१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रात्रिकालीन व्यवसायको विवाद चर्कदो

पोखरा लेकसाइडको रात्रिकालीन दृष्य। तस्बिरः उमेश पुन/नागरिक

पोखरा – सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउँदैछ। गण्डकी प्रदेश सरकारले १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘आन्तरिक भ्रमण वर्ष २०१९’ मनाइरहेको छ। संघीय र प्रदेश सरकारले पर्यटनबाटै आर्थिक समृद्धिको सपना देखिरहँदा मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका पर्यटन व्यवसायी भने विवादमा उत्रिएका छन्। व्यवसायीबीचको विवाद यतिबेला उत्कर्षमा पुगेको छ।

यो विवादले सरकारका पर्यटन वर्षका योजनालाई असर पार्ने व्यवसायीकै चिन्ता छ। व्यवसायीको विवाद कानुनी हैसियत खोज्दै अदालतसम्म पुगेको छ। विवादको मूल चुरो रात्रिकालीन व्यवसाय र त्यसले सिर्जेको अवस्थाबाट सुरु भएको हो। रात्रिकालीन व्यवसायले समग्र लेकसाइडमा अशान्त फैलिएको भन्दै शान्ति सुरक्षा कायम गराउन माग गर्दै स्थानीय आमा समूह, टोल समूह र पश्चिमाञ्चल होटल संघ उच्च अदालत पुगेका थिए।

राति ९ बजेपछिको व्यवसाय रात्रिकालीन भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने माग गर्दै संघ र समूहले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। रिटमा गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयसहित कास्की प्रशासन र प्रहरीलाई विपक्षी बनाइएको छ। विवाद बढ्दै जाँदा अहिले होटल संघ र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)बीच मनमुटाव बढेको छ। रिटविरुद्ध छलफल गर्न अदालतले सोमबार सरोकारवालालाई बोलाए पनि निवेदकको अनुरोधमा अर्काे आइतबारका लागि पेसी सारिएको छ।

विवादको मूल चुरो रात्रिकालीन व्यवसाय र त्यसले सिर्जेको अवस्थाबाट सुरु भएको हो। रात्रिकालीन व्यवसायले समग्र लेकसाइडमा अशान्त फैलिएको भन्दै शान्ति सुरक्षा कायम गराउन माग गर्दै स्थानीय आमा समूह, टोल समूह र पश्चिमाञ्चल होटल संघ उच्च अदालत पुगेकाे छ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार लेकसाइडको रात्रिकालीन अवस्था विकराल बन्दैछ। जुन झन्डै दुई दशकदेखि नसुल्झिएको समस्या हो। त्यही समस्या समाधान गर्न आफूहरु सरकारी निकायलाई दवाव दिन अदालत पुगेको तुलाचन बताउँछन्। उनका अनुसार लेकसाइडमा रात पर्दै गएपछि होहल्ला बढ्छ। डान्स, डिस्को, पब, क्याबिन, गजल रेस्टुरेन्ट, क्लब लगायतबाट निस्कने आवाजले ध्वनी प्रदूषण बढाएको छ। त्यस्तै मध्यरातपछि मदिराले मातिएका युवायुवतीको गतिविधि असह्य छ। जथाभावी मोटरसाइकल कुदाउने र होहल्लाले मध्यरातपछि लेकसाइड झनै प्रदूषित हुन्छ।

‘भनिनसक्नुका गतिविधि मध्यरातपछि हुन्छन्। ती गतिविधि कम गर्न बारम्बार सरकारी निकाय गुहा-यौं,’ तुलाचनले भने, ‘तर, हाम्रो माग कसैले सुनेन। त्यही भएर अदालत पुगेका हौं।’ लेकसाइडमा केही व्यवसायीले अदालतबाट आदेश लिएर राती दुई बजेसम्म व्यवसाय सञ्चालन गरिरहेका छन्। राति अबेरसम्म सञ्चालित ती केही व्यवसायीका कारण लेकसाइड शान्तले निदाउन नपाएको तुलाचनको भनाइ छ। ‘पर्यटन क्षेत्र शान्त हुुनुपर्छ। मध्यरातपछिको लेकसाइड जहिल्यै कोलाहलपूर्ण बन्छ,’ उनले भने, ‘अति होहल्ला भएपछि प्रहरी बोलायो, प्रहरी रहुन्जेल शान्त हुने लेकसाइड प्रहरी फर्र्किएपछि कोलाहलमा बदलिन्छ।’

पर्यटन व्यवसाय सञ्चालनमा विरोध गरेको नभई शान्तिपूर्वक बस्न पाउने अधिकार खोजेको उनले बताए। लेकसाइड २४ सै घण्टा खुलाउने योजना बनिरहँदा अहिलेको अशान्त वातावरणबाट सम्भव नभएको उनले बताए। ‘मस्त निदाएका पर्यटकलाई ब्युझाउने गरी सार्वजनिक ठाउँमा अनैतिक गतिविधि र होहल्ला गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘हामीले अशान्ति फैलाउने गतिविधि हुनुहुँदैन भनेका हौं।’

रात्रिकालीन व्यवसाय अस्तव्यस्त बनेको भन्दै व्यवसायीले स्थानीय प्रशासनसँग भिन्दै निर्देशिका बनाएर नियन्त्रण गर्न माग राखेका थिए। त्यसपछि स्थानीय प्रशासको पहलमा व्यवसायीको छाता संस्थाले सुझाव दिएका थिए। त्यही सुझाव संकलन गरेर स्थानीय प्रशासनले रात्रिकालीन व्यवसाय सञ्चालन आचारसंहिताको ड्राफ्ट तयार पारेर छलफलका लागि व्यवसायीलाई दिएको थियो। तर, प्रशासनले पठाएको ड्राफ्टमा छलफलै नगरी होटल व्यवसायी, आमा र टोल समूह अदालत पुगेको अरु व्यवसायीको भनाइ छ।

अहिले मुख्यरुपमा होटल संघ र रेबानबीच विवाद बढ्दै जाँदा व्यवसायीबीच आरोप प्रत्यारोप बढेको छ। दुईवटा व्यावसायिक संस्था (होटल संघ र रेबान)बीच अहिले विवाद चर्कदो छ। एकअर्कालाई आरोप लगाउँदै दुवै संस्थाका पदाधिकारी भिन्दाभिन्दै बैठक बस्ने गरेका छन्। सबै पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले विवाद मिलाउने प्रयास गरे पनि अझै सहज भइसकेको छैन।

रेबानका अध्यक्ष भीमसेन भुजेलले २४ सै घण्टा सञ्चालनमा ल्याउनुपर्ने पर्यटन व्यवसाय संसाँझै बन्द गर्न दवाव दिँदा पर्यटनमा नराम्रो असर पार्ने बताउँछन्। ‘पर्याप्त पूर्वाधार तयार पारेर शान्ति सुरक्षाको ग्यारेन्टी गरेर २४ सै घण्टा खोल्नुपर्ने व्यवसाय राति ९ बजे नै बन्द गर्नुपर्ने माग राख्नु आफैमा गलत हो,’ भुजेलले भने, ‘राति ९ बजे व्यवसाय बन्द गरेर हामी चल्न सक्दैनौ।’ राती ९ बजेपछि नै खानपिनका गतिविधि सञ्चालन हुने बेलामा व्यवसाय बन्द गर्नुपर्छ भनेर केही स्वार्थ समूह लागिपरेको उनले बताए। ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही गर्नुको साटो सबै व्यवसायीलाई एकै डालोमा हाल्न पाइँदैन,’ उनले भने, ‘यस्तो विवादले पर्यटन फस्टाउँदैन। व्यवसायीबीच तिक्ततापूर्ण व्यवहार बढ्नु राम्रो होइन। डान्स, डिस्कोमा राति अबेरसम्म रमाएका पाहुना सडकमा निस्केपछि होहल्ला गर्दा समस्या हुने गरे पनि यसलाई प्रशासनले समाधान गर्नुपर्ने भुजेलले बताए।

रेबानका पूर्वअध्यक्ष गोपी भट्टराई व्यवसायीले आफै मिलेर समस्या समाधान गर्नुको साटो मुद्दा मामिलामा जानु गलत रहेको बताउँछन्। ‘समस्या कहाँ छ भनेर हामीले खोज्ने प्रयास गरेनौं, एकले अर्काेलाई दोषी देख्यौं,’ भट्टराईले भने, ‘कुनै पनि व्यवसाय सञ्चालन गर्नुअघि त्यसबारे पर्याप्त अध्ययन गर्नुपर्छ।’ अध्ययन नै नगरी धमाधम राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न स्वीकृति दिइएको पनि उनले बताए। उनले पनि व्यवसायभित्र भन्दा पनि सार्वजनिकस्थलमा समस्या रहेको बताए। ‘डान्स, डिस्कोमा पाहुना रमाउन्जेल सञ्चालकको जिम्मा हुन्छ। सडकमा निस्केपछिको गतिविधि सरकारले नियन्त्रण गर्र्नुपर्छ,’ उनले भने, ‘यस्तै अस्तव्यस्तता हो भने पर्यटनका सरकारी योजना असफल हुनेछन्।’ भट्टराईका अनुसार रात्रि व्यवसाय गर्ने कतिपय पूर्वाधार निकै कमजोर अवस्थामा छन्। ती पूर्वाधारलाई मापदण्ड पूरा गर्न दवाव दिनुपर्ने उनले बताए।

रेबानका सल्लाहकार सुर्य भुजेलका अनुसार डान्स, डिस्को, दोहोरी, गजल, मसाज व्यवसायी रेबानमा आवद्ध छैनन्। त्यसैले जहाँ समस्या छ, त्यहीबाट समाधान गर्नुपर्ने उनले बताए। उनका अनुसार पर्यटनका अधिकांश पाहुना आन्तरिक र भारतीय छन्। पोखरामा रमाउन आएका तीनै पाहुनालाई ९ बजेपछि रेस्टुरेन्टमा खानपिनका लागि जान नदिने हो भने पर्यटन व्यवसाय फस्टाउन नसक्ने उनले बताए। ‘राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गराउने हो भने व्यापार होटलमा आउने भएकाले यो शैली अपनाइएको हो,’ सल्लाहकार भुजेलले भने, ‘विकृृति, विंसगतिलाई हामी पनि समर्थन गर्दैनौ। तर, सबैले गल्ती गरे भनेर अरुको व्यापारलाई असर पर्ने गरी अवरोध गर्न पाइँदैन।’ ढिलागरी पनि पाहुना आउने भएकाले लेकसाइडका रेस्टुरेन्ट मध्यरात १२ बजेसम्म खोल्न कुनै अवरोध गर्न नहुने उनले बताए। ‘भारतीय पाहुना ढिलागरि खाना खान निस्कन्छन, अनि ९ बजे नै रेस्टुरेन्ट बन्द गरेर हामीले के का लागि व्यापार गर्ने ?’ उनले भने, ‘कसैलाई अप्ठेरो नपार्नेगीर व्यापार गर्नुपर्छ। आफ्नो स्वार्थले मात्र हुँदैन।’

रिट निवेदन दिनेमध्येकी बाराही टोल विकास समितिकी अध्यक्ष सरा बोगटीले साउन्डप्रुफ नभएका डिस्को, डान्सले बढी समस्या पारेको बताइन। ‘यो व्यवसाय गर्ने ठाउँ मात्र होइन, बस्ती पनि हो,’ बोगटीले भनिन्, ‘बस्ती भएकाले यहाँ वृद्धवृद्धादेखि बालबालिका पनि बस्छन्। होहल्लाले वृद्धवृद्धा र बालबालिकालाई मर्का परेको छ। उनीहरुको पीडा सुनिदिने कोही छैन।’ होटल र आवासका छेउमा ढ्यांग्रो बजाउँदा अरुलाई असर पर्छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनले बताइन्। उनका अनुसार मूल सडकमा मध्यरातमा चर्काे आवाजमा मोटरसाइकल गुडाइन्छ, अनि युवायुवतीबीच कुटाकुट चल्छ। यस्ता गतिविधिले असर परेकाले समस्या समाधान गर्न अदालत गएको बोगटीले बताइन।

परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सबै व्यवसायीको एकताले मात्र सरकारी लक्ष्य पूरा हुने भएकाले सहमति गरेर अघि बढ्ने प्रयास भएको बताए। ‘व्यवसाय शान्त हुनुपर्छ, त्यसमा दुईमत छैन,’ उनले भने, ‘तर, सबैले गल्ती गरे भनेर एकैठाउँमा राख्न पाइँदैन।’ उनले पनि रात्रि व्यवसाय सञ्चालन गर्ने केही डान्स, डिस्कोले समस्या पारेकोले ती व्यवसायीलाई नियमन गर्नुपर्ने बताए।

प्रकाशित: २१ श्रावण २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App