१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

दशकसम्म सकिएन खानेपानी आयोजना

इलामको सन्दकपुर गाउँपालिका–१ दोभानेमा रहेको मान्द्रेनी–बरबोटे बृहत् खानेपानी आयोजनाको कलेक्सन चेम्बर। तस्बिर : भीम/नागरिक

तीनदोभाने (इलाम) - सरकारले बर्सेनि ‘कनिका छरेझैं’ मात्र बजेट पठाउँदा मान्द्रेनी–बरबोटे बृहत् खानेपानी आयोजना निर्माणको काम दशकसम्म अधुरै छ । ७ हजार हाराहारी उपभोक्तालाई खानेपानी पु-याउनेगरी निर्माणाधीन आयोजनाको काम बर्सेनि आउने झिनो बजेटले सुस्ताइरहेको छ।

११ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको काम २०६७ सालदेखि ५ वर्षमा सकिनुपर्ने हो। तर, सालैपिच्छे २० लाखदेखि बढीमा १ करोड ३२ लाख रुपैयाँमात्र आउने गरेकाले अहिलेसम्म आयोजना पूरा हुन नसकेको हो । उपभोक्ता समिति र स्थानीयको अग्रसरतामा धेरै प्रतिशत सकिएपनि बजेट अभावैले आयोजनाले गति लिन सकेको छैन । घरनजिकै आइसकेको पानी थोरै मात्र बजेट अभावले उपभोक्तासम्म पुग्न नसकेको उपभोक्ता समितिको गुनासो छ।

आयोजनाका लागि अहिलेसम्म ४ करोड ५२ लाख रुपैयाँ खर्च भइसकेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर विनोद योञ्जनका अनुसार सुरुमा आयोजनाको कुल लागत ११ करोड रुपैयाँ अनुमान थियो । तर, खानेपानीको चर्काे अभाव भएकैले ८ करोड रुपैयाँ लागतमा सक्नेगरी मितव्ययी ढंगले काम अघि बढाइएको छ । ‘स्थानीय उपभोक्ता र उपभोक्ता समितिलगायतको सक्रियतामा निर्माणको काम धेरै त सम्पन्न भइसकेको छ, अब ३ करोडजति बजेट भए आयोजना सकिन्छ,’ उनले भने, ‘तर, बजेट ज्यादै थोर आएर काम लम्बिएको १० वर्ष भइसक्यो।’

सन्दकपुर गाउँपालिका–१, दोभानेस्थित सुकुवाखोलाबाट इलाम नगरपालिका–५ बरबोटेका उपभोक्ताका लागि आयोजना निर्माण गरिँदैछ । खानेपानी तथा सरसफाइ विभागले आर्थिक वर्ष २०६६/०६७ सालदेखि आव ०७२/०७३ सम्म आयोजनाका लागि बर्सेनि २० लाख रुपैयाँ मात्रै पठाएको थियो । त्यसयता कहिले ९० लाख र कहिले १ करोड ३२ लाख रुपैयाँ पठाउँदा आयोजनाको काम कछुवा गतिमा मात्रै चलिरहेको छ । आयोजनाका लागि चालू वर्ष पनि २३ लाख रुपैयाँ मात्रै आएको उपभोक्ता समिति अध्यक्ष मनराज जबेगूले बताए । ‘यही गतिमा बजेट आए हामीले पानी खान अझै अर्काे दशक पर्खिनुपर्ने भो,’ उनले भने, ‘३ करोड रुपैयाँ एकैपटक आइदिए आयोजना सकिने अनुमान छ।’

अध्यक्ष लिम्बूले ३ करोड रुपैयाँ अभावले गाउँका १४ सय धाराका ७ हजार उपभोक्ता ‘काकाकुल’ भएर बस्नुपर्ने बाध्यता रहेको बताए । ‘अहिले त ३ तहका सरकार छन्, सबैले चाहने हो भने यत्रो धेरै उपभोक्तालाई पानी खुवाउन ३ करोड ठूलो रकम होइन,’ उनले भने, ‘आयोजना सकिने बेला फेरि स्थानीयदेखि संघीय सरकारका मन्त्रालयसम्म धाउनुपर्ने भएको छ ।’ उनले ५ वर्षमा सक्ने भनिएको आयोजना १० वर्षमा पनि नसकिँदा उपभोक्ता ज्यादै चिन्तित भएको बताए।

आयोजनाको मुहान तारबेरा गरी व्यवस्थित गरिएको छ । नजिकै कलेक्सन च्याम्बर (अस्थायी ट्यांकी) निर्माण भइसकेको छ । कलेक्सन च्याम्बरबाट १९ किलोमिटर टाढा धारापानीसम्म ३ देखि ४ इन्चको पाइपमा प्रतिसेकेन्ड ४ लिटर पानी नै ल्याइएको छ । ‘आयोजनाको अन्तिम वितरण लाइन विस्तार गर्न बजेट नहुँदा त्यहाँ (धारापानीसम्म) ल्याएको पानी घर ल्याउन सकेका छैनौं,’ अध्यक्ष जबेगूले भने, ‘हामीले ल्याएको पानी केही महिनादेखि इलाम सदरमुकाम लगिएको फिल्टर ट्यांकीमा मिसाइदिएर सदरमुकामको अभाव चाहिँ टारिरहेका छौं।’

धारापानीमा मान्द्रेनी–बरबोटे आयोजनाको रफिङ फिल्टर (पानी शुद्धीकरण ट्यांकी) निर्माणाधीन छ । मुहानबाट ३ वटा ब्रेक प्रेसर ट्यांकीपछि आइपुगेको पानी सुरुमा सेडिमेन्टेसन ट्यांकीमा थिग्य्राएपछि रफिङ फिल्टरमा पुग्छ । त्यहाँबाट स्लोलाइन फिल्टर हुँदै रिजर्भ ट्यांकीमा पुगेपछि वितरणका लागि योग्य हुने इन्जिनियर योञ्जन बताउँछन् । ‘मुहानको पानी प्रयोगशाला परीक्षण गरेर शुद्ध प्रमाणित भएपछि मात्रै ल्याइएको हो,’ योञ्जनले भने, ‘तर, यहाँ पुनः शुद्धीकरण गरी उपभोक्तासम्म पु¥याउने छौं।’

अब एउटा रिजर्भ ट्यांकी, वितरण गरिने स्थानमा बेग्लाबेग्लै ३ ट्यांकी  र पाइपलाइन विस्तार गर्ने काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ । ‘टाढाको मुहानबाट विकटका भीर–पहरा फोरेर पाइप बिछ्याउँदै घरैमाथिको डाँडासम्म निकै जोखिम मोलेर पानी त ल्याइयो तर पिउन चाहिँ पाइएको छैन,’ समिति अध्यक्ष जबेगूले भने, ‘अब अलिकति स्रोत जुटिदिए बरबोटेबासीको मुख रसाउने थियो ।’ आयोजनाको काम गर्दागर्दै बजेट सकिएकाले अहिले ऋणमै काम गर्न बाध्य भएको आयोजना निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी तुलसी रेग्मीले बताए । ‘चालू वर्षको बजेट आएको छैन तर आउनुअघि नै त्योभन्दा बढी ऋण लागिसक्यो,’ उनले भने।

प्रकाशित: २६ आश्विन २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App