५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बोटबाटै ५० लाख बढीको रुद्राक्ष चोरी

चोरी भएको रुद्राक्षको बोट । तस्बिर: नागरिक

धरान – रुद्राक्ष दानाको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको छ। भोजपुरको षडानन्द नगरपालिकाको ताबुमा २ करोड बराबरको रुद्राक्ष बोटबाटै लुटपाट भएको घटना सेलाउन नपाउँदै तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा पनि रुद्राक्ष चोरी भएको घटना बाहिरिएको छ।

तीन जना व्यापारीले स्थानीय नारायण घिमिरेको एउटा रुद्राक्षको बोट खरिद गरिसकेका थिए। सोही बोटबाट शनिबार बिहान सबै दाना चोरी भएको पीडित व्यापारी हिमालकुमार राईले बताए। ‘म, पवन जिसी र उदयचन्द्र खत्रीले रुद्राक्षको एउटा बोट किनिसकेका थियौं, हामीले बोट रुग्न मान्छे पनि पठाएका थियौं। उसको आफन्तको मृत्यु भएकोले शनिबार बिहान साढे ५ बजेतिर उ फर्किने भन्यो र त्यतिबेलासम्म दानाहरू सुरक्षित थियो,’ व्यापारी राईले भने,‘हाम्रो मान्छे हिँडेको केही घण्टामै बोटवालाले रुद्राक्ष त छैन भन्दै फोन गर्यो।’

व्यापारीहरूका अनुसार बोटबाट ८० प्रतिशत भन्दा बढी राम्रो दानाहरु चोरी भएको छ। जसको बजार मुल्य ५० लाख बढी पर्छ। व्यापारीहरूले दाना हेरेर राम्रो देखेमा मात्र बोट नै खरीद गरेका हुन्छन्। चोरीका घटना भएपछि पीडित व्यापारीहरूले इलाका प्रहरी कार्यालय वसन्तपुर र लसुने प्रहरी चौकीमा उजुरी दिएका छन्। ‘हामीलाई रुद्राक्षको बोटधनी र हामीले हेरालु राखेको ओमप्रकाश सुवेदीलाई शंका लागेकोले अनुसन्धान गरी कारबाही र क्षतिपुर्तिको माग गरेका छौं,’व्यापारी राईले भने,‘रुद्राक्ष लिने दिने सर्तनामा गर्दाको समय साक्षी बसेका २ जनालाई पनि सोधपुछ गर्न माग गरेका छौं।’ रुद्राक्ष दाना चोरी भएको यो नै पहिलो घटना भने होइन।

एक साताअघि षडानन्द नगरपालिकामा वीरवल राईको २ करोड बढी दाना बोटबाटै लुटिएको घटनाको चर्चा अझै सेलाएको छैन। दाना रुग्न राखेको मान्छेलाई पनि १०–१२ जनाको समुहले कुटपिट गरेर रुद्राक्षको हागा समेत काटेर लगेका थिए। यस्तै, पोहोर साल भोजपुर दिङ्लाकै शान्तिबहादुर कार्कीलाई घरमै कुटपिट गरेर दाना लुट्ने प्रयास भएको थियो भने संखुवासभाको याफुमा रुद्राक्षको बोटको फेद ताछेर मोविल दलिदिएको थियो।

‘व्यापारीबीचमै बोट हत्याउने अस्वस्थ्य प्रतिस्पर्धा र पैसाको लोभमा यी घटनाहरु भइरहेको छ। यो वर्ष एउटाले किनेको बोट अर्को वर्ष अर्को व्यापारीले वैना गरिहाल्छ। त्यसको रिसमा बोट काट्ने, लुट्ने भएको हो। बोटवालाले पनि पैसाको लोभमा एउटालाई बेचेको बोट अर्काेलाई दिइहाल्दो रहेछ,’पीडित व्यापारी राई भन्छन्,‘यस्तो घटनाले रुद्राक्षको व्यापारलाई धरासायी बनाउछ। व्यापारीले कसरी लगानी गर्छ ?’

प्रकाशित: ३१ आश्विन २०७५ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App