१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सहकारीको ब्याजदर अन्योलमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसकिने जनाएको छ। खुला बजार अर्थनीतिलाई नेपालले आत्मसात् गरेकाले ब्याजदर तोक्न नमिल्ने उसको भनाइ छ।

सहकारी पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा ब्याजदर’ विषयक अन्तक्र्रियामा राष्ट्र बैंकका प्रतिनिधि नविन्द्र विष्टले ब्याज र ऋणको अन्तर (स्प्रेड) दरबाहेक किटान गरेर सहकारी संस्थाका लागि ब्याजदर  निश्चित गर्न नसकिने बताए।

नेपाल राष्ट्र बैंकले साउन ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकका लागि ४.४ प्रतिशत स्प्रेड दर तोकेको छ। गत वर्षभन्दा यस वर्ष राष्ट्र बैंकले ०.६ प्रतिशत बिन्दुले स्प्रेड दर घटाएको हो। गत वर्षको स्प्रेड दर पाँच प्रतिशत थियो।

नेपालमा झण्डै ३५ हजार सहकारी  संस्था भएकामा लगभग २२ हजारले वित्तीय कारोबार गर्दै आएका छन्। बचत तथा ऋण परिचालन गर्न सहकारीले थोरैमा ११ प्रतिशतदेखि बढीमा २३ प्रतिशतसम्म  ब्याज असुल्ने गरेको बताइन्छ। नेपालको मुलुकी संहितामा भने १० प्रतिशतभन्दा बढी ब्याज असुल्न नपाइने उल्लेख छ।  

पछिल्लो तथ्यांकअनुसार नेपालका सहकारी संस्थासँग झण्डै सात खर्ब पुँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार पाउनुका साथै ६३ हजार व्यक्ति सहकारीमा आबद्ध छन्। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले माग र आपूर्तिलाई केन्द्रबिन्दुमा राख्दै सबैको हित अनुकूल हुने गरी साझा सहमतिमा सहकारी संस्थाले छिट्टै ब्याजदर तोकिने बताए।

सहकारी ऐन, २०७४ मा सहकारी संस्थाले ब्याजदर निश्चित गर्नुपर्ने उल्लेख छ। ऐन जारी भएको झण्डै चार वर्ष पुगिसक्दा समेत ब्याजदरमा एकरुपता कायम गर्न नसक्नाले सहकारीप्रति जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो। ‘सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहाल, भक्तपुर सहकारी संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले पहिले बचतको ब्याज निश्चित भएपछि मात्र ऋणको ब्याजदर तोक्नुपर्ने सुझाव दिए।रासस
 

प्रकाशित: १५ श्रावण २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App