७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘सोलुदूधकुण्ड’मा धमाधम बेलिब्रिज

लोदिङ खोलामा निर्माण गरिएको पुल उद्घाटनपछिको दृष्य। तस्बिर: शिखरजंग/नागरिक

सोलुखुम्बु – सडकको पहुँच पुगेको केही वर्ष भएको तामाखानीस्थित लोदिङ खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारण बर्खामा सास्ती खेप्दै आएका थिए। उनीहरुले मात्र हैन, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरानी भोग्नुपर्ने बाध्यता थियो। धेरैलाई लाग्थ्यो, लोदिङ खोलामा पुल भइदिए हिँड्नुपर्ने थिएन।

स्थानीय सर्वसाधारण र ज्वालामाई मन्दिर जाने दर्शनार्थीको त्यो चाहना आज आएर पूरा भएको छ। तामाखानीका टेकबहादुर मगरको खुसी यसरी छल्कियो। उनले भने, ‘पुल नहुँदा खोलासम्म गाडीमा सामान ल्यायो, त्यसपछि बोकेर लैजानुपर्ने बाध्यता थियो। म आफैलाई पनि धेरैपटक यो सास्ती भोगेको छु, त्यतिबेला खोलामा पुल भइदिए कति सहज हुन्थ्यो भन्ने लाग्थ्यो, जून आज आएर पूरा भएको छ।’

उनलाई मात्र हैन, त्यसै क्षेत्रका कृष्णगोपाल भण्डारीलाई पनि यस्तै खुसी लागेको छ। उनी मोटरसाइकल तार्न साथीभाई गुहार्नुपरेको विगत सम्झिन्छन्। बेलिब्रिज सञ्चालनले तामाखानीस्थित ज्वालामाई देवी मन्दिरमा पुग्ने दर्शनार्थीलाई समेत सहज भएको उनको भनाइ छ। मन्दिर नजिकसम्म सवारीसाधन लैजान सकिने भएकाले दर्शनार्थीमा खोलावारीबाट हिँड्नुपर्ने बाध्यता हटेको छ। यसले दर्शनार्थीको संख्यामा समेत वृद्धि हुने आशा गरिएको मन्दिरका पुजारी वीरबहादुर रेग्मी मगर बताउँछन्।

बेलिब्रिजले पर्यटकीय क्षेत्र पिकेडाँडा गन्तव्य बनाउनेका लागि पनि सहज बनाउनेछ। यता, लिखुपिके क्षेत्रबाट सल्लेरी ओहोरदोहोर गर्नेलाई पनि पहुँच भएसम्मको सडकको प्रयोग गर्न बाटो खुला गरिदिएको छ। सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ३ लोदिङखोलामा एक करोड ६६ लाख २६ हजार ७१ रुपैयाँ लागतमा निर्माण भएको बेलीब्रिजको बुधबार मेयर नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे। यससँगै पुल नहुँदा वर्षायाममा सास्ती खेप्दै आएका स्थानीयमा खुसियाली छाएको छ।

साउन ११ गते बेनीखोलामा एक करोड ४२ लाख रुपैया लागतमा निर्माण गरिएको बेलिब्रिज पनि मेयर शेर्पाले नै उद्घाटन गरेका थिए। गत आर्थिक वर्ष ०७५/७६ को बजेटबाट वडा नं ९ गोराखानी र वडा नं १० टाप्टिङ जोड्नेगरी सोल्नासा खोलामा निर्माण गरिएको बेलिब्रिजको छिट्टै उद्घाटन गरिने नगरपालिकाले जनाएको छ।

ईन्द्रणी दावा जेभी काठमाडौंले निर्माण गरेको ४० टन भारवहन क्षमताको ब्रिजको आयू ५० वर्षेका रहेको छ। पुल नहुँदा बर्खाको समयमा खोलामा पानीको सतह बढेपछि ठूलासाना सवारी ओहोरदोहोरमा समस्या हुँदै आएको थियो। उद्घाटन कार्यक्रममा मेयर शेर्पाले सडक र पुल नै विकासको मुख्य पूर्वाधार भएकाले नगरपालिकाले प्राथमिकताका साथ निर्माण कार्य अगाडि बढाएको बताए।

मेयर शेर्पाले तामाखानी तथा गोराखानी र टाप्टिङलाई जोड्ने सोल्नासा खोलामा पनि बेलिब्रिज निर्माणले नगर समृद्धिको यात्रामा अघि बढिरहेको सन्देश प्रवाह गरेको बताए। उनले भने, ‘यो वर्ष शालाबेसी, रोसी, सिसा र हेवा खोलामा एक वर्षभित्र बेलिब्रिज निर्माण गर्नेगरी काम हुँदैछ, पुल र सडक नै समृद्धिको दरिलो आधार हुन्।’ मेयर शेर्पाले विकास निर्माण, पारदर्शिता, सुशासन र जवाफदेहिताको हिसाबले नगरपालिका अन्य स्थानीय तहको तुलनामा अग्रपंक्तिमा रहेको दाबी समेत गरे।

प्रकाशित: १७ श्रावण २०७६ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App