१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौं – झापाबाट फर्किंदा फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा प्रधानमन्त्री केपी ओली सवार जहाज आकाशमै ‘होल्ड’ भएपछि छानबिन गर्न बनेको समितिले कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

जहाज होल्ड हुनुमा जिम्मेवार निकायले संवेदनशीलता नअपनाएको, कर्मचारी गम्भीर नभएको र भिभिआइपी शब्दलाई भिआइपी मात्रै सुनेकाले जहाज होल्ड भएको भन्दै समितिले उक्त कार्यमा संलग्न विमानस्थल र एअरलाइन्सका कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

विमान होल्ड भएपछि छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। सोही समितिले पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा कर्मचारी विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

हवाई ट्राफिक भएको समयमा पनि अन्य जहाजलाई होल्डमा राखेर भिभिआइपीको उडान अवतरणलाई प्राथमिकता दिइन्छ। तर, त्यो दिन प्रधानमन्त्री सवार जहाज २० मिनेट आकाशमा अड्किएको थियो। प्रम ओली झापाको सुखानी काण्डका अगुवा मारिएको दिन पारेर गरिएको कार्यक्रममा पुगेर फर्किएका थिए। झापाको भद्रपुर विमानस्थलबाट यती एअरलाइन्सको जहाजमार्फत अपराह्न ५ः३० तिर काठमाडौं आइपुगेका ओली आकाशमै २० मिनेट अड्किनु परेको थियो।

प्रतिवेदन अनुसार भिभिआइपीको उडान यसरी अड्कनुमा चन्द्रगढी विमानस्थल र यती एयरलाइन्सको लापरबाही छ। चन्द्रगढी विमानस्थलका प्रमुख र टावर कन्ट्रोलरले टावरलाई भिभिआइपीको उडान रहेको जानकारी नगराउँदा जहाज होल्डमा परेको प्रतिवेदनको निष्कर्ष छ। सोही कारणले गर्दा भिभिआइपी उडानमा हेल्चेक्र्याइँ गरेको भन्दै त्यहाँका प्रमुखलाई विभागीय कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको छ।

त्यसैगरी, भिभिआइपी सवार हुने उडान तय भएको बेहोरा फ्लाइट प्लानमा र प्रोगाममा नजनाई टावरमा पेस गरेकोे उल्लेख गर्दै यती एअरलाइन्सका ग्राउन्ड ह्यान्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई विभागीय कारबाही गर्न यती एअरलाइन्सलाई निर्देशन दिने सिफारिस प्रतिवेदनमा छ। त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच कन्ट्रोलमा भिभिआइपी सवार उडान ह्यान्डिल गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई नेपाल आइकाओको एनेक्स १ पर्सनल लिसिनिङमा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता यकिन गरेर मात्र काममा लगाउन प्राधिकरणलाई लेखी पठाउने उल्लेख छ।

यती एयरलाइन्सको उडान नं एनवाइटी ९२६ का क्याप्टेनलाई फ्लाइट प्लान रुजु नगरेको र आफूले उडान भरेको जहाजमा भिभिआइपी चढेको बेहोरा सम्बन्धित एटिएस युनिटलाई जानकारी भए, नभएको यकिन नगरेका कारण सचेत गराउन यती एअरलाइन्सलाई निर्देशन दिनुपर्ने सुझाव प्रतिवेदनमा छ।
 

प्रकाशित: ८ चैत्र २०७५ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App