१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडकखण्डमा पुल निर्माणको माग गरेका छन्। प्रतिनिधिसभाका सांसद् विशाल भट्टराईको नेतृत्वमा बुधबार गएको नगरका अगुवासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसमक्ष पुल निर्माणका लागि बजेट मागेको हो।

टोलीले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको कुनइ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाट ख्रोप्पास्थित सुनकोसीमा पक्की पुल निर्माण गर्न बजेट माग गरेको छ। उक्त पुल निर्माण भए तराईबाट सिधै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, ओखलढुंगा हुँदै खुम्बु–सगरमाथासम्म पुग्ने सबैभन्दा छोटो मार्ग खुल्नेछ।  खोटाङतर्फ मध्यपहाडी लोकमार्गको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको दलस्वरचोकदेखि सुनकोसीको बतासेघाट जोड्ने होलेसुङ जनकराज राई मार्ग (१३.२७ किलोमिटर) निर्माण भइसकेको तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकातर्फबाट पनि सुनकोसी नदीसम्म सडक निर्माण भइसकेकाले सांसद भट्टराईको नेतृत्वमा पुलका लागि बजेट छुट्याउन माग राखिएको दुर्छिमका बुद्धिजिवी भूपेन्द्रकुमार राईले बताए।

प्रस्तावित पुलले १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको राजधानी जोड्ने द्रूतमार्ग खोल्ने छ। ‘सुनकोसीको दुबै किनारासम्म सडक बनिसकेको छ। मोटरेबल पुल बन्ने बित्तिकै तराईबाट सिधै हलेसी आउने छोटो मार्ग खुल्नेछ,’ होलेसुङ समूहका सदस्य राईले भने, ‘बतासेघाटमा पुल बन्ने बित्तिकै तराई हुँदै हलेसी आउने भारतीय दर्शनार्थी यही बाटोबाट हिँड्नेछन्।’ उनीहरुले हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको सिफारिससहित मन्त्रालय पुगेर पुलका लागि बजेटको माग गरेका हुन्।

सुनकोसीको दुबै किनारातर्फ सडक निर्माण भएको वर्षौं बिते पनि बतासेघाटमा पक्की पुलको अभाव छ। पक्की पुल अभावमा हाल स्थानीय झोलुंगे पुलमार्फत सुनकोसी वारपार गर्दै आएका छन्। सुनकोसीमा पुल बनेपछि हाल पूर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–लिम्चुङबुङ गाउँपालिकाको कुनाइ–हलेसी तुवाचुङ नगरपालिकाको होलेसुङ–जनकराज राईमार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने छ। यस्तै लिम्चुङबुङ गाउँपालिका, ताम्ली गाउँपालिका र रौतामाई गाउँपालिकाका १८ वडाका स्थानीयका लागि काठमाडौं आवतजावत गर्ने छोटो दुरीको सडक खुल्ने राईले बताए।

सप्तकोसीबाट सुनकोसी हुँदै -याफ्टिङ गरेर बतासेघाट उत्रेपछि होलेसुङ जनकराज राई मार्ग हुँदै पनि हलेसी पुग्न सकिने सम्भावना खुल्ने समूहले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको कृषि उत्पादनलाई सहरसम्म पु-याउनसमेत पुल उपयोगी हुने बताइएको छ। बतासेघाटमा पुल निर्माण भएपछि आवतजावत बाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक विकासमासमेत टेवा पुग्ने सांसद भट्टराईले बताए। सुनकोसी पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ। बतासेघाटमा पक्की पुल बनेपछि दार्जिलीङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ।

आफ्नो गाउँपालिकाका कतिपय स्थानीयले काठमाडौं जानेक्रममा उपयोग गर्दै आएको बतासेघाटमा पुल निर्माणका लागि लिम्चुङबुङ गाउँपालिकाका प्रमुख मेजर राईले गत साउन १९ गते भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयसमक्ष निवेदन दिएका थिए। सोही निवेदनका आधारमा मन्त्रालयले माघ १० गते राष्ट्रिय योजना आयोगको सचिवालयसमक्ष योजना समावेश गर्नका लागि पत्राचार गरेको थियो। गाईघाट र हलेसी जोड्ने सबैभन्दा छोटो रुट हुने भएकाले बतासेघाटमा पक्की पुल निर्माणमा पहल थालिएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख राईले बताए।

प्रकाशित: ६ वैशाख २०७६ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App