१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

५० प्रतिशत भन्सार छल्न खोज्दा विटुमनका ट्रक भन्सारमा

काठमाडौं – बिटुमिन आयातकर्ताले ५० प्रतिशत भन्सार छली गर्ने नियतले इरानको विटुमिनलाई दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) अन्तर्गतका मुलुकको भन्दै आयात गर्न खोजेको फेला परेको छ।

सरकारले साफ्टा अन्तर्गतका मुलुकमा उत्पादित विटुमिनलाई ७. ५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ। अन्य मुलुकमा उत्पादित विटुमिनलाई भने १५ प्रतिशत भन्सार महसुल लाग्छ।

बिटुमिन आयातकर्ताले इरानमा उत्पादित कमसल खालको बिटुमिन आयात गरी साफ्टामा आबद्ध मुलुकको उत्पादन भन्दै भन्सार महसुल छल्न खोजेका थिए। सरकारले व्यवसायीको नियत फेला पारेपछि भन्सार परिसरमा विटुमिन बोकेका ट्रक रोकिएका हुन्।

बिटुमिन आयातकर्ताले इरानबाट ल्याएको कमसल खालको बिटुमिन साफ्टा मुलुकबाट ल्याएको किर्ते कागज पत्र देखाएर भन्सार महसुल शुल्क छुट लिन खोजेसँगै बिटुमिनको गाडी प्रवेशमा रोक लगाइएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिविर घिमिरेले बताए।

‘बिटुमिन आयातकर्ताले इरानबाट ल्याएको कमसल सामानमा साफ्टाको सुविधा खोजेकाले रोक लगाएका हौं,’ उनले भने, ‘भन्सार जाँचको क्रममा बिटुमिन आयातकर्ताले इरानबाट ल्याएको बिटुमिन साफ्टा मुलुकबाट ल्याएको कागजपत्र पेस गरेकाले रोक लगाउन बाध्य भएका हौं।’

विभागका अनुसार गत जेठदेखि इरानबाट आयातित बिटुमिनमा आयातकर्ताले १५ प्रतिशत भन्सार नबुझाएका कारण रोकिएको हो। सूचना अधिकारी घिमिरेले बिटुमिन आयातकर्ताले १५ प्रतिशत भन्सार महसुल तिरको खण्डमा जाँचपास हुने बताए। ‘बिटुमिन आयातकर्ताको कर छली गर्ने नियत देखियो,’ उनले भने, ‘साफ्टाबाहेकको मुुलुकबाट ल्याएको बिटुमिन १५ प्रतिशत भन्सार तिरे सहजै पास हुन्छ।’ उनका अनुसार भारतीय आयल नियम (आइओसी) ले भारतबाहिरका मुलुकमा उत्पादन भएको बिटुमिन भारतको भन्दै बेचविखन भएको पत्र भन्सार विभागलाई पठाएसँगै आयातमा कडाइ गरिएको हो।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य मंगल शाही नेपालमा छयापछयाप्ती कमसल बिटुमिनका कारणले लामो समयसम्म कालोपत्रे नटिक्ने बताउँछन्। ‘कलसल खालको बिटुमिनले कालोपत्रे लामो समय नटिक्ने समस्या ल्याउँछ,’ उनले भने, ‘सरकारले बिटुमिनको मापदण्ड र गुणस्तर तोकेर मात्रै आयात गर्न दिनुपर्ने भइसक्यो।’

महासंघका अध्यक्ष रवि सिंहले बिटुमिन आयातमा भएको समस्याले निर्माण क्षेत्र प्रभावित भएको बताए। ‘जेठदेखि बजारमा पर्याप्त बिटुमिन पाइएको छैन,’ उनले भने, ‘यसले निर्माण कार्य प्रभावित भएको छ।’ अध्यक्ष सिंहले सरकारले बिटुमिन आयातमा देखिएको समस्या सल्टाएर निर्माण कार्य अबिलम्ब अघि बढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘अहिले अत्यधिक मात्रामा पिच गर्ने समय हो। तर, बजारमा पर्याप्त बिटुमिन अभाव भएकाले समस्या देखिएको छ,’ उनले भने, ‘बिटुमिन आयातकर्तामा देखिएको समस्या तत्कालै सल्टाएर निर्माण कार्य अघि बढाउनुपर्ने देखिन्छ।’

बिटुमिन अभावले काठमाडौं उपत्यकामा सडक तथा हुलाकी राजमार्ग कालोपत्रे गर्न समस्या भएको निर्माण व्यवसायीले गुनासो गरेका छन्। आर्थिक वर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेको समस्याले देशभरका निर्माण व्यवसायी ठूलो आर्थिक मारमा परी राज्यकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १३ असार २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App