११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘बोइङ प्रतिबन्धले नेपालमा अर्थ राख्दैन’

काठमाडौं – अमेरिकन विमान कम्पनीको बोइङ ७३७ म्याक्स ८ सिरिजलाई भारतले मंगलबारबाट आफ्नो आकाशमै प्रतिबन्ध लगाएसँगै उक्त सिरिजको विमान नेपाल आउन नपाउने भएको छ। नेपाल प्रवेश गर्ने विमानहरु भारत र चीनको आकाश हुँदै आउँछन्। चीनले आइतबारै उक्त विमानलाई प्रतिबन्ध लगाएसकेको छ।

चीनपछि सिंगापुर, इथियोपिया, भियतनाम, क्यानडा, इन्डोनेसिया, मलेसिया, ओमन, साउथ कोरिया लगायत देशले पनि उक्त विमानलाई प्रतिबन्ध लगाएका छन्। नेपालले भने यसबारे कुनै निर्णय गरेको छैन।
भारतले आफ्नो आकाशमा उक्त विमान उडाउन प्रतिबन्ध लगाएसँगै नेपालले निर्णय गर्नु वा नगर्नुको अर्थ नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए। उनका अनुसार अर्को कुरा, नेपालका एअरलाइन्स कम्पनीहरुसँग उक्त सिरिजको विमान पनि छैनन्।

तर, नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विभिन्न एअरलाइन्स कम्पनीका दैनिक झण्डै एक दर्जन उडान बोइङ ७३७ मोडलबाट हुने गरेको छ। विमानस्थलका अनुसार फ्लाई दुबईले दैनिक चार, ओमन एअरले दैनिक दुई, सलाम एअरले दैनिक एक, मालिन्दो एअरले दैनिक दुई, मलेसियन एअरले दैनिक एक, जेट एअरले दैनिक तीन उडान गर्छन्।

प्राधिरकणका महानिर्देशक गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भइरहेका प्रतिबन्धित फेमिली अन्तर्गतका विमान होइनन्। ‘बोइङ ७३७ माक्स ८ भए पनि विमानका विभिन्न फेमेली हुन्छ,’ उनले भने, ‘अहिले प्रतिबन्ध लगाइएका विमान म्याक्स फेमिलीको हो। त्यो विमान न नेपालसँग छ, न नेपालमा उडानै गर्छन्।’ त्यसैले नेपालले कुनै निर्णय लिनु तथा अन्य देशले गरेको निर्णयले नेपाललाई कुनै अर्थ नराख्ने उनको भनाइ छ। उक्त सिरिजको विमानमार्फत सिंगापुरको सिल्क एअरले भने उडान गथ्र्यो। तर, सिंगापुर आफैंले प्रतिबन्ध लगाएसँगै अहिले उक्त फेमिलीको विमानबाट उडान रोकिएको गौतमले बताए।

अमेरिकी जहाज निर्मता कम्पनीबाट निर्मित बोइङ ७३७ म्याक्स ८ अन्तर्गत दुर्घटना भएको जहाजकै फेमिलीका करिब तीन सय ५० जहाज संसारभर छन्।त्यसैगरी, अमेरिकाको फेडरल एभिएसन अथोरिटी (एफएए)ले बोइङ ७३७ म्याक्स ८ दुर्घटना भएको विमान अन्तर्गतको फेमिलीको उडान नरोक्ने जनाएको छ। एफएएले हालसम्म विमानमा कुनै प्रकारको प्राविधिक खराबी नदेखिएको भन्दै विमान ग्राउन्डेड गर्ने कुनै आधार नरहेको स्पष्ट पारेको हो। अमेरिकी बोइङ कम्पनीले उक्त विमानको व्यावसायिक उडान सन् २०१७ बाट थालेको थियो।

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App