काठमाडौं – भदौ १० देखि १५ सम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको नाडा अटो सो २०१९ आइतवार सम्पन्न भएको छ।
१४औं संस्करणको अटो सो ८१ हजार अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जानकारी गराएको छ। विगतमा जस्तो यसपटक कति व्यापार तथा कति गाडी बुकिङ भए भन्ने नखुलाइए पनि पहिलेको भन्दा राम्रो व्यापार भएको आयोजकको दाबी छ।
उक्त अटो सोमा यसपटक विगत जस्तै उत्कृष्ट स्टल तथा उत्कृष्ट चारपांग्रे र दुईपांग्रे सवारीको भने छनोट गरिएकोे छ। चारपांग्रेतर्फ युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटा छानिएको छ। दुईपांग्रेतर्फ हुलास चन्द गोल्छाको केटिएम ड्युक बाइक छनोट भएको आयोजकले जनाएकोे छ। त्यस्तै, स्पेयर पार्टसतर्फ उत्कृष्ट स्टल टोटल ल्युब छनोट भएको छ भने उत्कृष्ट स्टलको उपाधि लोटल लुब्रिकेन्टसको अटो कम्पोनेन्ट सपोर्टिङले पाएको छ।
यसपटकको अटो सोमा भाग लिएका हरेक कारोबारीलाई स्टलबाइज सोध्नुपर्ने भएका कारण कतिको कारोबार भयो भन्ने नखुलाइएको जनाइएको छ। विगतमा भन्दा यो पटकको अटो सोमा प्रर्दशनस्थल बढाइएका कारण अवलोकनकर्ता तथा प्रदर्शकलाई सजिलो भएको आयोजकले जानकारी गराएको छ। प्रशस्त व्यवस्थित पार्किङ सहित आकासे पुलको व्यवस्था गरिएकाले अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकको दाबी छ।
अटो सोमा नयाँ तथा विद्युतीय सवारीमा अवलोकनकर्ताको विशेष रुचि देखिएको आयोजकले जनाएको छ। अटो सो अटोमोबाइलका ४१ सहित बैंक तथा वित्तीय संस्था गरेर ९५ कम्पनीको सहभागिता थियो।
प्रकाशित: १६ भाद्र २०७६ ०२:११ सोमबार