२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सबै समूह राताम्य

करुण ढकाल

काठमाडौं – लगानीकर्तामा निराशा बढ्दा पुँजीबजारको ओरालो यात्रा रोकिन सकेको छैन। लाभकर गणनाविधिबारेको अन्योल नटुंगिनु, अपेक्षाअनुसार मौद्रिक नीति नआउनु, नेपाल राष्ट्रबैंकको नयाँ निर्देशन कार्यान्वयन हुँदा बैंक तथा वित्तीय संस्थाको नाफा घट्न सक्ने आकलनजस्ता कारणले लगानीकर्ताले आत्मविश्वास गुमाउन पुग्दा पुँजीबजार निरन्तर ओरालो लागेको हो। सोमबार पनि ओरालो यात्राले निरन्तरता पायो। यस दिन बजार ६.४९ बिन्दुले खस्क्यो। १२०९.६२ बिन्दुका खुलेको बजार १२०३.१३ बिन्दुमा बन्द भयो। आइतबारको तुलनामा यस दिन बजार ०.५४ प्रतिशतले ओरालो लागेको हो। आइतबार पनि बजार ३.४५ बिन्दुले ओरालो लागेको थियो।

सोमबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०७ बिन्दुले ओरालो लागी २६२.३७ मा आइपुगेको छ। यस दिन कारोबार भएका सबै ११ समूहकै सूचकमा रातो पोतिएको छ। सबैभन्दा बढी जीवन बिमा समूह ओरालो लागेको छ। यो समूहको सूचक १.२ प्रतिशतले घटेर ५५८३.८५ बिन्दुमा आइपुगेको छ। यसैगरी उत्पादनमूलक समूह ०.८८ र जलविद्यूत् समूह ०.८६ प्रतिशतले घटेका छन्। बिन्दुगत आधारमा हेर्दा पनि बढी ओरालो लाग्नेमा जीवन बिमा समूह नै देखिएको छ। यो समूह ६८.०३ बिन्दुले ओरालो लागेको छ। यसैगरी निर्जीवन बिमा समूह २८.३६, उत्पादनमूलक समूह २२.५२, होटल्स १४.३३ र जलविद्युत् समूह ८.८८ बिन्दुले ओरालो लागेका छन्। बैंकिङ ४.८५, अन्य ४.४८, विकास बैंक ४.०८, वित्त २.४७, लघुवित्त ०.८१ र म्युचुअल फन्ड समूह ०.०६ बिन्दुले तल झरेका छन्।

कारोबार रकमलाई प्रभु (प्रमोटर) को साथ
घट्दो बजारमा कारोबार रकममा भने सुधार देखिएको छ। यस दिन ३८ करोड, पाँच लाख ९६ हजार पाँच सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ८.७ प्रतिशतले बढी हो। आइतबार ३५ करोड दुई लाख ६९ हजार पाँच सय नौ रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। सोमबार कारोबार रकम बढ्नुमा प्रभु बैंकको प्रमोटर सेयरको भूमिका देखिएको छ। यो सेयर मात्रै १० करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ। कारोबार रकमका हिसाबले दोस्रोदेखि पाँचौंसम्मको स्थानमा क्रमशः नबिल बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्सुरेन्स छन्। रसुवागढी हाइड्रोपावर, सानिमा बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र मेरो माइक्रोफाइनान्स पनि उच्च कारोबार हुने १० कम्पनीको सूचीमा परेका छन्। कारोबार भएको सेयर संख्याका आधारमा पनि प्रभु बैंक (प्रमोटर सेयर) नै पहिलो स्थानमा छ। कारोबार संख्यामा भने रसुवागढी हाइड्रोपावरले सबै कम्पनीलाई उछिनेको छ।

लाभकर गणनाविधिबारेको अन्योल नटुंगिनु, अपेक्षाअनुसार मौद्रिक नीति नआउनु, नेपाल राष्ट्रबैंकको नयाँ निर्देशन कार्यान्वयन हुँदा बैंक तथा वित्तीय संस्थाको नाफा घट्न सक्ने आकलनजस्ता कारणले लगानीकर्ताले आत्मविश्वास गुमाउँदा पुँजीबजार निरन्तर ओरालो लागेको छ।

गुमाउनेमा एनएलजी इन्सुरेन्स अगाडि
यस दिन सबैभन्दा बढी गुमाउनेमा एनएलजी इन्सुरेन्सका लगानीकर्ता परेका छन्। यो कम्पनीको सेयर मूल्यमा ६.३ प्रतिशतले गिरावट आएको छ। यसैगरी आँखुखोला जलविद्युत कम्पनी, एनआइबिएल प्रगति फन्ड, सिर्जना फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य पनि चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

घट्दो बजारमा पनि यस दिन साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ता सम्पत्ति ४.८७ प्रतिशतले बढेको छ। यसैगरी मेरो माइक्रोफाइनान्स, आँधीखोला लघुवित्त, कर्णाली विकास बैंक र सबैको लघुवित्त कम्पनीको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

बजारमा विक्रेता हावी
यस दिन लामो शरीर र छोटो पुच्छर भएको रातो महिनबत्ती बनेको छ। यसले बजारमा विक्रेता हावी भएको संकेत गर्छ। खरिदकर्ताले माग गरेकै मूल्यमा विक्रेताले सेयर बेचेको संकेत यसबाट मिल्छ। नेप्सेले दुई सय दिने मुभिङ एभरेजलाई पनि माथिबाट तल क्रस गरेको छ। सोमबार दुई सय दिने मुभिङ एभरेज १२०८.५ मा छ। आरएसआई २६ बिन्दुमा छ। यसले बजार स्पष्ट ओभर सोल्ड जोनमा भएको अर्थ दिन्छ। नेप्से केही दिन यता बोलिङ्गर ब्यान्डको तल्लो रेखामाथि गतिशील देखिएको छ। सोमबार पनि यही प्रवृत्तिले निरन्तरता पाएको छ।
यस दिन एक सय ७२ कम्पनीको कारोबार भएकोमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय तीनवटाको ओरालो लागेको छ। २८ वटा कम्पनीको क्लोजिङ मूल्यमा भने कुनै परिवर्तन आएन। यस दिनको एडी रेसियो (मूल्य बढ्ने कम्पनी र घट्ने कम्पनीको अनुपात) ०.२ छ। यसले बजार बियरिस अवस्थामा रहेको संकेत गर्छ।

प्रकाशित: १० भाद्र २०७६ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App