९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

जापानमा इलाम चिनाउँछन् जो

जापानी चिया व्यवसायी तात्सुया माएकावा इलाम सदरमुकामस्थित नेपालकै पुरानो चियाबारीमा चियापत्ती नियाल्दै।तस्बिर : भीम/नागरिक

इलाम – उच्च गुणस्तरको तयारी चिया आफ्नो देश लैजान बर्सेनि धेरै संख्याका विदेशी व्यापारी चियाको राजधानी इलाम आउँछन्। व्यापारीले नाफाका लागि मात्रै वस्तु तथा सेवा व्यापार गर्नु स्वभाविकै हो। तर, जापानी युवक तात्सुया माएकावा यस्ता व्यापारी हुन्, जो बर्सेनि लगेको चिया मात्र होइन, चियासँगै जापानमा इलाम पनि ‘बेच्दै’छन्।

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र होइन, अलि बढी रुपैयाँ कमाउने हिसाबले इलामको चियालाई दार्जिलिङको चियाका नाममा बिक्री गर्ने धेरै देशमा धेरै व्यवसायी छन्।’ तर, तात्सुयाले त्यसो गरेनन्। इलाममा पहिलो पाइला टेक्दा उनलाई यहाँको सौन्दर्यले जति लोभ्यायो, चियाले पनि उत्तिनै आकर्षित ग-यो। उनले यहाँको चियालाई ‘दार्जिलिङ’भित्र गाभ्न चाहेनन्। भन्छन्, ‘जापानमा इलामको चियाको बेग्लै ब्रान्ड भइसकेको छ, मलाई फलानो सिजनको इलामे चिया चाहियो भनेर माग गर्ने ग्राहकको संख्या बढ्दो छ।’

इलाम आउनुअघि तात्सुया पनि दार्जिलिङकै चिया व्यापार गर्थे। सन् २०१२ को जुन–जुलाईतिर भारत र पाकिस्तानको युद्ध चलिरहेका बेला घुम्दै–घुम्दै इलाम आएका बेला उनलाई यहाँको चियाले तान्यो। ‘जब यहाँको चियाको स्वाद चाख्न पाएँ, जापान मात्र होइन, अन्य देशमा समेत राम्रो बिक्री हुन्छ भन्ने लाग्यो,’ चिया खरिदकै लागि सात वर्षदेखि आइरहँदा सिकेको फाट्टफुट्ट नेपाली शब्दसमेत जोडेर उनले सुनाए, ‘जापानमा पनि इलाम चिनाउँदैछु।’

‘जापानमा इलामको चियाको बेग्लै ब्रान्ड भइसकेको छ, मलाई फलानो सिजनको इलामे चिया चाहियो भनेर माग गर्ने ग्राहकको संख्या बढ्दो छ।’

तात्सुयाले भावना र शब्दले मात्र होइन, जापानमा आफ्नो कम्पनीको नाम नै ‘टी हाउस चिया इलाम’ राखेका छन्। कम्पनीको लोगोमा पनि सगरमाथा र पहाडी क्षेत्रको चियाबारी अंकित छ। ‘चियाको प्याकिङ पनि इलामकै नाम राखेर गर्छु,’ उनले भने, ‘पसलको साइनबोर्ड हेर्नेले इलामबारे चासो राख्छन्, यहाँको गुणस्तरीय र बासनादार चियाको मात्र होइन, सकेसम्म यहाँको हावापानी र सौन्दर्यकोसमेत वर्णन गरिदिन्छु।’ इलामबाट पहिलोपटक लगेको चिया जापानमा लोकप्रिय भएपछि उनी वर्षमै दुई–तीन पटकसम्म यहाँ आए। अहिले वर्षमा एक–दुई चोटी आउँछन् र प्रत्येक पटक आठ सय किलोसम्म तयारी अर्थाेडक्स चिया लैजान्छन्।

यो पटक पनि फस्ट फ्लसपछि उनी चिया किन्न इलाम आएका छन्। ‘म अरूतिरबाट पनि चिया लैजान्छु तर मैले बेच्ने स्पेसल चिया भनेको इलामको अर्गानिक अर्थाेडक्स नै हो,’ उनले भने, ‘अहिले मैले लगेको चिया जापानका बजारमै खपत भइरहेको छ। तर, जसले इलाम नाम भएको चिया चाख्छ, उसले थप अर्डर गर्छ।’ इलाम बजारस्थित व्यवसायी हरि गुरुङको पसलबाट उनले निरन्तर चिया खरिद गरिरहेका छन्। यो वर्ष पनि आठ सय किलो हाराहारी तयारी चिया उनले यहींबाट लैजाने बताए। ‘चिया किन्नेहरूलाई पहिला टेस्टिङ गराउँछु, अन्यतिरको चियाभन्दा यहाँको चिया नै बढी मन पराएर ग्राहकले मगाउँछन्,’ तात्सुयाले जापानी चियापारखीको आनीबानी सुनाउँदै भने, ‘यहाँको चियाको बोट नयाँ र गुणस्तर राम्रो भएकाले पनि होला, बासना पनि अन्य देशको चियाको भन्दा मीठो आउँछ।’

तात्सुयाले इलामको चिया प्रवद्र्धन गर्नेमात्र होइन, यहाँको चिया उत्पादनमै लगानी गरेर ‘इलामको चिया राजा’ बन्ने लक्ष्यसमेत रहेको सुनाए। ‘सोचेजस्तो मिल्यो भने इलामको हरियाली चिया बगानमै लगानी गरेर उद्योग खोल्ने लक्ष्य छ,’ उनले भने, ‘आफ्नो उद्योग भएपछि संसारभर यहाँको चिया पु-याउन सकिन्छ।’ उनलाई आधा दशकभन्दा बढी समयदेखि चिया बेचिरहेका व्यवसायी गुरुङले तात्सुयाले इलामको चियासँगै इलामको पर्यटनलाई समेत जोडेर जापानमा प्रचार गर्न सघाएको बताए।

‘चिया लिन त धेरै विदेशी आउँछन् तर इलामको चियालाई इलामकै भनेर बेच्ने औधी रहर चाहिँ तात्सुयामा मात्रै देख्छु,’ पर्यटनमा समेत सक्रिय गुरुङले सुनाए, ‘तात्सुयाले चियाको माध्यमबाट इलाम–जापानको पर्यटनदूतझैं काम गरिरहेका छन्। मलाई उनको यो शैली चाहिँ पृथक लाग्छ।’ इलामको चियालाई ‘इलामको’ वा ‘नेपालको’ भनेर जापानमा बेच्दा पनि आफूहरूलाई गौरव लाग्ने गुरुङले सुनाए।  ‘इलाम र नेपालमा उत्पादन भएको उच्च गुणस्तरको चिया तेस्रो मुलुकमा ज्यादै रुचाइन्छ तर यो चिया नेपालको हो भन्ने चाहिँ त्यहाँ कसैले चिन्दैन,’ गुरुङले भने, ‘हामी व्यवसायीले नेपाललाई चियाको माध्यमबाट संसारमा चिनाउने सम्भावना खेर गइरहेको छ।’

प्रकाशित: १५ श्रावण २०७६ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App