङ शाखा प्रमुख विनोद चन्दले बताए। अभावकै कारण गत वर्षभन्दा प्रतिकिलो ३० रुपैयाँ बढी हालेर च्यांग्रा किन्न लागेको प्रमुख चन्दले जानकारी दिए। ‘हामीले गत वर्ष लिएकै व्यापारीबाट लिएका कारण केही सस्तो (प्रतिकेजी पाँच सय ६०)मा पाउन सक्यौं, बजारको दर योभन्दा बढी छ,’ चन्दले भने, ‘गाउँगाउँमा काठमाडौंदेखिका व्यापारी पुगेका छन्। च्यांग्रा पर्याप्त नभएका कारण उच्च मूल्यमा खरिद गरिरहेको बुझेका छौं।’ उनका अनुसार खाद्यले मात्र जोखेर खरिद गर्ने गरेको छ, तर अन्य व्यापारीले भने सिधै मोलमोलाइ गरेर किन्ने गरेका छन्।

च्यांग्रा पाइने अपर मुस्ताङमा धेरै हिमपात भएको र यसबाट धेरै च्यांग्रा मरेका कारण यसपालि च्यांग्रा अभाव भएको हो। स्थानीयले चीनमा लाग्ने मेलामा पुगेर विगतका वर्षहरूमा च्यांग्रा ल्याउने गरेको भए पनि यसपालि मेला नलागेका कारण च्यांग्रा कमी भएको चन्दले बताए। मुस्ताङमा किसानको गोठमै व्यापारी पुगेर पहिल्यै रोक्का गरेका कारण अहिले व्यापारीबाटै किन्नुपर्ने बाध्यता छ। चन्दका अनुसार खाद्यले किनेको च्यांग्रा बेनीसम्म प्रतिच्यांग्रा ढुवानी दुई सय १५ र बेनीदेखि काठमाडौंसम्मको थप ६ सय ५० ढुवानी खर्च लाग्छ।

दाङका गाउँगाउँमा पनि यतिबेला खसीबोका खरिदका लागि काठमाडौंदेखिका व्यापारी पुगेका छन्। राजधानीमा बिक्रीका लागि पाँच सय खसीबोका खरिद गर्ने योजना बनाएको खाद्यले पाँच सय ३० रुपैयाँ प्रतिकिलोको दरमा खरिद गर्दै छ। प्रतिखसीबोका सात सयको हाराहारीमा थप ढुवानी लागत लाग्ने खाद्यका दाङ शाखा प्रमुख माधव मिश्रले जानकारी दिए।

खाद्यले पाँच सय खसीबोका खरिद गर्न लागेको हेटौंडामा यसपटक पाँच सय ५० देखि ६ सय प्रतिकिलो खरिद मूल्य पर्ने देखिएको खाद्यका वीरगञ्ज शाखा प्रमुख नरनाथ अधिकारीले जानकारी दिए। ‘गत वर्ष प्रतिकेजी चार सय ३० मा खरिद गरिएको थियो, हामीले बजार बुझिरहेका छौं, यसपटक मूल्य बढ्ने देखिएको छ,’ अधिकारीले भने, ‘किसान र फर्मसम्म हामी पुग्ने अवस्थै छैन, व्यापारीहरूबाट किन्दा महँगो पर्न जान्छ।’

जिल्लाबाट खरिद गरिएका खसीबोका काठमाडौं ल्याइपु¥याएपछि लागत र बजारको मूल्य मूल्यांकन गरेर मात्र खाद्यले मूल्य निर्धारण गर्ने खाद्यका बिक्री प्रमुख लालमोहन ठाकुरले जानकारी दिए। काठमाडौंका लागि खसीबोका पठाउने मुख्य क्षेत्रको रूपमा रहेको मकवानपुरमा किसानहरूले मूल्य नै तोकेका छन्। व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय सचिवसमेत रहेका बाख्रा व्यवसायी बद्रीप्रसाद अधिकारीले ३० किलोभन्दा माथिको हकमा प्रतिकिलो ६ सय र त्यसभन्दा सानोको हकमा पाँच सय ५० रुपैयाँ मूल्य कायम भएको बताए। ‘कामदार, औषधि, दाना सबै महँगिँदा यसपटक मूल्य बढाउन बाध्य भएका छौं,’ अधिकारीले भने, ‘खासगरी काठमाडौंमा आवश्यक खसीबोका पठाउन सहजीकरण गरिरहेका छौं।’

उनले काठमाडौंमा मकवानपुरबाट १० हजार खसीबोका पठाउने तयारी रहेको बताए। अधिकारीले बाख्रापालक व्यवसायी महासंघले काठमाडौंमा बल्खु, लोकन्थली र बालाजुमा नवदुर्गाको दिनदेखि बिक्री स्टल राख्ने तयारी गरेको बताए। ती स्टलमा प्रतिस्टल तीनदेखि पाँच हजार खसीबोका राख्ने तयारी रहेको उनले जानकारी दिए।

मासु व्यवसायीका आफ्नै गुनासा
दसैंका लागि आउने चौपाया महँगो हुने हल्लाले राजधानीमा मासुको मूल्य एक हजार तीन सयसम्म पुगेको छ। नेपाल माछामासु व्यवसायी संघका अनुसनर अहिले काठमाडौंमा ए ग्र्रेडको ज्यूँदोे खसीको मूल्य ६ सय ५० सम्ममा कारोबार भइरहेको छ।  सामान्यतया नेपाली खसीबोकाको तौल काट्दा ४० प्रतिशतसम्म घट्ने गरेको पाइएको छ।

माछामासु व्यवसायी महासंघका महासचिव चैते साईले खरिदको तुलनामा मासुको मूल्य बढी भएको स्विकार्छन्। ‘मूल्य त बढी नै हो, मासु व्यवसायीका पनि आफ्नै समस्या छन्, घटाउँ भन्ने अवस्था पनि छैन,’ साईले भने, ‘बजारमा हरेक वस्तुको मूल्य बढेको छ, व्यवसायीहरूले सरकारलाई करदेखि सटरको भाडासम्म महँगो तिर्नुपरेको छ, त्यसको लागत प्रभाव मासुमा पर्दा उपभोक्ता महँगोमा परिरहेका छन्।’

उनी बिचौलियाका कारण पनि मासु महँगो हुन पुगेको बताउँछन्। ‘उपभोक्तासम्म आउँदा धेरै बिचौलियमार्फत आउने भएका कारण महँगो पर्छ,’ उनले भने, ‘ किसानदेखि स्थानीय बजारसम्म, स्थानीय बजारदेखि काठमाडौंसम्म बिचौलिया, काठमाडौंमा आएपछि अर्को बिचौलियाको हातमा परेर मात्र मासु व्यवसायीले खरिद गर्छन्।’ साईका अनुसार बिचौलियाले नै प्रतिकेजी ५० भन्दा बढी रकम असुल्छन्। त्यसमाथि प्राइभेट बजारमा राख्दा कर, आयकर, ढुवानी कर सबै कर जोड्दा व्यवसायी बाहिर सोचेजस्तो बढी नाफामा नरहेको बताउँछन्।

अनुगमन प्रभावकारी भएन
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन सरकारको मूल्य नियमन गर्ने नीति नभएका कारण दसैं–तिहारजस्ता पर्वहरूमा सधैं उपभोक्ता मारमा परेको बताउँछन्। उनले भारतबाट आयात गरिने खसीबोकाको क्वारेन्टाइन चेकजाँच गर्नु उपयुक्त भए पनि त्यसकै कारण आन्तरिक उत्पादनमा बढेको मूल्य नियन्त्रण गर्न नसक्नु दुर्भाग्य भएकोे बताए। ‘मूल्यमा यस्तो मनपरी त संसारमा कतै हुन्न, सरकारले मूल्य अनुगमन र विश्लेषण गर्नुपथ्र्यो,’ महर्जनले भने, ‘आवश्यकता बजार सुधारको थियो तर जरिवानामा अनुगमन सिद्धियो यसले समस्या समाधान हुँदैन।’ उनले यही अवस्था रहे दसैंमा खसीको मासु एक हजार पाँच सय प्रतिकिलो पर्ने बताए।

भारतबाट खसीबोका भित्रिन थाले
वर्षको सुरुवातदेखि नै भारतबाट आयात ठप्प भएको खसी फेरि भित्रिन सुरु भएको छ। गएकोे सोमबार नेपालको मापदण्ड पु¥याएर एक सय ५० खसीबोका भित्रिएको पशुसेवा विभाग क्वारेन्टाइन विभागका प्रमुख मोदनाथ गौतमले जानकारी दिए। ‘आवश्यक प्रक्रिया पु¥याएर भारतबाट खसीबोका आउन सुरु गरे तर काठमाडौं उपत्यकामा आन्तरिक बजारबाटै खसीबोका आइरहेका छन्,’ गौतमले भने, ‘हप्तामा एक सय ५० देखि दुई सयसम्म नियमित आउने सम्भावना छ।’

अहिले भारतबाट ल्याइएका खसीहरू पूर्णरूपमा मापदण्ड पु-याएर आएको र आन्तरिक उत्पादनका खसीसमेत पशु प्राविधिकको सिफारिसका आधारमा आएकाले गुणस्तरमा शंका गर्नु नपर्ने गौतमले बताए। उनले काठमाडौंका मुख्य–मुख्य बजारमा पुगी चेकजाँच गरी हरियो र रातो ट्याग लगाउने गरिएको बताए। ‘हरियो ट्याग लगाएका खसीबोकालाई उपभोक्ताले स्वस्थ भनेर बुझ्नुपर्छ, रातो ट्याग लगाएकालाई उपचारपछि मात्र बिक्री वितरण गर्न मिल्छ,’ गौतमले भने, ‘दसैंमा ५० हजारसम्म कारोबार हुने हुँदा आवश्यक सतर्कताका लागि विभाग तयार छ।’

प्रकाशित: ९ आश्विन २०७६ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App