१६ चैत्र २०८० शुक्रबार
अर्थ

लक्ष्य भेट्न कठिन

काठमाडौं - सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्रयाउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ। पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि  टिकाटिप्पणी सुरु भएका छन्।

नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजार हाराहारी पर्यटक आएका छन्। सरकारले यो वर्ष (सन् २०१९) प्रचारप्रसार गरी आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको हो। एक वर्षको तयारीमा झण्डै दोब्बर पर्यटक आउने, नआउनेमा पर्यटन  व्यवसायी अलमलमा छन्। सरकारले चमत्कारिक काम गरेमात्र लक्ष्य फेला पर्ने उनीहरुको भनाइ छ।

पूर्वाधारको विकासबिना सरकारले लक्ष्य हासिल गर्न सक्ने आधार नदेखिएको र पूर्वाधार एकै वर्षमा तयार नहुने धारणा व्यवसायीको छ। पर्यटन व्यवसायी लिलाबल्लभ दाहालका अनुसार नेपाल पर्यटकीय गन्तव्यका हिसाबमा भरिपूर्ण देश हो। तर, ती गन्तव्य भ्रमणका लागि पर्यटकलाई सहज छैन। उनका अनुसार नेपालले हवाई कनेक्टिभिटी बढी देशमा गर्न नसक्दा ठूलो संख्यामा पर्यटक आउने सम्भावना छैन।

‘पर्यटक आउन सबैभन्दा पहिला आवश्यक पर्ने हवाई कनेक्टिभिटी हो,’ टानका पूर्वकोषाध्यक्षसमेत रहेका दाहालले भने, ‘नेपालले केही सीमित छिमेकी देशसहित ६ देशमा मात्रै हवाई सेवा थालेको छ। चीन, श्रीलंकालगायत देशबाट लाखौं पर्यटक भिœयाउन सकिने सम्भावना हुँदाहुँदै पनि नेपालले ती देशमा उडान गर्न सकेको छैन। यसले नेपालको पर्यटन बजार खुम्च्याएको छ।’

उनका अनुसार एकातिर नेपालसँग पर्याप्त जहाज छैनन् भने अर्कातिर भएकै जहाजलाई पनि पर्याप्त नउडाउँदा पर्यटन बजारलाई फड्को मार्न समस्या छ। सरकारले राम्रोसँग पूर्वतयारी नगरेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सम्भव नरहेको दाहालको भनाइ छ। अर्का पर्यटन व्यवसायी आङपेम्बा शेर्पा पनि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन असम्भव देख्छन्। ‘जताततै स्थानीय तहले कर थपेर पर्यटकलाई भार बढाइरहेका छन्,’ टानका महासचिवसमेत रहेका शेर्पाले नागरिकसँग भने, ‘पर्यटकीय हिसाबले नेपाल आउने पर्यटक खुसी नै रहे पनि प्रक्रियागत हिसाबले असन्तुष्ट छन्।’

उनका अनुसार विभिन्न बाधा अड्चनले पर्यटक खुसी भएर फर्किने वातावरण छैन। यसले पर्यटक आगमन घटाउँछ र सरकारले लक्ष्य फेला पार्दैन। सरकारले पर्यटकमैत्री वातावरण बनाउन नसकेको आरोप शेर्पाको छ। ‘नेपालमा २० लाख पर्यटक भिœयाउन गाह्रो छैन,’ उनले भने, ‘तर अहिलेकै अवस्था र वातावरणमा भने गाह्रो छ।’ उनले हुँदैन भनेर चुप बस्न नहुने र सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिए। ‘सरकारको लक्ष्यअनुसार टान पनि पर्यटन वर्षलाई सफल बनाउन सक्दो लागिपरेको छ,’ शेर्पाले भने।

पर्यटन बोर्डका सिइओ दीपकराज जोशीका अनुसार भ्रमण वर्ष सफल बनाउन बोर्डले धेरै कार्यक्रम अगाडि सारेको छ। ‘हामी भ्रमण वर्षको काममै केन्द्रित छौं। अहिलेको प्रमुख काम  प्रचारप्रसार हो,’ जोशीले भने। व्यवसायीले भने बोर्डले प्रचारप्रसारलाई जोड दिएको भने पनि त्यो पर्याप्त नभएको बताए। पर्यटन व्यवसायी आङबाबु शेर्पाले सरकारले प्रचारप्रसार नै गर्न नसकेको आरोप लगाए। ‘सरकारले धेरै गर्नै पर्दैन,’ उनले भने, ‘विमानस्थल, जहाजजस्ता पूर्वाधार तयार गरेर प्रचारप्रसारमा जोड दिए पुग्छ।’

उनका अनुसार कनेक्टिभिटीलाई जोड दिएर विभिन्न देशमा नेपालको प्रचारप्रसार बढाउन सकेमात्र २० लाख पर्यटक ल्याउन सम्भव छ। सर्वोच्च शिखर सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्ता ठाउँको प्रचार गर्न सकेमात्र पनि लाखौं पर्यटक बढ्छन्। व्यवसायीहरु नेपाल आउने २० लाख पर्यटकका लागि खाने, बस्ने र अन्य सुविधाको खासै समस्या नभएको बताउँछन्। नेपालमा एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो नभए पनि ज्यादै असजिलो पनि छैन। होटल एसोसिएसन नेपाल (हान)का महासचिव विनय शाह अहिलेकै अवस्थामा २० होइन, २५ लाख पर्यटक धान्न सक्ने अवस्था रहेको बताउँछन्। उनका अनुसार पर्यटनका लागि आवश्यक पूर्वाधार होटल बनाउन निजी क्षेत्रबाट लगानी भइरहेको छ। ‘पर्यटकलाई आवश्यक पर्ने हस्पिटालिटीका लागि निजी क्षेत्र सक्रिय छ,’ उनले भने, ‘तर पर्यटक भित्र्याउन सरकारी पूर्वाधार तयार गर्नु आवश्यक छ।’ उनका अनुसार सरकारले कनेक्टिभिटी र प्रचारप्रसारमा जोड दिए धेरै पर्यटक भित्र्याउन सकिन्छ। सन् २०२० मै २० लाख पर्यटक भिœयाउन भने सजिलो नभएको उनको अनुमान छ।

यसअघिका पर्यटन वर्षमा पनि सरकार लक्ष्यमा पुगेको थिएन। पर्यटन पूर्वाधारको विकास नगरी लक्ष्य तोक्दा सरकार असफल हुने गरेको अनुमान व्यवसायीको छ। सरकारले पहिलोपटक सन् १९९८ मा पर्यटन वर्ष मनाएको थियो। उक्त वर्ष पाँच लाख पर्यटक भिœयाउने लक्ष्य राखेकामा करिब चार लाख आएका थिए। यसैगरी, सन् २०११ को पर्यटन वर्षमा पनि १० लाखको लक्ष्य फेला परेको थिएन। त्यसबेला करिब आठ लाख विदेशी पर्यटक आएका थिए। सन् २०२० सरकारको तेस्रो प्रयास हो। सन् २०२० मा पनि १६ लाख हाराहारी पर्यटक नेपाल आउने अनुमान व्यवसायीको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App