coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन दिनभित्र ब्याज तिर्न उर्दी

काठमाडौं-बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर लिएको ऋणको ब्याज बुझाउन तीन दिनको समय दिएका छन्। वित्तीय संस्थाले चैत २९ भित्र ब्याज तिर्न लिखित रुपमै दबाब दिएपछि बचत नहुने लगानीकर्ताले बाध्य भएर सेयर बिक्री गरेका छन्। यही कारण मंगलबार सेयर बजारको सूचक नेप्से १०.५८ बिन्दुले घटेको छ । सेयर लगानीकर्ता संघका महासचिव जगन्नाथ पुडासैनीले बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको ब्याज भुक्तानी गर्न तीन दिनको समय दिएर पत्र पठाएको नागरिकलाई जानकारी दिए। चैत चालु आवको दोस्रो त्रैमासिक किस्ता तिर्ने महिना हो। दोस्रो त्रैमासिकको ब्याज यही अवधिभित्र असुली गर्न वित्तीय संस्थाले ऋणीलाई पत्र पठाएका हुन्। सेयर बिक्री गरेको पैसा तीन कार्य दिनभित्र फरफारक गर्ने व्यवस्था छ। मंगलबार बिक्री गरेको रकम २९ चैतमा लगानीकर्ताको हातमा पर्ने र त्यसै दिन वित्तीय संस्थाको ब्याज तिर्न पनि सकिने भएकाले सेयर बिक्रीमा चाप परेको हो। 

‘ब्याज तिर्न मंगलबार अन्तिम समयमा सेयर बिक्रीको चाप निकै देखियो,’ उनले नागरिकसँग भने, ‘त्यसैको प्रभावले  नेप्से ओरालो लागेको हो।’ सेयर बजार घट्नुको प्रमुख कारण नै सेयर बिक्री गरेर ब्याज तिर्न रकम निकाल्दाको परिणाम भएको उनको भनाइ छ।
योसँगै केही दिनअघि निरन्तर बढेको नेप्से फेरि ओरालो लाग्ने हो कि भन्ने मनोवैज्ञानिक असर लगानीकर्तामा परेको पुडासैनीको तर्फ छ। नाफा बुक गर्न थाल्दा पनि सेयर बिक्रीको चाप परेको उनको बुझाइ छ। बैंकले चैत मसान्तभित्र ब्याज तिर्न दबाब दिएपछि लगानीकर्ताले सेयर बिक्री गर्न थालेका हुन्। बैंक, वित्तीय संस्थाहरू अहिले चैतसम्मको वित्तीय विवरण प्रकाशित गर्ने तरखरमा छन्। त्यसअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता सेयर लगानीकर्तालाई छ।
मंगलबार नेप्से १०.५८ बिन्दुले ओरालो लागेको छ। सोमबार १२ सय नजिक पुगेको नेप्से ओरालो लागेर ११८१.१० बिन्दुमा आइपुगेको छ।
सेयर बजारमा चैत मसान्तकोे प्रभाव परेको ब्रोकर बताउँछन्। ‘बैंक, वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ता सेयर खरिद गर्नेतिरभन्दा बिक्री गर्नेतिर लागेका छन्,’ एक ब्रोकरले भने, ‘बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण पनि सेयर बजारमा गिरावट आएको छ।’ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा निश्चित समयावधिमा असुल नभए राष्ट्र बैंकले नोक्सानीमा राख्नुपर्ने व्यवस्था गरेको छ। त्यसैले पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा तीव्रता दिएका छन्। 

नेप्से ओरालो लाग्नुको एउटा कारणमा चैत मसान्तको प्रभावलाई लिने गरिन्छ। नेप्से परिसूचक यो साताको तेस्रो दिन घट्नुले  पनि लगानीकर्ता ब्याजको दबाबमा परेको संकेत दिन्छ। बैंक, वित्तीय संस्थाले १३–१५ प्रतिशत ब्याजदरमा सेयर धितो राखी लगानीकर्तालाई ऋण दिएका छन्। सुरक्षित लगानी भन्दै वित्तीय संस्थाल सेयर धितोमा ऋण लगानी गरिरहेका छन्। सेयर बजारमा गिरावट आउनुमा ब्याज भुक्तानीको कारणमात्र नभएको सेयर विश्लेषक बताउँछन्। विभिन्न कम्पनीको प्राथमिक सेयर (आइपिओ), हकप्रद सेयर बजारमा आएकाले पनि लगानी त्यतातिर केन्द्रित भएको उनीहरुको तर्क छ। तत्कालका लागि बजार घटे पनि यसको असर लामो समय नरहने ब्रोकरहरुको भनाइ छ। आर्थिक परिसूचकहरू सकारात्मक रहेकाले बजार घट्ने सम्भावना कम रहेको विज्ञहरुको बुझाइ छ।
‘प्रतिफललगायत लगानीका लागि चाहिने सबै परिसूचक सकारात्मक भएकाले बजार घट्नुपर्ने कारण छैन,’ एक विज्ञले भने, ‘अन्य देशका सेयर बजार उकालो लागिरहँदा नेपालको घट्नुपर्ने अवस्था छैन।’ सामान्यतया यो समयमा कम्पनीको कुनै प्रगतिको विवरण नआउने भएकाले बजारमा त्यसको असर देखिएको हो।
अधिकांश कम्पनीले साधारणसभा सकेको र उनीहरूले उपलब्ध गराउने लाभांश पनि वितरण गरिसकेकाले थप प्रतिफल पाउन अझै ६ महिना पर्खनुपर्ने अवस्था छ। यसले पनि सेयर बजारलाई केही हदसम्म प्रभाव पारेको सेयर विश्लेषक बताउँछन्। छोटो समयका लागि खरिद गर्ने लगानीकर्ताले सेयर बिक्री गरिरहेको र दीर्घकालीन लगानीकर्ताले बजार घट्नुलाई अवसरको रूपमा लिएर सेयर खरिद गरिरहेको ब्रोकरहरूको भनाइ छ।
बैंक, वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने धेरै भएकाले ब्याज तिर्नका लागि सेयर बिक्री गर्दा बजार घटेको विश्लेषकहरू बताउँछन्। संस्थागत लगानीकर्ताको प्रभाव नभएसम्म यस्तो समस्या देखिइरहने उनीहरूको भनाइ छ। आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय वितरणमा अधिकांश कम्पनीले नाफा वृद्धि भएको र तेस्रो त्रैमासमा पनि कम्पनीहरूको वित्तीय विवरण राम्रो आउने सम्भावना भएकाले बजार धेरै नघट्ने विश्लेषकको भनाइ छ। 

 

प्रकाशित: २७ चैत्र २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App