१५ चैत्र २०८० बिहीबार
अर्थ

पुनर्निर्माणमा थप ४ खर्ब २९ अर्ब बजेट आवश्यक

काठमाडौं – भूकम्प पुनर्निर्माणका लागि अझै चार खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ। भूकम्पको चार वर्षको अवधिमा प्राधिकरणले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक(सीईओ) सुशील ज्ञवालीले अपुग बजेट अर्थमन्त्रालयसँग माग गरी पठाएको बताए। 

पुनर्निर्माणका लागि कुल नौ खर्ब ३८ अर्ब रकम लाग्ने उनले बताए। सोमध्ये आर्थिक वर्ष ०७४÷७५ सम्म कुल एक खर्ब ८६ अर्ब रुपैयाँ खर्च भएको छ भने चालु आर्थिक वर्षमा एक सय २३ अर्ब खर्चिने लक्ष्य प्राधिकरणको छ।

पुनर्स्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माण सक्ने कार्य योजनाका साथ प्राधिकरण अघि बढेको थियो।

‘सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिब दुई खर्र्ब परिचालन हुने अपेक्षा गरेका छौं,’ सीईओ ज्ञवालीले भने। पुनर्निर्माणका लागि बजेट नभएपछि पछिल्लो समय प्राधिकरण विकास साझेदारसँग सहयोग गर्न भनेको छ।

भूकम्पको चार वर्ष बित्दासम्म पुनर्निर्माण सक्न खर्च अभाव देखिएपछि विकास साझेदारहरूले थप सहयोग गर्ने बताएका छन्।

दातामध्ये विश्व बैंकले थप एक खर्ब रुपैयाँ सहयोग गर्ने बताएको छ। यस विषयमा छलफल भइरहेको ज्ञवालीले जानकारी दिए। उनले थपे, ‘दातृ निकायले पहिला प्रतिबद्धता गरेको भन्दा थप रकम सहयोग गर्ने इच्छा जाहेर गरेका छन्। एसियाली विकास बैंकले पनि थप सहयोगका लागि छलफल अघि बढाएको छ।’ 

भूकम्पका बेला विकास साझेदारहरूले चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर, दातृ निकायले जनाएका प्रतिबद्धतामध्ये ६७ अर्ब रुपैयाँ राहत र उद्धारमा काटिएको छ। सो रकममध्ये दुई खर्ब ६२ अर्ब सम्झौता भएको छ।

भारतीय एक्जिम बैंकले सहयोग गर्ने भनेको एक खर्बमध्ये २५ अर्ब अनुदान हो। यस विषयमा पनि विभिन्न चरणमा छलफल गरेर करिब १५ अर्ब जति खर्च गर्ने योजना प्राधिकरणले बनाएको छ।

 

प्रकाशित: १० वैशाख २०७६ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App