३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दश करोडको बहुउद्देशीय कृषि फार्म

जैविक मलबारे जानकारी दिँदै क्याप्टेन फार्मका सञ्चालक तारा प्रसाद।तस्बिर:रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज महानगरपालिका–१० बस्ने युवा उद्यमी तारा प्रसादले महानगरकै रामगढवामा सञ्चालनमा ल्याएको पशुपालन व्यवसाय अब १० करोड रुपैयाँ लागतको बहुउद्देशीय कृषि फर्म बनेको छ। फर्मले एउटै हातामा पशुपालनबाट दूध उत्पादन, जैविक मल उत्पादन र तरकारी उत्पादन गर्ने गरेको छ।

मुलुकको आर्थिक रुपान्तरणका लागि कृषि उद्यमको अवधारणा बहसमा ल्याएका बेला ताराप्रसादको फर्म नमूना उद्यम बन्न पुगेको छ। उनी यो पेसामा आउनुपछाडिको कथा रोचक छ। चामल उद्योग सञ्चालक रहेका उनले पैसा तिरेर पनि शुद्ध दूध घरपरिवारकाले खान नपाएकाले एउटा गाई पालेर आफ्नो घरका लागि दूधको जोहो गर्ने बिचार गरे। २०७० मा गाइ किनियो। गाइले सन्तोषजनक दूध दियो। उनले हिसाब निकाले, ‘गाई किन्नमा परेको लागत र त्यसको पालनमा पर्ने खर्च जोड्दा’ प्रतिफल बढी देखियो। अनि ‘आइडिया’ फुर्‍यो पशुपालन ‘फार्म’को।

‘सुरुमा आफ्नो घरपरिवारलाई दैनिक रुपमा चाहिने दूधको आवश्यकता पुरा गर्न एउटा गाई पालेँ, बिधिवत रुपमा पशुपालनमा लाग्ने विचार विस्तारै पलाउन थाल्यो २०७२ मा ‘क्याप्टेन फार्म’को रुपमा कम्पनी दर्ता गराएँ र काम बढाए,’ तारा प्रसादले भने, ‘यो फार्ममा एकीकृत रुपमा गाई तथा भैंसीपालनसँगै जैविक मल र तरकारी उत्पादन गरिरहेको छु।’

पाँच वर्षअघि एउटा गाई किनेर पालेका प्रसादले त्यसको दुई वर्षपछि व्यावसायिकरुपमा पशुपालन सुरु गरेर सन्तोषजनक नतिजा पाएपछि लगानी बढाउँदै लगे। अहिले उनको फार्ममा ३५ गाईभैंसी छन्। ५० बाख्रा पनि पालिएका छन्। र नियमित रुपमा जैविक मल उत्पादन तथा बिक्री हुन्छ। जग्गको समेत मूल्य जोड्दा उनको उक्त कदम करिब १० करोड रुपैयाँ लगानीको व्यावसायिक फार्म बनेको छ।

क्याप्टेन फार्मबाट अहिले दैनिक दुई सय ५० लिटर दूध उत्पादन हुन्छ। उत्पादिन दूध उनले वीरगन्जकै गितामन्दिर रोडस्थित बिक्री केन्द्रमार्फत उपभोक्तालाई पुर्‍याइरहेका छन्। बिक्री केन्द्रमा माग अनुसार दूध पुर्‍याउन नसकेको उनी सुनाउँछन्। निकट भविष्यमै गाई र भैंसी थपेर फार्ममा दूधालु पशुको संख्या सय पुर्‍याउने उनको योजना छ। गुणस्तरीय दूध रुचाएकाहरु आफ्नो नियमित ग्राहक रहेको उनको दाबी छ। अझ माग बढ्दो रहेको उनी बताउँछन्।
कुल चार बिघा क्षेत्रमा फैलिएको फार्ममा एक बिघा उनको आफ्नै जग्गा हो भने तीन बिघा ‘लिज’मा लिएका छन्। पशुपालन सुरु गरेपछि घाँसको खेतीका जग्गा भाडामा लिए। पछि योजना विस्तार हुँदै गयो। उनले फार्ममा निस्किने गोबर, बाख्राको मल र गाइभैंसीको मुत्र संकलन गरी जैविक मल उत्पादन गर्ने गरेका छन्। मल र मल हालिने जग्गाको माटोको गुणस्तर परीक्षणका लागि प्रयोगशाला र प्राविधक पनि उनले राखेका छन्।

उनले फार्ममा उत्पादित मल यहाँस्थित डाबर नेपाल प्रालि, नेसनल मेडिकल कलेज जस्ता प्रतिष्ठानलाई बेंच्ने गरेका छन्। अहिले खासगरी फूलको क्यारीमा हाल्न फार्ममा उत्पादित मलको काम बढ्दो रहेको उनी बताउँछन्। फार्मबाट अहिले वार्षिक एक सय मेट्रिकटन मल उत्पादन भइरहेको तारा प्रसादले बताए। ‘मल उत्पादनका लागि चाहिने कुरा फर्मकै हुन्छ,’ उनले भने, ‘केही वनस्पति बाहिरबाट पनि ल्याउछौं।’

सरकारी तवरमा जैविक मलको प्रयोग र उत्पादनका लागि जागरुगता दिने कार्यक्रम नदेखिएकामा आफू किसानलाई यो प्रविधिसँग जोड्न चाहेको बताए। रासायनिक मलको साटो जैविक मल माटो, पर्यावरण र उपभोक्ताको स्वास्थ्यका लागि जरुरी रहेको उनको भनाइ छ। फार्मले २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । वार्षिक करिब पाँच करोड रुपैयाँको कारोबार भइरहेको त्यहाँका कर्मचारी बताउँछन्। दूधको माग धान्न मात्र होइन मल उत्पादनको क्षमता बढाउनका लागि पनि गाइभैंसी र बाख्रा थप्नुपर्ने भएको उनको भनाइ छ। माछा, हाँस र कुखरापालनसमेत गर्ने योजना उनको छ।

एेनले तरकारी खेती सुरु गरिसकेका छन्। थप पुँजीको व्यवस्थापनले समस्या परेको उनी बताउछन्। बैंकले लगानीमा चाँसो देखाए यो फर्मलाई देशकै नमुना बनाउने उनको दावी छ। ‘सरकारले कृषिका लागि सहुलियतमा रिणको घोषणा गरे पनि नगरक्षेत्रको कृषि उद्यमलाई सहुलियत नदिने बैंकको नीति देखिएको छ, यो व्यवहारिक भएन,’ उनले भने, ‘सहुलियतप्राप्त कृषि ऋणमा व्यवसायीले ६ प्रतिशत ब्याज तिरे पुग्छ। मैले नगरमा क्षेत्रमा फार्म भएकोले त्यसभन्दा दोब्बर ब्याज तिर्दैछुँ।’

प्रकाशित: २२ पुस २०७५ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App