४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूधकोसी जलविद्युत् आयोजनाको इआइए, दुई पक्की र १२ वटा झोलुंगे पुल डुबानमा पर्ने

खोटाङ – ६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको बाँधबाट दुईवटा पक्की पुल डुबानमा पर्ने भएको छ। आयोजनाको हालै सार्वजनिक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनका अनुसार हाल चालु अवस्थामा रहेको ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको भदौरे दोभानटार र दियाले जोड्ने ठोट्ने खोलाको पक्की पुल डुबानमा पर्ने देखिएको हो। यस्तै, खोटाङको रावाबेंसी गाउँपालिकाको खार्पा र डुम्रेधारापानी जोड्ने पक्की पुल डुबानमा पर्ने भएको हो।

खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत्् आयोजनाको बाँधबाट खोटाङको ३४ लाख २२ हजार ६ सय तीन वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार तीन सय २२ वर्गमिटर र सोलुखुम्बुको एक लाख ७१ हजार चार वर्गमिटर जमिन प्रभावित हुँदा दूधकोसी, ओखलढुंगाको ठोट्ने खोला र खोटाङको रावा खोलाका विभिन्न स्थानमा चालु अवस्थाका १२ वटा झोलुंगे पुल पनि डुबानमा पर्ने नेपाल विद्युत्् प्राधिकरणले जनाएको छ। दुई सय मिटर अग्लो बाँध हाल्दा बन्ने जलाशयबाट रावाबेंसी गाउँपालिकाको कुभिन्डे र धारापानी जोड्ने पाँच किलोमिटर सडक र चिसंखुगढी गाउँपालिकाको भदौरे दोभानटार दुई किलोमिटर सडक डुबानमा पर्ने छ।

१९.८ वर्गकिलोमिटर क्षेत्रमा फैलिने आयोजनाको जलाशयले दुईवटा लघु जलविद्युत् आयोजना र एउटा साना जलविद्युत् आयोजना, ३० हजार ८८ वटा रुख, आठ हजार आठ सय ५३ फलफुलका बोट, आठ हजार एक सय ७८ केराको बोट र एक हजार एक सय ६८ बोट बाँस घारी डुबानमा पर्ने छन्। यस्तै ६ वटा मन्दिर, ४ वटा विश्रामस्थल, आठवटा घाट, चारवटा चौतारालगायत भौतिक संरचना डुबानमा पर्ने जानकारी दिइएको छ। यस्तै, बाँधका कारण खोटाङका ६ सय ५७ धुरी, ओखलढुंगाका दुई ७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल एक हजार एक सय ५० घरधुरी डुबानबाट प्रभावित हुने देखिएको छ।

त्यस्तै पूर्ण प्रभावित एक सय ६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका दुई घर पूर्णरुपमा डुबानमा पर्ने इआइए प्रतिवेदनमा उल्लेख छ। बाँधबाट खोटाङको ३४ लाख २२ हजार ६ सय तीन वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार तीन सय २२ वर्गमिटर र सोलुखुम्बुका एक लाख ७१ हजार चार वर्गमिटर जमिन प्रभावित हुँदा कुल सात लाख १० हजार १० वर्गमिटर जमिन, तीन हजार तीन सय २० वर्गमिटर क्षेत्रफलमा रहेका बगैंचा, ४६ लाख ८६ हजार सात सय २९ वर्गमिटर सिञ्चित जमिन, १० लाख २२ हजार आठ सय ७० वर्गमिटर बारी, एक हजार दुई सय २२ वर्गमिटर माछा मार्ने क्षेत्र, एक लाख ५५ हजार चार सय ४३ वर्गमिटर निजी वन र ३४ हजार तीन सय २१ वर्गमिटर सामुदायीक चरण क्षेत्र डुबानमा पर्ने जनाइएको छ।

आयोजनाको काम सुरु भएपछि प्रभावित स्थानीयलाई मुआब्जा वितरणको काम थालिने दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाले जनाएको छ। मुआब्जाका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बन्ने पाँच सदस्यीय मुआब्जा निर्धारण समितिले काम गर्ने छन्। आयोजनाका लागि ड्याम बनाउँदा दूधकोसीमा १७ किलोमिटर, रावा खोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिवेदनमा भनिएको छ।

मुख्य विद्युत् गृहबाट ६ सय र ड्याम टो विद्युत् गृहबाट ३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको छ। लामीडाँडाको रँभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम आयोजनाको काम अघि बढाइएको हो।

भ्याटसहित करिब २.२ विलियन युएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ।

प्रकाशित: २९ भाद्र २०७६ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App