४ वैशाख २०८१ मंगलबार
अर्थ

क्लिंकर आयात घट्दा भन्सार राजस्व प्रभावित

कपिलवस्तु- सिमेन्ट कच्चा पदार्थ क्लिंकरको आयात आधाभन्दा बढी घटेपछि नेपालकै प्रमुख १० नाकामा पर्ने कृष्णनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ। क्लिंकरको आयात घटेपछि राजस्वसमेत आधाभन्दा बढी घटेको हो।

गत वर्ष साउनदेखि फागुन मसान्तसम्म कृष्णनगर नाकामा क्लिंकरबाट सवा अर्बभन्दा बढी राजस्व उठेको बिष्णु प्रसाद पौडेलले बताए। यस वर्ष क्लिंकरको आयात भने ह्वात्तै घटेकाले त्यसको असर राजस्वमा परेको उनले बताए। साउनदेखि फागुन मसान्तसम्म लक्ष्यको ४१ प्रतिशत मात्र राजस्व संकलन भएको छ। गत वर्ष यही समयमा झन्डै लक्ष्यको ५५ प्रतिशत राजस्व उठेको थियो। भन्सार कार्यालयको तथ्यांकअनुसार भदौ र असोजमा मात्रै करिब लक्ष्यबराबरको राजस्व उठेको छ। भदौ महिनामा ९३.५८ प्रतिशत राजस्व उठेको थियो भने असोज महिनामा ९९.५८ प्रतिशत राजस्व उठेको थियो।

भदौमा ६१ करोड ५७ लाख र असोजमा ५५ करोड ६३ लाख राजस्व उठेको थियो। यी दुई महिनामा चाडपर्व पर्ने भएका कारण लक्ष्यअनुसारको राजस्व उठ्न सफल भएको भन्सार कार्यालयले जनाएको छ। अन्य महिनामा लक्ष्यको आधा मात्र राजस्व उठेको तथ्यांकले देखाउँछ। साउनदेखि फागुनसम्म यता कुनै पनि महिनामा लक्ष्यअनुसारको राजस्व उठेको छैन।

फागुनमा त झन लक्ष्यको ३९ प्रतिशत  अर्थात २८ करोड ३५ लाख मात्र राजस्व संकलन भएको छ।  यस भन्सार  कार्यालयले आठ अर्ब ७२ करोड बराबरको राजस्व उठाउने लक्ष्य तोकिएको छ। गत आवमा चार अर्ब १३ करोड राजस्व उठाउने लक्ष्य थियो भने ६ अर्ब ३१ करोड बराबरको राजस्व उठेको थियो।

साउनदेखि फागुन मसान्तसम्म लक्ष्यको ४१ प्रतिशत मात्र राजस्व संकलन भएको छ। गत वर्ष यही समयमा झन्डै लक्ष्यको ५५ प्रतिशत राजस्व उठेको थियो।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विष्णुप्रसाद पौडेलले बितेका आठ महिनामा तोकिएको राजस्व उठाउन नसकिएको बताए। राजस्व तोकिएभन्दा कम उठेपछि विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए। ‘यस वर्ष लक्ष्यअनुसार राजस्व उठ्न गाह्रो देखिएको छ,’ भन्सार प्रमुख पौडेलले भने, ‘विभिन्न उद्योगीसँग यस विषयमा छलफल गरिरहेका छौं।’

कृष्णनगर भन्सारमा ९० प्रतिशत राजस्व क्लिंकरबाट उठ्ने गरेको छ। गत वर्षदेखि क्लिंकर उत्पादन नेपालमै हुन थालेपछि भारतबाट कम आयात हुने गरेको भन्सार कार्यालय को भनाइ छ। दाङ र नवलपारीमा क्लिंकर उत्पादन हुन थालेपछि आयात घटेको भन्सार प्रमुख पौडेल दाबी छ। ‘भारतभन्दा नेपालबाट क्लिंकर सस्तो पर्दो रहेछ,’ उनले भने, ‘त्यसले पनि राजस्व उठ्न गाह्रो भएको हो।’

गत वर्ष सुठौली छोटी भन्सार कार्यालयबाट पनि कृष्णनगरले राजस्व उठाउने गरेको थियो। तर, यस वर्ष छोटी भन्सार स्तरोन्नति भएर मूल भन्सार कार्यालय भएको छ। सुठौली भन्सारले अन्य चारवटा छोटी भन्सार हेर्ने गरेको छ। त्यसले पनि कृष्णनगर भन्सारमा राजस्व संकलनमा असर पुगेको कर्मचारी बताउँछन्।

भन्सार नाकाबाट सिमेन्टका कच्चापदार्थ (क्लिंकर), खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीको भनाइ छ। यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App