२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

शिक्षा र स्वास्थ्यमा लगानी बढाए दोहोरो अंकको वृद्धि : विश्व बैंक

काठमाडौं - नेपालले स्वास्थ्य र शिक्षामा लगानी बढाए दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने दातृ निकाय विश्व बैंकले जनाएको छ। विश्व बैंकले राजधानीमा बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्ण मात्रामा सुधार ल्याउन सके आर्थिक क्षेत्रमा फड्को मार्ने जनाएको हो। ‘नेपालसँग आर्थिक वृद्धिदर दोहोरो अंकले बढाउन सक्ने सामथ्र्य छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो पूरा गर्न सम्पूर्ण जनतामा पूर्ण शिक्षा र स्वास्थ्यको व्यवस्था हुन जरुरी देखिन्छ।’ विश्व बैंकले उत्पादकत्व र श्रम क्षेत्रलाई प्रतिस्पर्धात्मक गराएर नेपाल मध्यम आय राष्ट्रको स्तरमा उक्लिन सक्ने औंल्याएको छ।  

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री किनी जेमेनरीले नेपालले विश्वलाई सुहाउने खालको मानव पुँजीको विकास गर्नु जरुरी रहेको बताइन्। ‘जनतामा लगानी गर्नुहोस् ता कि नेपालका सबै नागरिक पूर्ण शिक्षा र स्वास्थ्यलाई पूर्ण क्षमतामा प्रदर्शन गर्न सक्षम होऊन्। उच्च वृद्धि र प्रतिस्पर्धालाई बढावा दिनको लागि यो महŒवपूर्ण हुनेछ,’ उनले भनिन्, ‘यसले सेवाको पहुँचमा असमानता कम गर्न र सेवाको गुणस्तर सुधार गर्न महŒवपूर्ण भूमिका खेल्नेछ।’ अर्थमन्त्री युवराज खतिवडाले सरकारले  बालबालिका र युवाको विकासलाई प्राथमिकतामा राखेको बताए। ‘हामी युवापुस्तालाई उत्पादनशील क्षेत्रका साथै विश्व बजारमा काम गर्न सक्ने स्तरको बनाउन लागिरहेका छौं,’ उनले भने, ‘युवापुस्तालाई विश्व बजार अनुसार तयार पार्न सकेमा विश्वका जुनसुकै मुलुकमा पनि प्रतिस्पर्धा गर्न सक्नेछन्।’

अर्थमन्त्री खतिवडाले सरकारले लगानीमैत्री वातावरण बनाउँदै आएको बताए। ‘हामीले वैदेशिक लगानी आकर्षित गर्न विभिन्न नीतिगत सुधारका काम गरिसकेका छौं,’ उनले भने, ‘वैदेशिक लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनिसकेको छ।’ उनका अनुसार आगामी आर्थिक वर्षको बजेटमा समेत शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गर्न खोजिएको छ।

विश्व बैंकको प्रतिवेदनले नेपालले आर्थिक विकासको लागि जतिसक्दो धेरै निर्यात गर्नुपर्नेमा जोड दिएको छ। ‘नेपालले जति धेरै वस्तु निर्यात गर्न सक्छ। सोही अनुसार नै तीव्र गतिमा आर्थिक वुद्धिदर हासिल गर्न सक्ने देखिन्छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, ‘आयात घटाउँदै निर्यातमा केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ।’
दोस्रो अद्यावधिक प्रतिवेदनले परियोजनामा ६.५ प्रतिशतको दरले कुल गार्हस्थ उत्पादन (जिडिपी) बढ्ने बताएको छ। नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस ह्याडड जुभसले नेपालले पछिल्लो समय लगानीमैत्री वातावरणको लागि धेरै सुधार गरेको बताए।‘नेपालले लगानीमैत्री वातावरण बनाउन धेरै सुधारको प्रयत्न गरेको छ। जुन निकै प्रसंशनीय छ,’ उनले भने, ‘आर्थिक वृद्धिदरको लागि निजीक्षेत्रसँग उत्तिकै साझेदारी गर्दै अघि बढेर अपेक्षाकृत लक्ष्य हासिल गर्न सहज हुनेछ।’उनका अनुसार नेपालले दिगो आर्थिक वुद्धिका लागि निर्यातमा जोड दिँदै दीर्घकालीन विकासको योजना अघि सार्नुपर्छ।

नेपालको मुद्रास्फीति दर ५ प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ। ‘मुद्रास्फीति कम हुने अपेक्षा गरिएको छ। तर, भविष्यमा स्थिर मुद्रा, विद्युत् आपूर्ति लगायत योजनाले कम गर्न सकिनेछ। विश्व बैंकले चालु अर्थिक वर्षमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने पक्षेपण गरेको छ। उक्त आर्थिक वृद्धिदर हात पार्न सेवा र कृषि क्षेत्रको महŒवपूर्ण भूमिका रहने जनाएको छ। ‘आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सेवा क्षेत्रले महŒवपूर्ण भूमिका खेल्ने देखिन्छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा सेवा र कृषि क्षेत्रको  सहायताले मात्रै आर्थिक वृद्धिदर हासिल गर्न सकिनेछ।’

मानव पुँजीको विकासमा लाग्नुप-यो
सरकारले मानव पुँजीको विकासको लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन्। विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी विज्ञले नेपालले विश्व बजार सुहाउँदो जनशक्ति उत्पादन गर्नुपर्ने माग गरेका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले मानव पुँजीको विकासको लागि सरकारले दीर्घकालीन योजना अघि सार्नुपर्ने बताए। ‘अहिले नेपालले विश्व बजारमा खपत हुने खालको मानव पुँजीको विकास गर्न जरुरी छ,’ उनले भने, ‘मुलुक संघीयतामा गइसकेकाले तीनवटै सरकारले मानव पुँजीको विकासको लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ।’
उनका अनुसार अदक्ष कामदारको रुपमा मात्रै नेपाली जनशक्ति खपत भइरहेको छ। यसलाई हटाएर दक्ष जनशक्ति उत्पादन गर्नु जरुरी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले सरकारी निकायबीच समन्वय अभावले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको बताइन्। ‘हाम्रोमा अन्तरमन्त्रालय सहकार्य गर्ने परिपाटी छैन,’ उनले भनिन्, ‘जसले गर्दा स–साना समस्या पनि जटिल समस्याको रुपमा देखिँदै आइरहेका छन्।’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पुष्कर बज्राचार्यले नेपालले बर्सेनि लाखौं अदक्ष जनशक्ति विदेश पठाउँदै आइरहेको बताए। ‘नेपालले विश्व बजारमा दक्ष कामदार पठाउन सके धेरै रेमिट्यान्स भित्रिन्थ्यो,’ उनले भने, ‘नेपालमा नै कामदारलाई दक्ष बनाएर पठाउन सके धेरै हदसम्म व्यवस्थित हुन्थ्यो।’

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App