महासंघको कृषि उद्यम केन्द्रले सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गत कार्यक्षेत्र जिल्ला र वस्तु विस्तार गर्ने योजना लिइएको महासंघका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए। 'कार्यक्रम सञ्चालन भएका क्षेत्रका बासिन्दाको आर्थिक स्तर बढेको छ,' उनले भने, 'त्यही सफलता हेरेर विस्तार गर्ने योजना लिएका हौं।'
२०६३ मा सुरु भएको एक गाउँ एक उत्पादनअन्तर्गत ११ जिल्लामा ८ वटा वस्तु उत्पादन भइरहेका छन्। भक्तपुरमा लप्सी, रामेछाप र सिन्धुलीमा जुनार, नुवाकोट र रसुवामा रेन्बो ट्राउट माछा उत्पादन भइरहेका छन्। त्यस्तै, बर्दिया र सिराहामा बेल, लेखनाथ कास्कीमा एग्रो टुरिजम, ललितपुरमा सिम्बिडिएम अर्किड, दोलखामा लोक्ता र स्याङ्जामा कफी उत्पादन कार्यक्रम सुरु गरिएको छ।
यो कार्यक्रमबाट उत्पादन भएका वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्नेगरी कार्यक्रम ल्याउने तयारी भइरहेको महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले बताए। ललितपुरमा उत्पादन भइरहेको अर्किड फूल निकासी भइरहेको छ। कतारबाट नेपाली अर्किडको निकै माग आइरहेको छ।
महासंघका अध्यक्ष जोशीले आगामी वर्ष गुणस्तरीय उत्पादनमा जोड दिने र ओभिओपी ब्रान्ड वितरण गर्ने योजना रहेको बताए। कार्यक्रमअन्तर्गत उत्पादन भएका वस्तुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा बजार विस्तार गर्ने योजना छ।
प्रकाशित: ११ भाद्र २०६७ २२:२८ शुक्रबार





