१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूधको मूल्य बढाउन दबाब

काठमाडौं – बजारमा मागको आधार कच्चा दूध नपाएको डेरी व्यवसायीले गुनासो गरिरहेका बेला दूग्ध उत्पादक किसानले दूधको मूल्य बढाउन दबाब दिएका छन्। दूध उत्पादन बढाए लागत घट्ने र स्वतः नाफा हुने भए पनि किसान मूल्य बढाउनुपर्ने लबिङमा छन्।

किसानले अहिले फ्याटका आधारमा प्रतिलिटर ४६ रुपैयाँदेखि ५० रुपैयाँ मूल्य पाउँछन्। उक्त दूध बजारमा उपभोक्ताले ७० रुपैयाँ लिटरमा उपभोग गरिरहेका छन्। बीचको मार्जिन डेरी उद्योग र डेरी सञ्चालकले लिन्छन्। यसले किसान र उपभोक्ता मारमा छन्।

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाललाई भेटेर मूल्य बढाउन दबाब दिँदै आएका छन्। लागतका आधारमा प्रतिफल नपाएको भन्दै किसानले दूधको मूल्य बढाउन आग्रह गरेका हुन्। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ।

पशुआहारा ढुटो, दाना, चोकर र कृषि श्रमिकको ज्याला बढेकाले लागतको आधारमा किसानले प्रतिफल पाउन नसकेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए। ‘सबै क्षेत्रमा मूल्यवृद्धि भए पनि लामो समयदेखि किसानले कच्चा दूधको मूल्यमा बढाएका छैनन्,’ संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, ‘अब अहिलेकै मूल्यमा दूध बिक्री गर्न सक्ने अवस्था छैन।’

तीन वर्षदेखि दूधको मूल्य नबढेको उनले बताए। ‘२५ रुपैयाँमा आउने चोकरको मूल्य प्रतिकिलो ४० रुपैयाँ पुगेको छ,’ देवकोटाले भने, ‘७० हजारको गाईको मूल्य डेढ लाख रुपैयाँ पुगेको छ।’ मजदुरको ज्याला, औषधीको मूल्य पनि बढेकाले किसान समस्यामा परेको देवकोटाको दाबी छ। लागत बढेकाले तत्काल किसानले पाउने गरी कच्चा दूधको मूल्यमा वृद्धि गर्न आवश्यक रहेको उनले बताए। किसान मर्कामा परेको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल र मन्त्रालयका अधिकारीको ध्यानाकर्षण गराएको देवकोटाले बताए।

‘तत्काल कच्चा दूधको किसान मूल्य बढाउनु पर्छ,’ उनले भने, ‘माग सम्बोधन नभए आन्दोलनमा उत्रिन्छौं।’
किसानलाई पशुपालनमा टिकाई आत्मनिर्भर र उत्पादनमूखी अर्थतन्त्र निमार्ण गर्न आगामी भदौ १ गतदेखि लागू हुने गरी मूल्य बढाउन आग्रह गरे। भदौ १ बाट मूल्य नबढे दुग्ध उत्पादक किसान देशव्यापी रुपमा आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ।

मूल्य नबढाए भदौ ४ देखि ६ गते दुग्ध विकास संस्थान घेराउ गर्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन्। कृषि मन्त्रालयको सिफारिसमा दुग्ध विकास संस्थाले दूधको मूल्य निर्धारण गर्छ।

धूलो दूध आयातमा विवाद
दूधको मूल्य बढाउन दबाब दिए पनि स्वदेशी उत्पादनले बजारको माग धान्न सकेको छैन। बजारको आवश्यकता अनुसार दूध उत्पादन नगरेका किसानले विदेशबाट दूलो दूध आयात रोक्न दबाब दिँदै आएका छन्। विदेशबाट धुलो दूध आयातको विषयमा किसान र डेरी उद्योगीबीच विवाद बढेको छ।

दूध आयातमा लगाएको प्रतिबन्ध खोलेर कच्चा दूध ल्याउन सरकारले बाटो खोले पनि डेरी सञ्चालकले पाउडर दूध ल्याउन पाउनुपर्ने माग गरेका छन्। किसानले भने विदेशबाट दूध आयात हुन नहुने बताउँदै आएका छन्।

अहिले मागको आधारमा दूध उत्पादन हुन सकेको छैन। हरेक व्यक्तिको लागि वार्षिक ९२ लिटर दूध आवश्यक पर्ने भए पनि पछिल्लो तथ्यांक अनुसार नेपालमा दूध उपलब्धता प्रतिव्यक्ति ७८.३५ लिटर पुगेको छ। मुलुकमा वार्षिक २० लाख पाँच हजार मेट्रिक टन उत्पादन हुन्छ।

किसानले अहिले फ्याटका आधारमा प्रतिलिटर ४६ रुपैयाँदेखि ५० रुपैयाँ मूल्य पाउँछन्। उक्त दूध बजारमा उपभोक्ताले ७० रुपैयाँ लिटरमा उपभोग गरिरहेका छन्। बीचको मार्जिन डेरी उद्योग र डेरी सञ्चालकले लिन्छन्। यसले किसान र उपभोक्ता मारमा छन्।

पशुपालन व्यवसायीकरण हुन नसकेकाले मुलुक दूधमा आत्मनिर्भर बन्न नसकेको हो। दूध र दूग्धजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्दै निर्यात गर्नको लागि यसको उत्पादन बढाउनु पर्छ।

उद्योगी र किसानका दबाबबीच सरकारले कच्चा दूध आयात खुला गरेको छ। साउनदेखि कच्चा दूधको आयात खुला गरेको भए पनि सरकारी स्वामित्वको डिडिसी र निजी डेरीले दूध ल्याएका छैनन्। उनीहरुले धुलो दूध ल्याउन पाउनुपर्ने माग गर्दै आएका छन्।

डेरी व्यवसायीले भने सरकारले किसानको संरक्षण गर्दा उद्योगीको पनि संरक्षण गर्नुपर्ने बताए। बजारको माग अनुसार किसानले दूध पु-याउन नसकेकोले विदेशबाट धुलो दूध ल्याउन पाउनुपर्ने नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए। ‘यहाँको उत्पादनले माग पूरा नभएपछि आयात गर्नुपर्ने अवस्था छ,’ दाहालले भने, ‘सरकारले धूलो दूध आयात गर्न नदिँदा उद्योग समस्यामा परे।’ सरकारले कच्चा दूध आयात गर्ने अनुमति दिएको भए पनि भारतबाट कच्चा दूध ल्याउँदा जोखिम हुने बताए। ‘लिक्विड दूध ल्याउँदा ढुवानी पनि महँगो पर्छ,’ उनले भने, ‘बिग्रिने जोखिम पनि उत्तिकै हुन्छ।’

धुलो दूध ल्याउन नपाउँदा काठमाडौंमा पाँच लाख लिटर दूधको माग भए पनि साढे तीन लाख लिटरमात्र आपूर्ति गरेको बताए। भारतबाट धूलो दूध आयात गर्न नदिँदा साढे १२ हजार रुपैयाँ बोराको धुलो दूध साढे १६ हजार रुपैयाँ पुगेको बताए। डेरी उद्योगीले धुलो दूध आयातको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन्। डेरी क्षेत्रमा अर्बौं रुपैयाँ लगानी भएकाले संरक्षण गर्नुपर्ने उनको तर्क छ।

प्रकाशित: २६ श्रावण २०७६ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App