८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सगुनको मुनाफा पौने तीन करोड

कार्यक्रममा बोल्दै प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह तथा उपस्थित अतिथि। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – प्रदेश २ कै सर्वोत्कृष्ट सहकारीको रुपमा पुरस्कृत सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार २० औं साधारण सभा सम्पन्न भएको छ।

संस्थाले एक अर्ब १२ करोड २० लाख ६४ हजार ६ सय ६७ रुपैयाँको कारोबार गर्दै आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ८५ लाख ८६ हजार ७९६ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष बाबुराम घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। २०५७ सालमा स्थापित सगुनमा हाल पाँच हजार नौ सय ८२ महिला, तीन हजार नौ सय ४६ पुरुष र दुई सय ६८ संस्थागत गरी १० हजार एक सय ९६ सेयर सदस्य रहेका छन्।

साधारण सभा उद्घाटन समारोहमा संस्थाका उत्कृष्ट नियमित बचतकर्ता र समयमै ऋण बुझाउने ऋणीलाई सम्मानसमेत गरिएको छ। प्रमुख अतिथि प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश हुँदै मुलुकको समृद्धिका लागि सहकारी संस्था अब उत्पादनशील क्षेत्रमा क्रियाशील हुनुपर्ने बताए। ‘सहकारी संस्थाले अब बचत र ऋण लगानीमात्र गर्ने भन्दा पनि उत्पादनशील क्षेत्रमा सकृयता बढाउनु जरुरी छ,’ उनले भने, ‘राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति आवश्यक छ, त्यसैले सहकारीले उत्पादनशील क्षेत्रमा हात हाल्नु जरुरी छ।’

कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीप्रसाद उपे्रती, जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पराजुली, हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलगायतले समृद्धिका लागि सहकारीको ठूलो भूमिका रहने विचार व्यक्त गरे।

प्रकाशित: ७ आश्विन २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App