१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किनेको १४ महिनापछि जापान उड्दै वाइडबडी

काठमाडौं – नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दुई सय ७४ सिट क्षमताको वाइडबडी ए ३३०–२०० लाई काठमाडौं–ओसाका–काठमाडौं उडाउने तयारी पूरा भएको बताए।

लामो समयदेखि जापान उडानबारे जनचासोे बढ्दै गएको भन्दै उनले हप्ताको तीन उडान भर्ने गरी तालिका तयार भएको जानकारी दिए। सुरुको पहिलो महिना यात्रु संख्या कम देखिए पनि विस्तारै बढ्दै जाने उनको भनाइ छ।

ओसाका उडानपछि नारिताको तयारीमा लाग्ने खरेलले जानकारी दिए। जनवरी १ बाट नारिता उडान अनुमतिको गृहकार्यमा निगम लागिरहेको उनको भनाइ छ।

सन् २०१२ सम्म जापान उडानको क्रममा दुई लाख ३५ हजार दुई सय ४२ यात्रु तथा २१ टन कार्गाे निगमले बोकिसकेको भन्दै उनले पुनः सञ्चालनमा आउने उक्त उडानले निगमलाई व्यावसायिक रुपमा सफल बनाउन भूमिका खेल्ने अपेक्षा गरे।

‘२०१७ मा रद्द भएको एउटा उडान बाहेक ननक्यान्सिल फ्लाइटको रुपमा निगमले उत्कृष्टता देखाइसकेको छ,’ खरेलले दाबी गरे, ‘सुरुको एक महिना यात्रुको संख्यामा केही कम भए पनि सेप्टेम्बर, अक्टोबरदेखि बढ्नेमा विश्वस्त छौं।’

युरोपको आकासमा निगमलाई उडान अनुमति नहुँदा जापान, कोरिया तथा चीन जस्ता देशमा केन्द्रित रहँदै उडान अनुमति लिने प्रयास गरिएको र पहिले ‘सस्पेन्ड’मा रहेका कारण अनुमति प्राप्त गर्न केही समय लागेको उनको भनाइ छ।

पहिले जुलाईबाटे जापान उडाउने योजना रहे पनि प्राविधिक कारणवस उक्त योजना सफल नभएको उनको दाबी छ। पहिलो उडानमा सयदेखि एक सय ५० सम्म यात्रु रहने सक्ने उनले जानकारी गराए। भारतको मुम्बईमा पहिलो उडानका क्रममा सिट भर्न केही समस्या भएको भन्दै जापानको पहिलो उडानमा पनि त्यही समस्या देखिन सक्ने उनले बताए। निगमका जहाजहरुले तोकिएको समयमा नउड्ने विषयमा कुख्याति कमाएका छन्।

एक वर्षको अवधिमा जहाजलाई पूर्णरुपमा सञ्चालन गरेर भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउन पनि सहयोग पुग्ने उनले बताए।

काठमाडौंबाट स्थानीय समय अनुसार विहान २ः३० मा उडेको विमान स्थानीय समयअनुसार विहान ११ः५५ मा ओसाका पुग्नेछ। त्यहाँबाट स्थानीय समयअनुसार दिउँसो १ः५५ मा उडेको जहाज सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्ने निगमले जनाएको छ।

निगमले मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तथा पहिलो महिनाका लागि दुईतर्फी भाडादर ७२ हजार नौ सय ९९ रुपैयाँ तोकेको जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App