coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जोडिँदै

तल्लो हेवा जलविद्युत् आयोजनाको निर्माण स्थल।  तस्बिर: गिरिराज/नागरिक

पाँचथर - जिल्लाका तीन जलविद्युत् आयोजना उत्पादनको चरणमा पुगेका छन्। ५७ मेगावाटका यि आयोजनाको आन्तरिक अन्तिम परीक्षणको काम भइरहेको प्रवद्र्धक कम्पनीहरुले जानकारी दिएका छन्। वैशाखभरी यि आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्ने गरी तयार हुने उनीहरुको भनाइ  छ। 

२५ मेगावाटको कावेली वि–१, २२ मेगावाटको तल्लो हेवा र १० मेगावाटको इवाखोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जडान गर्नका लागि तयारी अवस्थामा पुगेका हुन्। यि आयोजनाबाट उत्पादन हुने विद्युत् अबको दुई महिनासम्ममा केन्द्रीय प्रसारणमा जडान गरिसक्ने योजना रहेको छ।  

आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणलाइन कावेली करिडोरमाफर्त केन्द्रीय प्रसारणमा जोड्नु पर्ने छ। तर कावेली करिडोरको काम सकिएको छैन। प्रसारणलाइन सकिने हो भने वैशाखभित्र नै विद्युत् उत्पादन थाल्न सक्ने अवस्था रहेको प्रवद्र्धक कम्पनीको भनाइ छ। 

फिदिमको थापाटारमा रहेको सबस्टेसनसम्मको काम सकिएर परीक्षण भइरहेको करिडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए। तल्लो हेवा जलविद्युत् आयोजना थापाटारको सबस्टेसनमा जोडिने छ। तर थापाटारदेखि अमरपुरसम्मको सबस्टेसनको काम भने अझै केही समय लाग्ने द्विवेदीले जानकारी दिए। यो सबस्टेसनमा कावेली वि–१ र इँवाखोला जलविद्युत् आयोजना जोडिने छ। जेठभित्रमा काम सकिने द्विवेदीले जानकारी दिए।

कावेली वि–१ विद्युत् उत्पादनको चरणमा पुगेको परियोजना निर्देशक रमेश न्यौपानेले जानकारी दिए। सबै काम सकिए पनि प्रसारणलाइन नहुँदा विद्युत् उत्पादन हुन नसकेको न्यौपानेले जानकारी दिए। चार अर्बमा सक्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत बढेर साढे चार अर्ब पुग्न लागेको न्यौपानले जानकारी दिए। उनका अनुसार समयमा विद्युत् उत्पादन गर्न नपाउदा बैंकको ब्याजले लागत बढाएको हो। यो आयोजनामा जिल्लाबासीले तीन वर्षअघि नै सेयर लगानी गरेका थिए।

अरुण कावेली हाइड्रो पावर कम्पनीले प्रवद्र्धन गरेको उक्त आयोजना जिल्लाको ठूलो आयोजनाभित्र पर्छ। याङवरक गाउँपालिकामा निर्माण स्थल रहेको छ। याङवरकको इवा र कावेली दोभानबाट पाँच किलोमिटर लामो पाइपलाइनमार्फत पिपले भन्ने ठाउँमा रहेको पावर हाउसमा पानी खसाएर विद्युत् उत्पादन गर्न लागिएको हो। आन्तरिक परीक्षण भइसकेको जानकारी दिइएको छ। प्रसारणलाइन कुरेर बसेको निर्देशक न्यौपानेले बताए।

२२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजनाको अन्तरिक टेस्टको काम भइरहेको आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए। उनका अनुसार वैशाखभित्र यहाँबाट विद्युत् उत्पादन हुने छ। थापाटारसम्मको प्रसारणलाइनको काम सकिन लागेकाले एक महिनामा विद्युत् केन्द्रीय प्रसारणमा जोड्न सकिने उनको भनाइ छ। माउन्टेन हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको आयोजना तीन अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। यो बढेर चार अर्ब पुग्ने देखिएको सुब्बाले जानकारी दिए। हेवा खोला र फेमे खोलाको पानी ५.३ किलोमिटर लामो सुरुङबाट सेतीखोला बेंसीमा पानी खसालेर विद्युत् उत्पादन हुने भएको हो।

रैराङ हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको १० मेगावाटको इवाखोला जलविद्युत् आयोजन पनि विद्युत् उत्पादनको तयारीमा छन्। आन्तरिक परीक्षण भइरहेको र केही सातामा विद्युत् उत्पादनका लागि तयार हुने आयोजना प्रमुख कुवेरमणि नेपालले बताए। उनका अनुसार कावेली करिडोरको प्रसारणलाइनको काम कुर्नुपर्ने अवस्था छ। शिवा र इँवाखोला दोभानबाट तीन किलोमिटर लामो पाइपलाइन निर्माण गरी पावरहाउसमा पानी खसाइने छ। यो एक अर्ब ६० करोड लागतको आयोजना हो।

फिदिमको थापाटारसम्मको प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेकाले कावेली वि–१ र इँवा खेला जलविद्युत् आयोजनालाई भने अमरपुरसम्मको काम सकिनै पर्छ। केही दिनमा थापाटारसम्मको काम पूरा हुने आयोजना प्रमुख  द्विवेदीले जानकारी दिए। जेठ मसान्तभित्र काम जसरी पनि सक्ने गरी काम भइरहेको द्विवेदीले बताए। लामो समयदेखि प्रसारणलाइनको काममा ढिलाइ भइरहेको थियो। 

प्रकाशित: ४ वैशाख २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App