१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुलीका बाढी पिडित भन्छन्ः दैव लाग्यो, सर्वस्व सकियो

सिन्धुलीको सुनकोसी गाँउपालिका १ नेपालथोकस्थित गजुरीदहका भुपाल घिसिङ १२ वर्ष जापान बसेर नेपालमै केही गर्ने सोचले पेट्रोल पम्प सञ्चालन गर्न थाले। गजुरीदहमै झन्डै २० करोड लगानीमा उनले विपी राजमार्गमा नमुना पेट्रोल पम्पकै अवधारमा नमोबुद्ध आयल स्टोर संञ्चालनमा ल्याए।

पेट्रोल व्यवसाय सुरु गरेको झन्डै एक दशक बितेपनि लगानी थप गरेर नमुना बनाएको तीन वर्ष पुग्नै लागेको थियो। तर, गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले सबै सखाप पार्‍यो।

‘ममाथि दैव लाग्यो, सर्वस्व सकियो।’ आफ्नो व्यवसाय सम्झिएर भक्कानिँदै उनले भने, ‘मेरो ठूलो लगानी यही रोशीमा बग्यो।’ रामेछाप स्थायी ठेगाना भएका घिसिङ परिवारका दाजुभाई मिलेर व्यवसाय सञ्चालन गर्दै आएका थिए।  

आयलस्टोरसँगै अफिस कोठा, शौचालय, क्याफेसहित उनले व्यवसाय सञ्चालन गर्दै आएका थिए। जुन अहिले सखाप बनेको छ।

‘मैले भएको पैसा पनि निकाल्न पाइन्। अघिल्लो दिनमात्रै तेल लोड गरेको थिए। त्यो तेलको तीनओटा टयाङ्की, चार ओटा मेसिन सबै बगायो’ उनले रुदै सुनाए।

अविरल वर्षासँगै रोशी र सुनकोसीमा आएको बाढीले सिन्धुलीको सुनकोसी गाँउपालिकाको नेपालथोक, मुलकोट क्षेत्रमाव्यापकक्षति गरेको छ। यस्तै गोलञ्जोर गाँउपालिकाको खुर्कोटको तल्लो बसपार्क क्षेत्र पुर्ण रुपमा प्रभावित भएको छ।

नेपालथोककै भिमबहादुर तामाङको पनि घर बगाएको छ। ७३ वर्षे तामाङ २०२८ सालपछिकै ठूलो बाढी रोशीमाआएको बताउछन्। २०२८ साल जेठ २८ गते रोशीमा बाढी आएको थियो, त्यो बेलाभन्दापनि ठुलो बाढी एक्कासीआउदाहाम्रो अवस्था यस्तो भयो।

सुनकोसीमा बाढीले सयौ घर प्रभावितबनाएको छ भने ६ सय बढी विगहा धान खेत बगर बनाएको छ। यस्तै गोलञ्जोर गाँउपालिकाको तल्लो बसपार्क क्षेत्रमामात्रै ३५ भन्दा बढी घर पूर्ण रुपमा बाढीले ध्वास्त बनाएको छ।

घरहरु पूर्ण रुपमा ध्वास्त छन्। घरसँगै पसल सखाप भएको छ, हामी घरहरुमा पसेको माटो लेदो पन्छाउने काममा लागेका छौ, गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले भने। सुनकोसी गाँउपालिका ५ मुलकोटमा अधिकांश घरमा माटो पसेर भरिएको छ।

पछिल्लो समय विपी राजमार्ग खुलेसँगै सुन्दर पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको मुलकोट यतिबेला बगर जस्तै बनेको छ। आफूहरुमाथि दैव लागेर प्राकृतिक विपत्ति आएकाले सामना गर्नुको विकल्प नभएको मुलकोटमा युनिक होटल सञ्चालन गर्दै आएका मनोज श्रेष्ठको भनाइ छ। उनले भने, ‘जतिसक्दो चाडो पन्छाउन सकिन्छ कि भनेर लागेका छौ, तर मुलकोट पुरै बाढीप्रभावित क्षेत्र भएकाले पन्छाउन धेरै समय लाग्ने गरि माटो भरिएको छ।’

सुनकोसी नदी तटीय क्षेत्रमा करोडौ लगानी गरेका व्यवसाय यतिबेला सबै सखाप भएको छ। सुनकोसीमा आएको बाढीले सिन्धुलीका तटिय क्षेत्रमाब्यापक क्षति गरेको छ। बाढी पिडीतलाई यतिबेला खान लागि खाद्यान्न नै अभाव हुन थालेको सुनकोसी गाँउपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको भनाइ छ।

‘प्रभावित क्षेत्रमा खाद्यन्न अभाव भइसक्यो। विपी राजमार्ग हुँदै खाद्यान्न ल्याउन गाडी चलाउन दिइएको छैन’, उनले भनिन्, ‘जतिसक्दो चाडो गाडी सुचारु गर्नुपर्ने देखिन्छ।’

प्रकाशित: १६ आश्विन २०८१ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App