coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेकमा घुइँचाे

काठमडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा विद्यार्थीदेखि युवा पुस्ता, स्वदेशी तथा विदेशी प्रतिनिधिसँगै उच्च सरकारी निकायका प्रतिनिधिको भीड लागेको छ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले विगतको भन्दा यस वर्ष फरक ढंगले मेला आयोजना गरेको क्यानका अध्यक्ष हेमन्त चौरासियाले जानकारी दिए। ‘मेलामा विद्यार्थी र युवा पुस्ताको उत्साहजनक सहभागिता छ। जीवनशैलीलाई प्रविधिमैत्री बनाउन मेलाले सघाउ पुर्‍याएको छ,’ उनले नागरिकसँग भने, ‘हरेक विषयवस्तु र काम प्रविधिमैत्री भइसकेको छ। युजर ग्रुपलाई डिजिटल ट्रान्सफरमेसनको म्यासेज समेत दिएको छ।’

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला विगतको तुलनामा यसपटक फरक रहेको  क्यानले जनाएको छ। सुबिसु र इ–सेवाको प्रायोजनमा आयोजना गरिएको यस वर्षको मेलामा सहभागीमध्येका भाग्यशाली विजेताले इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक घुम्न जाने अवसर पाउन सक्ने अध्यक्ष चौरसियाको भनाइ छ।

महासंघका कोषाध्यक्ष खुसल रेग्मीले यसपटकको मेला उत्साहजनक रहेको प्रतिक्रिया दिए। मेलामा प्रविधिको बान्डहरु राखिएको छ। अवलोकन र खरिद गर्न आउनेले बान्डेड प्रविधिनै खरिद गर्ने गरेको रेग्मीको भनाइ छ।
‘यसपटकको मेलामा छुट्टै अफर र अवसरहरु छन्। विगतमा जस्तो हार्डवेयरमा मात्रै प्राथमिकता छैन,’ उनले भने, ‘हामीले सफ्टवेयर र वालेटहरुलाई विशेष रुपमा राखेका छौं। कृषिमा प्रविधि र शिक्षामा प्रविधि जस्ता नयाँ अवधारणा अघि सारेका छौं।’

सरकारले मुलुकलाई डिजिटल बनाउने अभियान चलाइरहँदा क्यानको मेलाले थप सहयोग पुग्ने रेग्मीको भनाइ छ।

एक सय ७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका स्टल रहेका छन्।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ।  मेला २० गतेसम्म चल्नेछ।

प्रकाशित: २० माघ २०७५ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App