२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

‘मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम’

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदले उठाएको विषयको जवाफ दिँदै उनले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताए ।

चालु आवको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए । सबै प्रदेशमा ६ प्रतिशतभन्दा बढी वृद्धिको अनुमान गरिएको उनले बताए । सातै प्रदेशको आर्थिक वृद्धिदर बढी नै भइरहेको मन्त्री खतिवडाले बताए । ‘समानीकरण अनुदान बढी पाउने कर्णाली प्रदेश, प्राकृतिक स्रोत बाँडफाँटको विषय हामीले टुंग्याइसकेका छैनौं,’ उनले भने ।

कृषिमा एकीकृतरुपमा धेरै कार्यक्रम आएको, रासायनिक मल कारखाना प्राकृतिक ग्यासबाट चलाउन विदेशबाट पाइपलाइन ल्याउनुपर्ने भएकाले तत्काल सम्भव नभएको उनले बताए । प्राविधिक कारणले पनि यसमा अघि बढ्न नसकिने मन्त्री खतिवडाको भनाइ थियो ।

चालू खर्चमा विकास कार्यक्रम पनि हुने संघले प्रदेश र स्थानीय तहमा चालू खर्च भनेर दिए पनि विकास खर्च नै हुने मन्त्री खतिवडाले स्पष्ट पारे । चालू खर्चभित्र मानवीय पुँजी विकासका तालीमलगायत हुने उनको भनाइ थियो । सहुलियतपूर्ण वैदेशिक सहायता लिने गरिएकाले सही उपयोग एवम खर्च गरी निर्भरता घटाउँदै लैजानुपर्ने र राजस्व बढाउँदै जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ । दायित्व बढी भएका स्थानमा बजेट पनि त्यही अनुपातमा हुने भएकाले तल बजेट बढाउन दायित्वसमेत वृद्धि गर्नुपर्ने उनले बताए । सहुलियतपूर्ण ऋणलगायत आयोजना उद्देश्य पूरा नभएसम्म चलिरहन्छ । राष्ट्रियसभाको अर्को बैठक आगामी असार २ गते दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App