१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मोदीमा पर्याप्त पानी छाडेनन्

काठमाडौं – पर्वतको मोदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरुका कारण जलचर तथा खानेपानीको स्रोतमा प्रत्यक्ष असर पारेको एक अध्ययनले देखाएको छ। नेपाल वातावरण पत्रकार समूहले आइतबार सार्वजनिक गरेको त्यहाँ बनिसकेका र निर्माणाधीन आयोजनाले वातावरणमा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनमा जलविद्युत् आयोजनाकै कारण मोदी खोलामा माछा उत्पादन र खानेपानीको स्रोत क्रमशः सुक्न थालेको उल्लेख छ।

अध्ययन समूहका टिम लिडर बटुककृष्ण उप्रेतीले मोदी खोलामा बनिसकेका र बन्दै गरेका आयोजनाहरुले जलविद्युत् विकास नीति (२०५८) अनुसार जलीय प्रणाली कायम राख्न न्यूनतम १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने नियम पालना नगरेको बताए।

‘जलविद्युत् आयोजना निर्माण गर्दा पर्यावरण जोगाउन १० प्रतिशत खोलामै पानी छोड्नुपर्ने नियम छ। तर, अधिकांशले हिउँदमा पानी छाडेका छैनन्,’ उनले भने, ‘यसले जलचरमा ठूलो असर परेको छ। त्यसैले उक्त नियम कडाइका साथ कार्यान्वयन गर्न जरुरी छ।’ टिम लिडर उप्रेतीले खोलामा पर्याप्त पानी नहुँदा खानेपानीको स्रोत पनि सुक्दै गएको बताए।

प्रतिवेदनमा ‘वातावरणीय क्षति न्यून गर्ने उपायबारे ठेकेदार र परामर्शदातासमेत अनभिज्ञ देखिएको, मोदी खोला जलविद्युत् आयोजनाले माछाको लागि बनाएको भ-याङको स्थान र डिजाइन अनुपयुक्त रहेको’ उल्लेख छ।

आयोजनाहरुले वातावरणको भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा पारेका असरको अध्ययन गर्ने, सम्बन्धित आयोजनाले स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा समावेश गरेका प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरणका उपाय कार्यान्वयन स्थितिको जानकारी लिने तथा अवलोकन गर्ने उद्देश्यले तयार पारिएको उक्त प्रतिवेदनले प्रत्येक आयोजनाको वातावरणीय प्रभावको मूल्यांकन गर्नुभन्दा यस प्रकारका ‘क्यासकेड’ आयोजनाको लागि क्षेत्रगत वा संयोजित वा रणनीतिक वातावणीय मूल्यांकनको प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिएको छ। प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गर्दा यिनको मुख्य सिद्धान्त र वैज्ञानिक विधिको प्रयोग गरी स्थानीय जनताको सक्रिय सहभागितामा प्रतिवेदन तयार गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कार्यान्वयन गर्दै आएको बताए। ‘आयोजनाले पार्ने प्रभाव र असरको विषयमा सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै गर्नुपर्छ,’ उनले भने, ‘कहिलेकाहीँ सरोकारवाला निकायसँग छलफल नगर्दा समस्या आइरहेका छन्।’

मन्त्री पुनले जलविद्युत् आयोजना निर्माण गर्दा वातावरणलाई कम असर पार्ने गरी अघि बढेको दाबी गरे। ‘वातावरणलाई कमभन्दा कम क्षति हुने गरी आयोजना सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘विकास गर्दा केही विनाश त पक्कै हुन्छ। तर, जतिसक्यो न्यून क्षतिमा आयोजना निर्माण गर्ने निर्देशन दिएका छौं।’ उक्त प्रतिवेदन मन्त्री पुनलाई हस्तान्तरण  गरिएको छ।

प्रकाशित: ६ आश्विन २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App