२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

६ महिनामा टिआइएले कमायो दुई अर्ब

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्बभन्दा बढी आम्दानी गरेको छ। विमानस्थलले उडान र गैरउडान शुल्कबाट आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म दुई अर्ब २० करोड २० लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको हो।

नेपाल नागरिक उडड्यन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार विमानस्थलले उडान शुल्कबाट एक अर्ब ७६ करोड १५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको हो। त्यस्तै गैरउडान क्षेत्रबाट ४४ करोड पाँच लाख २८ हजार रुपैयाँ आम्दानी गरेको हो। 

प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार उडान आम्दानी भन्नाले ल्यान्डिङ, पार्किङ, सुरक्षा शुल्क हो। त्यस्तै यात्रु शुल्क, नेभिगेसन शुल्क तथा मौसम शुल्क लगायत शुल्क उडान शुल्कभित्र पर्छन्। विभिन्न शुल्कमध्ये यात्रु सेवा शुल्कबाट सबैभन्दा बढी आम्दानी भएको छ। यो शुल्कबाट विमानस्थलले चालु आवको ६ महिनामा एक अर्ब तीन करोड ६५ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको हो।

त्यस्तै गैरउडान आम्दानी भन्नाले टर्मिनल भाडा, पार्किङ शुल्क, जग्गाको भाडा, बैंकको ब्याज, कार्गो ह्यान्डलिङ, ग्राउन्ड ह्यान्डलिङ, पसलको रोयल्टी लगायत शुल्क रहेको प्राधिकरणका सूचना अधिकारी पौड्यालले बताए। उनका अनुसार गैरउडान आम्दानीमा सबैभन्दा बढी ग्राउन्ड ह्यान्डिलङ सेवाबाट आम्दानी हुन्छ। यो शीर्षकमा विमानस्थलले चालु आवको ६ महिनामा २४ करोड ४६ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको हो। 

विमानस्थलले अघिल्ला आवमा पनि उडान र गैरउडान आम्दानीबाट  बर्सेनि तीन अर्बभन्दा बढी आम्दानी गर्दै आएको छ। प्राधिरकरणको तथ्यांकअनुसार आव ०६९–७० मा तीन अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै आव ०७०–७१ मा अघिल्लो वर्षभन्दा थोरै बढेर तीन अर्ब २२ करोड आम्दानी भयो। आव ०७१/७२ मा अघिल्लो वर्षको तुलनामा आम्दानी ह्वातै बढ्यो। त्यो वर्ष चार अर्ब १४ करोड आम्दानी गरेको थियो। 

२०७२ को भूकम्पले पनि विमानस्थलको आम्दानीलाई कुनै असर गरेन। विमानस्थलले अघिल्ला वर्षमा क्रमिक बढाउँदै लगेको आम्दानीलाई निरन्तरता दियो। आव ०७२/७३ मा विमानस्थलले चार अर्ब ५५ करोड आम्दानी गर्‍यो। त्यस्तै आव ०७३/७४ मा चार अर्ब ७४ करोड आम्दानी गरेको विमानस्थलले गत आव अर्थात ०७४/७५ मा पाँच अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ।

तर, त्यसको तुलनामा चालु आवको आम्दानी घट्न सक्ने अनुमान गरिन्छ। चालु आवको सुरुको ६ महिनामा अघिल्लो वर्षको जम्मा आम्दानीको ५० प्रतिशत आम्दानी गर्न सकेको देखिँदैन। अघिल्लो आवमा पाँच अर्ब ५९ करोड आम्दानी गरेकाले चालु आवको ६ महिनामा दुई अर्ब ८० करोड आम्दानी गर्नपर्ने हुन्छ। तर, विमानस्थलले झन्डै ६० करोड कम अर्थात दुई अर्ब २० करोड मात्रै आम्दानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्राधिकरणका सूचना अधिकारी पौड्यालका अनुसार केही शीर्षकका आम्दानीहरु आवको अन्तिममा मात्रै जोडिन्छ। यसैले गर्दा सुरुको ६ महिनामा आम्दानी रकम कम देखिएको हो। विमानस्थलले चालू आवमा अघिल्लो वर्षको भन्दा बढी कमाउने दाबी गर्दै चालु आवमा ६ अर्ब आम्दानी गर्ने उनले बताए।

त्रिभुवन विमानस्थल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। अन्तर्राष्ट्रिय उडानका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सञ्चालनको तयारीमा छ। त्यस्तै पोखरा विमानस्थललाई पनि स्तरोन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य धमाधम भइरहेको छ। यो बाहेक देशभर २९ वटा आन्तरिक विमानस्थल सञ्चालनमा छन्। यी सबै विमानस्थलबाट भने वार्षिक आम्दानी एक अर्ब पनि पुग्दैन। पौड्यालका अनुसार पहाडी क्षेत्रका अधिकांश विमानस्थल घाटामा छन्। व्यवसायभन्दा सेवाको हिसाबले घाटामा भए पनि विमानस्थल सञ्चालन गरिरहेको उनले बताए।

प्रकाशित: २४ माघ २०७५ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App