नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन्।
गृह जिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए।
सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ कांग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो।
‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ। उस्तै घटनामा कांग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने।
पुनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए।
‘मानव तस्करसँग मिलेर मान्छे लगेकोमा जापानले डिपोर्ट गरेको छ। प्रहरीले १२ जनामाथि मुद्दा चलाउनुपर्ने प्रतिवेदन दिन्छ। तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्दा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिं कारबाही ? कांग्रेस–एमालेको सुशासन यस्तो छ।’
लोकतन्त्रमा संविधान, कानून र स्थापित विधिभन्दा माथि कोही नरहेकोमा पुनको जोड थियो।
प्रकाशित: १३ मंसिर २०८१ १९:०० बिहीबार