४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुखुरा दानाको भाउ बढ्यो

बनेपा - दुई महिनाअघि मात्रै कुखुराको सबै खाले दानामा भाउ बढाएका दाना उद्यमीहरुले फेरि भाउ बढाएका छन् । शनिबारबाटै लागू हुने गरी प्रति ५० किलो बोरा दानामा ७५ रुपैयाँ बढाएका हुन्।

दानामा प्रयोग हुने मुख्य कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य बढेकाले भाउ बढाउन बाध्य भएको उद्यमीहरुको भनाइ छ । ‘यतिखेर मकै र भटमासको पिनामा भाउ घट्नु पर्ने थियो । तर, नयाँ सिजनको भटमासको पिनामा ५५ र मकैमा ३१ रुपैयाँ प्रतिकिलो भाउ पर्न गयो।

फर्मुलेसन अनुसार दानामा ६० प्रतिशत मकै र २५ प्रतिशतसम्म भटमासको पिना हाल्नै पर्छ । यिनै सामग्रीको भाउ बढेपछि दानाको भाउ नबढाई सुख भएन,’ नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले भने।

विगतमा माघको अन्तिमतिर किलोको २६ देखि २७ रुपैयाँमा खरिद गर्न सकिने मकै कात्तिकमै ह्वात्तै भाउ बढेको उनको भनाइ छ । ‘भारतको महाराष्ट्रमा मकै खेती बिग्रेकाले बिहार र युपीबाट उतैतिर मकै गइरहेको छ । यस्तै, डलरको मूल्यका कारण भटमासको पिनासमेत भारतले नेपाल पठाउनुको साटो डलर आउने देशमा पठाएपछि यता गाह्रो परेको हो,’ पुरीले भने।

दाना उद्यमीहरुले प्रतिकिलो तीन रुपैयाँ नबढाएसम्म थेग्न नसक्ने भन्दै आएका थिए । हाल तयारी कुखुराको भाउ खस्किएको र अण्डाको मूल्य पनि घट्दो रहेकाले प्रस्तावको आधा रकममात्रै घटाउन आग्रह गरेको अध्यक्ष पुरीको भनाइ छ । ‘मकै र भटमास पिनामा बढ्दो परनिर्भरताले गर्दा यतिखेर उद्यमीहरुले चाहेर पनि सहुलियत दरमा दाना बनाउन सम्भव छैन । यस्तै डलरको मूल्य वृद्धिका कारण एमबिएम, भिटामिन र मिनरलको भाउ बढिरहेकाले उत्पादन लागतसमेत थपिँदो छ,’ उनले थपे।

केही वर्षअघिसम्म नेपालमा मास फिड (धुलो दाना) बनाउने मध्यम तथा साना उद्योगहरुको बाहुल्य थियो । कुखुरापालनमा व्यापकता आएसँगै अत्यधिक उत्पादन क्षमताका पेलेट (कुड्के) दाना उद्योगहरुको संख्या बर्सेनि थपिन थाले । यतिखेर नेपालीमात्रै नभई चिनियाँ र भारतीय साझेदारीमा समेत पेलेट फिड मिलहरु सञ्चालन हुँदै आएका छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१७ मा नेपालमा चार लाख ८४  हजार सात सय ४५ टन मकै आयात भई ११ अर्ब ४० करोड ६७ लाख बिदेसिएको छ । अन्य देशबाट पाँच हजार चार सय टन र बाँकी सबै मकै भारतबाट आयातित रहेको छ । सो वर्ष मकैका लागि नेपालबाट भारतमा मात्रै ११ अर्ब सात करोड ४८ लाख रुपैयाँ गएको छ । यस्तै सोही वर्षमा दुई लाख दुई हजार तीन सय ३७ टन भटमास तथा यसको पिना आयात भएको देखिन्छ । भटमास र यसको पिनाबापत भारतमा मात्रै नौ अर्ब ३१ करोड रुपैयाँ गएको छ । मकै र भटमासको प्रमुख उपयोग कुखुराको दानामा हुने गरेको छ।

‘नेपालमा उत्पादित मकै र भटमासले यहाँका दाना उद्योगको मागको एक छेउमात्रै धान्दै आएको छ । एकातिर स्वदेशमै मकै र भटमासको खेती व्यापक बनाउन नसक्नु अर्कातिर आयातित मकै र भटमासमा सरकारले कृषि सुधार शुल्क भनेर पाँच प्रतिशत लगाएका कारण चालू आर्थिक वर्षदेखि नै दाना महँगो नै थियो । अब त सबै महँगो चीज हालेर सस्तो दाना बनाउनै सकिन्न् किनकी कुखुराको तौल र अण्डा उत्पादन बढाउन गुणस्तरिय दाना बनाउनै पर्छ,’ पुरीले बाध्यता दर्साए।

नेपाल दाना उद्योग संघका अनुसार मुलुकभर एक सय पाँचवटा दाना उद्योगहरु छन् । यिनमा पेलेट दाना बनाउने उद्योगहरुको बाहुल्य रहेको छ । हाल दैनिक तीन हजार टन दाना उत्पादन हुँदै आएको छ।

चल्लाको भाउ घट्यो
नेपालका ह्याचरीहरुले एकदिने ब्रोइलर चल्लाको मूल्यमा शनिबारदेखि लागू हुने गरी पाँच रुपैयाँ घटाएका छन् । दुई साता अघि पनि उनीहरुले पाँच रुपैयाँ घटाएका थिए । ह्याचरीका अनुसार ब्रोइलर चल्लाको किसान दर प्रतिगोटा ७० रुपैयाँ कायम गरिएको हो।

प्रकाशित: ३ मंसिर २०७५ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App