५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पान नम्बर लिन तँछाडमछाड

धनगढी - सरकारले एक हजार रुपैयाँभन्दा माथिको पारिश्रमिक भुक्तानीमा पान नम्बर अनिवार्य गरिएपछि आन्तरिक राजस्व कार्यालय धनगढीमा पान नम्बर लिनेहरुको तँछाडमछाड चलेको छ।  साउन १ गतेदेखि तीन सातामा मात्रै आन्तरिक राजस्व कार्यालय धनगढी र सो मातहतको लम्कीस्थित करदाता सेवा कार्यालयबाट गरी नौ हजारभन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्।

साउन १ देखि अहिलेसम्म धनगढी र लम्की कार्यालयबाट नौ हजारभन्दा बढीले पान नम्बर लिएको आन्तरिक राजस्व कार्यालयको तथ्यांकले देखाएको छ।  आव ०७६/७७ देखि लेखा नं नभएका श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा  स्थायी लेखा नम्बर उल्लेख नगरिए एक हजारभन्दा बढी मूल्यबापतको खर्च कट्टी गर्न नपाउने नियम लागू भएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढेको हो।

आव ०७६/७७ देखि कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तलब, भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरूपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै आन्तरिक राजस्वमा यतिबेला सेवाग्राहीको बाक्लो भीड लागेको छ।  पान नम्बर नभए तलब भत्ता नपाइने भनेपछि आफू पान नम्बर लिन आन्तरिक राजस्व कार्यालयमा आएर पान नम्बर लिएको डोटीबाट आएका भीमबहादुर बमले बताए।  उनले धनगढीको आन्तरिक राजस्व कार्यालयमा दैनिक पाँच सयभन्दा बढीले पान नम्बर लिने गरेको कार्यालयले जानकारी दिएको छ।  सरकारले पान नम्बर अनिवार्य गरेपछि कार्यालयमा व्यक्तिगत पान नम्बर बनाउनेको घुइँचो लागेको हो।  धनगढीको आन्तरिक राजस्व कार्यालयबाट सुदूरपश्चिमका पाँच जिल्लाका सेवाग्राहीले सेवा लिइरहेका छन्।

तीन सातादेखि धनगढी र लम्की कार्यालयबाट नौ हजारभन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर र व्यावसायिक पान नम्बर लिएको कार्यालयका प्रमुख गोविन्द अधिकारी बताउँछन्।  व्यक्तिगत स्थायी लेखा नम्बर लिन कार्यालय धाउदा पनि लामो समयसम्म लाइन लाग्नु परेको डोटीबाट पान नम्बर लिन धनगढी आएका मोहन पनेरुले बताए।  श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा स्थायी लेखा नम्बर उल्लेख नगरिए एक हजारभन्दा बढी मूल्यबापतको खर्च कट्टि गर्न नपाउने नियम लागू भएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढेको उनी बताउँछन्। 

सेवाग्राहीको मागलाई मध्यनजर गरी दुईवटा काउन्टरबाट पान नम्बर वितरण गरिरहेको उनले बताए।  पान नम्बर लिनेको अत्याधिक भीड बढेपछि एक काउन्टर थपिने उनी बताउँछन्।  कर्मचारी अभावले सोचेजस्तो सेवा दिन नसकेको उनको भनाइ छ।  यो संख्या थपिएसँगै अहिले आन्तरिक राजस्व कार्यालय धनगढीमा ५० हजारभन्दा बढी करदाता पुगेका छन्। 

अहिले दैनिक करिब सात सयले नयाँ व्यक्तिगत पान नम्बर लिने गरेको उनले बताए।  ‘पान नम्बर अनिवार्य भएपछि अहिले व्यक्तिगत पान नम्बर लिन दैनिक सात सयभन्दा बढी सेवाग्राही आउने गर्छन्,’ उनले भने, ‘हामीले जतिसक्दो चाँडो सबैलाई समयमै प्यान नम्बर दिने व्यवस्था गरेका छौं, तर पनि अत्याधिक भीडका कारण गाह्रो भइरहेको छ।’

 

 

प्रकाशित: २३ श्रावण २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App