७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुबईमा महँगोमा होटल कोठा लिने सम्झौता

काठमाडौं - नेपाल वायुसेवा निगमले क्याबिन क्रु (जहाजका कर्मचारी) राख्न बढी मूल्यमा दुबईको होटलसँग सम्झौता गरेको फेला परेको छ।

दुबईको हिल्टन गार्डेन होटलले अनलाइनमा राखेको दररेटभन्दा निगमले महँगोमा सम्झौता गरेको हो। सामान्यतः एक दिनका लागि कोठा भाडामा लिनेलाई भन्दा लामो समय लिनेलाई होटलहरुले सस्तोमा दिन्छन्। तर, निगमसँग झन् महँगो भाडा लिने सम्झौता छ।

निगमले गत जनवरीमा आफ्ना जहाजका आठ क्याबिन क्रु राख्न दुबईस्थित हिल्टन गार्डेन इन दुबई अल मुरकावात होटलसँग ६ वटा कोठा दुई वर्षका लागि भाडामा लिने सम्झौता गरेको हो। निगम स्रोतका अनुसार ६ वटा कोठा प्रतिदिन प्रतिकोठा तीन सय ८५ दिराम तिर्ने गरी सम्झौता गरिएको छ। तर, होटलले अनलाइन बुकिङमा राखेको सबैभन्दा महँगो ‘किङ रुम’को दररेट नै निगमसँग सम्झौता गरेको सामान्य कोठाभन्दा कम छ। होटलले किङ रुमको दर ब्रेकफास्टसहित एक रातको तीन सय दिराम राखेको छ।  

निगमले सम्झौता गरेको कोठामा एउटा ‘सुपेरियर किङ रुम’ छ। जसमा जहाजका क्याप्टेन बस्छन्। त्यसैगरी, ‘डबल रुम’ तीनवटा छन्। तीमध्ये एउटामा एकजना को–पाइलट र बाँकी दुईमा एक–एकजना क्याबिन क्रु बस्छन्। त्यसैगरी, ट्विन रुम दुइटा छन्। तीमध्ये एउटा रुममा दुई–दुईजनाका दरले चारजना एअरहोस्टेस बस्छन्।

निगमले फरक–फरक रुम एउटै दरमा लिएको हो। नागरिकले विभिन्न मिति राखेर बुकिङ डटकममार्फत उक्त होटलका ती रुपमको मूल्य बुझ्दा दुई सय, दुई सय ५० र तीन सय दिराम हाराहारीमा दिने जनाएको छ। निगम अधिकारीका अनुसार एउटा मात्रै उत्कृष्ट (किङ) रुम लिएर बाँकी पाँच सामान्य रुम लामो समयका लागि भाडामा लिन सम्झौता गर्दा सस्तो पर्नुपर्नेमा निगमलाई झनै महँगो पर्न आएको छ। स्रोतका अनुसार कमिसन लिन बढी मूल्यमा सम्झौता गरिएको हो।

सम्झौतामा तीनमध्ये एउटा कोठामा बस्नेका लागि खाना खुवाउने उल्लेख छ। बफे खाना खुवाउने सम्झौता भए पनि होटलले सामान्य खाना खुवाउने गरेको क्याबिन क्रुका एक सदस्यले जानकारी दिए। कमिसनका कारण निगममा अपरेसन डाइरेक्टर बनेर आउनेको प्राथमिकतामा होटल सम्झौता पर्ने गरेको दाबी स्रोतको छ। अपरेसन म्यानुअलमा क्याबिन क्रुका लागि पाँचतारे होटल लिनुपर्ने उल्लेख छ। तर, निगमले अहिले लिएको होटल भने चारतारे हो। चारतारेसँग पनि अघिल्लोपटक लिएको पाँचतारेकै मूल्य बराबरमा सम्झौता गरेको छ। अघिल्लोपटक निगमले दुबईकै पाँचतारे होटल रोडा अल बुस्तानसँग सम्झौता गरेको थियो। उक्त पाँचतारे होटलले ६ वटा रुम तीन सय ९० दिरामका दरले उपलब्ध गराएको थियो।

निगमले यसपटक म्यानुअललाई मिचेर चारतारे होटलसँग सम्झौता गर्दा पनि महँगोमा गरेकाले निगमकै कर्मचारीले असन्तुष्टि जनाएका छन्। अर्कोतिर होटल पनि सुविधासम्पन्न नभएको गुनासो क्याबिन क्रुका सदस्यको छ। निगम भने अपरेसन म्यानुअलमा पाँचतारे भए पनि निगमको आर्थिक विनियमावलीमा निगमले पाँचतारेभन्दा तल्लो स्तरको होटलमा राख्न पाउने व्यवस्था रहेको बताउँछन्। त्यसैगरी, महँगो र सस्तोको सिलसिलामा भने कोटेसन लिएर प्रतिस्पर्धाबाटै होटलसँग सम्झौता गरेको निगमको भनाइ छ।

सम्झौता गर्ने अपरेसन विभागका प्रमुख आरके शेरचन भने महँगो मूल्यमा नभएर निगमलाई नाफा हुने गरी सम्झौता गरेको बताउँछन्। ‘अघिल्लोपटक तीन सय ९० दिराममा सम्झौता गरिएकामा यसपटक तीन सय ८५ मा सम्झौता गर्दा प्रतिरुम दैनिक पाँच दिराम भए पनि निगमलाई नाफा भएको छ,’ उनले भने, ‘त्यसैले हिसाब गर्ने कि, होटलले कतिमा रुम बेचिरहेको छ भनेर हेर्ने ?’ उनका अनुसार कोटेसन लिएर प्रतिस्पर्धामा कम कोटेसन दाबी गर्नेसँग सम्झौता गरिएकाले शंका गर्ने ठाउँ छैन। 

निगम स्रोत भने महँगो मूल्यमा होटलसँग सम्झौता गरेर प्रतिरुम दैनिक निश्चित कमिसन चाहिँ उनले बुझिरहेको दाबी गर्छ। स्रोतका अनुसार एक रुम बराबर एक सय दिराम बुझ्दा ६ रुमको ६ सय दिराम हुन्छ। उक्त रकम भनेको नेपाली १८ हजार हुन्छ। स्रोतको दाबीअनुसार दैनिक निगमका कर्मचारीले १५ देखि २५ हजारको बीचमा होटलबाट कमिसन लिने गरेका छन्। यो क्रम सम्झौता अवधिभर रहन्छ। 

प्रकाशित: ४ वैशाख २०७६ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App