७ वैशाख २०८१ शुक्रबार
अर्थ

अन्तःशुल्क असुली राम्रो, भन्सार र भ्याट घट्यो

वीरगन्ज - वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा साढे १३ प्रतिशतले कम असुली भएको छ। मुलुककै प्रमुख नाकामा रहेको यस भन्सारले आर्थिक वर्षको १० महिनादेखि विभागले दिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन।

वीरगन्ज भन्सार कार्यालयले वैशाख महिनासम्मको लक्ष्यको ८६.५४ प्रतिशतमा राजस्व संकलन गर्न सकेको छ। वैशाख महिनासम्म वीरगन्ज भन्सार कार्यालयलाई विभागले एक खर्ब ३९ अर्ब ७३ लाख आठ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले एक खर्ब २० अर्ब २९ करोड ५२ लाख ८८ हजार मात्र राजस्व संकलन गरेको छ। यो भनेको करिब  साढे १३ प्रतिशतले कम असुली हो।

वीरगन्ज भन्सार कार्यालयलाई लक्ष्यतिर उन्मुख हुन अन्तःशुल्कबाट प्राप्त हुने राजस्वले सघाएको छ। अन्तःशुल्क मात्र लक्ष्यभन्दा १०.३० प्रतिशतले नाघेको देखिन्छ। भन्सार महसुल ७३.५५ प्रतिशत र मूल्य अभिवृद्धि कर ८१.८३ प्रतिशत मात्र संकलन भएको छ। ५८ अर्ब ४९ करोड ७० लाख ५३ हजार लक्ष्य रहेको भन्सार महसुल मात्र ४३ अर्ब दुई करोड ३४ लाख ६१ हजार रुपैयाँ संकलन भएको छ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) ६१ अर्ब ९० करोड ९२ लाख ४४ हजार रुपैयाँ संकलनको लक्ष्य रहेकामा ५० अर्ब ६५ करोड ९२ लाख ८१ हजार मात्र उठेको छ। अन्तःशुल्क भने लक्ष्यभन्दा बढी उठेको छ। १८ अर्ब ५९ करोड ४४ लाख ४१ हजार लक्ष्य रहेकामा त्यसभन्दा १०.३० प्रतिशतले बढी

२० अर्ब ५० करोड ९७ लाख ७० हजार संकलन भएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले व्यापार घटेकाले त्यसको असर राजस्व संकलनमा परेको बताए। यस नाकाबाट आयात हुने गाडी, औद्योगिक कच्चा पदार्थलगायत वस्तु आयातमा कमी आएको छ। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ अस्थिर हुँदा आयातमा असर परेको आयातकर्ता बताउँछन्। भन्सार छलेर विभिन्न मालवस्तु चोरी पैठारी बढेकाले त्यसबाट समेत राजस्वमा मार परेको अनुमान गरिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App