६ वैशाख २०८१ बिहीबार
अर्थ

आन्तरिक पर्यटन वर्षको फितलो तयारी

पोखरा घुम्न आएका आन्तरिक पर्यटक। गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने भने पनि तयारी फितलो छ।  फाइल तस्बिरः नागरिक

पोखरा – पर्याप्त तयारीबिना गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउन थालेको छ। वर्षभर (२०१९) मा प्रदेशमा झण्डै १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले सार्वजनिक गरे पनि तयारीले तीव्रता पाउन सकेको छैन। 

सन् २०१९ सुरु भएको झण्डै डेढ महिना बितिसकेपछि बल्ल अभियानको कार्ययोजनाबारे छलफल सुरु भएको छ। पर्यटन व्यवसायीले प्रदेश सरकारको यो तयारीलाई फितलो भनेका छन्। प्रदेशमा आन्तरिक पर्यटक भित्र्याएर चहलपहल बढाउने तथा प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्य सरकारको छ। त्यही उद्देश्य पूरा गर्न यो अभियान सञ्चालन गर्न थालेको प्रदेश सरकारले बताएको छ। त्यस्तै आन्तरिक पर्यटक भिœयाएर प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गर्नेदेखि मुलुककै आयआर्जन बढाउने यसको लक्ष्य छ।

आन्तरिक पर्यटकको चहलपहल बढाउँदा प्रदेशलाई मात्र नभई समग्र मुलुककै अर्थतन्त्र चलायमान हुने मन्त्रालयको भनाइ छ। ‘सन् २०१९ मा गण्डकी प्रदेशमा झण्डै १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य छ। त्यो लक्ष्य पूरा गर्न सक्ने हो भने प्रदेशले आन्तरिक पर्यटनबाटै लाभ पाउन सक्छ,’ कार्य योजनामाथिको छलफलमा प्रदेशको पर्यटन मन्त्रालयका उपसचिव दिवाकर पौडेलले भने, ‘आन्तरिक पर्यटक भिœयाउन सके मुलुककै आर्थिक अवस्था उकासिन्छ। रोजगारी सिर्जना गर्न सघाउँछ।’ आन्तरिक पर्यटन वर्ष मनाउन प्रदेश सरकारले यो वर्ष ५० लाख रुपैयाँ छुट्ट्याएको पनि उनले बताए।

अहिले गण्डकी प्रदेशमा वर्षमा आन्तरिक पर्यटक कति आउँछन् भन्ने तथ्यांक छैन। हवाई जहाजमार्फत नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने अनुमान रहे पनि आन्तरिक पाहुनाको आउजाउको लेखाजोखा कतै छैन। तैपनि सन् २०१९ मा १५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको उनले बताए। ‘हामीले आन्तरिक पाहुनाको लेखाजोखा कतै नराख्ने भएर मात्र हो। नत्र अहिले नै १५ लाखजति आन्तरिक पाहुना प्रदेशमा भित्रिएको अनुमान छ,’ उनले भने। 

पर्यटन व्यवसायीले अहिले पोखराको होटलमा ५० प्रतिशत अकुपेन्सी आन्तरिक पर्यटकको रहेको बताउँदै आएका छन्। चाँडवाड होस् वा मेला, महोत्सव तथा सार्वजनिक बिदा हुनासाथ पोखरामा आन्तरिक पाहुना आउने व्यवसायीको भनाइ छ। उपसचिव पौडेलका अनुसार अहिले वर्षमा झण्डै ६ लाख आन्तरिक पाहुना नवलपुरको शास्वतधाम घुमेका छन्। त्यस्तै, लाखौं आन्तरिक पाहुनाले गोरखाको मनकामना मन्दिर दर्शन गरेका छन्। हिमाली जिल्ला मुस्ताङ, मनाङसहित पोखरा घुम्न आउने आन्तरिक पाहुनाको कतै लेखाजोखा छैन। आन्तरिक पाहुनाको वास्तविक पहिचान गर्न समेत समस्या भएकाले संख्या यकिन गर्न नसकिएको उनले बताए। 

संघीय सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख विदेशी पाहुना प्रदेशमा भित्र्याउने लक्ष्य राखेको छ। प्रदेश सरकारको त्यो लक्ष्य पूरा गर्न सन् २०१९ मा आन्तरिक पर्यटक भ्रमण वर्ष सुरु गरेको उनले बताए। प्रदेश सरकारले यो अभियानबाहेक सन् २०२० मा भारती र चिनियाँ पाहुना तान्न भारत र चीन प्रवद्र्धनको योजना पनि बनाएको छ। पौडेलले प्रदेशमा भित्रिएका आन्तरिक पाहुना भिœयाएर उनीहरुको दैनिक खर्च पाँच हजार रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको बताए। अहिले आन्तरिक पर्यटकले दैनिक कति खर्च गर्छन् भन्ने पनि यकिन छैन। तर पोखरा भित्रिएका विदेशी पर्यटकले दैनिक ५४ अमेरिकी डलर खर्चेको अध्ययनले देखाइसकेको छ। 

कार्ययोजनामाथि छलफल गर्दै प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले रोजगारी र आयआर्जन बढाउन आन्तरिक पर्यटकको भ्रमण योजना ल्याएको बताए। उनले संघीय सरकारको लक्ष्य पूरा गर्न पनि प्रदेश सरकारको तयारी रहेको उनले सुनाए। ‘हामीले आन्तरिक पर्यटकका लागि गरेको अभ्यास मुलुककै पहिलो हो। अरु प्रदेशभित्रबाट आन्तरिक पाहुना भित्र्याएर पर्यटनमा चहलपहल बढाउन सकिन्छ,’ लम्सालले भने, ‘पर्यटनमा लगानी बढेकाले पनि त्यसलाई सुरक्षा गर्न पनि आन्तरिक पर्यटक भित्र्याउन जरुरी छ।’

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एकपटकका लागि मात्र नभई पटकपटकका लागि आउने गरी पाहुनालाई तान्नुपर्ने बताए। पाहुनालाई दिइने सेवा सुविधामा गुणस्तर कायम गर्ने हो भने सहज हुने उनले बताए। ‘सरकारले नीति बनाउने हो, प्रचारप्रसारमा सघाउने हो। पाहुना ल्याउने व्यवसायीले नै हो,’ गुरुङले भने, ‘त्यसो भयो भने मात्र आन्तरिक पाहुनाबाट लाभ मिल्छ।’ 

आन्तरिक पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले कार्ययोजना बनाए पनि पाहुनाको आगमन बढाउन कस्ता कार्यक्रम गर्ने भन्ने अझै निक्र्याैल भएको छैन। प्रदेश सरकार, पर्यटन बोर्ड, पर्यटन व्यवसायीलगायत सरोकारवालासँगको सहकार्यमा मुलुकका विभिन्न सहरमा प्रवद्र्धन गर्ने, सञ्जाल विस्तार गर्ने, पाहुनालाई दिइने प्याकेज सार्वजनिक गर्ने, स्थानीय तहसँग सहकार्य गर्दै त्यहाँको संस्कृति प्रवद्र्धन गर्ने तयारी छ। तर, त्यसको टुंगो अहिलेसम्म प्रदेश सरकारले लगाएको छैन। 

मन्त्रालयका उपसचिव पौडेलले आन्तरिक पर्यटकका लागि भ्रमण वर्षका लागि योजना अघि सारे पनि तयारी कम भएको स्वीकारे। ‘यो अभियानको सुरुवातमै ढिलाइ भएको छ। डेढ महिनाअघि मात्र सुरु गर्न पाएको भए पनि प्रभावकारी हुन्थ्यो,’ उनले भने, ‘कर्मचारी अभावमा काम गर्न सकिएन। त्यसले गर्दा पनि केही ढिलाइ भएकै हो।’ उनले यो अभियानलाई गति दिन कुन कार्यक्रम कहिले गर्ने भन्ने निश्चित नभएको बताए। ‘एक वर्षअघिदेखि नै प्रचारप्रसार गर्ने हो भने बल्ल प्रभावकारी हुन्छ। तर, हामीले यो वर्षकै लागि यही वर्ष कार्यक्रम गर्दैछौं। यसले केही चुनौती अवश्य थपेको छ,’ उनले भने। 

पर्यटन व्यवसायी प्रदेश सरकारको तयारीप्रति उत्साही छैनन्। पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा भन्छन्, ‘तयारीमा ढिला निकै नै ढिला भएको हो। यो तयारी पहिले नै गरेको भए अझ उत्तम हुन्थ्यो।’ उनका अनुसार २०१९ का लागि तयारी गरिरहँदा कार्ययोजना बनाउने र प्याकेज बनाउने काम पहिल्यै सक्नुपर्ने थियो। ती काम अहिलेसम्म सबै बाँकी छन्। 

‘प्रदेश सरकारले फितलो तयारी गरेको छ। यो बेलासम्म एक तहमा प्रचारप्रसार भइसक्नुपर्ने थियो। तर, बल्ल कार्ययोजना बन्दैछ,’ सापकोटाले भने, ‘२०१८ भित्रै कार्ययोजना बनाएर, प्रचार प्रसारका सामाग्री तयार पार्नेदेखि प्याकेज सार्वजनिक गर्नुपर्ने थियो।’ अहिलेकै तयारीले वर्षको योजना सफल हुनेमा आशंका उब्जेको उनले बताए।

प्रकाशित: ९ फाल्गुन २०७५ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App