१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काभ्रेको पुष्पखेतीमा लगानी गर्न आह्वान

होरिजन नर्सरीमा ढकमक्क फुलेको गोदावरीसँगै फ्यान काभ्रेका अध्यक्ष बिरेन्द्रबहादुर श्रेष्ठ। तस्बिर : नागरिक

बनेपा - काभ्रेका स्थानीय तहहरुले पुष्पखेतीमा लगानी गर्नका लागि कृषकहरुलाई आग्रह गरेका छन्। पाँचखाल र पनौती नगरपालिकाले औपचारिक रुपमै पहिलो पटक यसरी आह्वान गरेका हुन्।

नेपाल नगरपालिका संघका सदस्य एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पुष्पखेतीका लागि पाँचखालमा लगानी गर्न चाहने कृषकहरुलाई नगरपालिकाले जमीनको उपलब्धतालगायत अन्य सहुलियतहरु प्रदान गर्ने नीति रहेको बताए।

‘तरकारी खेतीका लागि प्रसिद्ध पाँचखालमा जडीबुटीलगायत पुष्पखेतीको प्रचुर सम्भावना रहेको पाइएको छ । तपाईंहरु प्रस्ताव लिएर आउनुस्, नगरपालिकाले पुष्पखेतीका लागि आवश्यक सबै सहयोग गर्नेछ,’ फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान)को काभ्रे शाखाको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उनले भने । नगरपालिका संघमा समेत पुष्पखेती प्रवद्र्धनका लागि छलफल गर्न सकिने उनको भनाइ छ।

पनौती नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर चालु वर्षमा पर्याप्त बजेट विनियोजन गरेकाले नयाँ खेतीका रुपमा पुष्पखेती गर्न इच्छुक कृषकलाई सम्पर्क राख्न उपप्रमुख गीता बन्जाराले पनि आग्रह गरिन् । ‘काठमाडौंको बजार नजिकै रहेको हुँदा यसक्षेत्रबाट फूल ढुवानी गर्न सहज रहेको र हावापानी पनि फूल खेती अनुकूल रहेकोले लगानी गर्न कृषकहरु हच्किनु पर्दैन । आउनुस्, स्वागत छ,’ उनले भनिन्।

अन्य खेतीको दाँजोमा फूल खेतीमा भएको आधुनिकीकरणले गर्दा लगानी पनि बढी हुँदै आएको र फरक तरिकाको खेती हुँदा स्थानीय तहहरुले विशेष रुपमा मद्दत गरिदिनु पर्ने फ्यानका केन्द्रीय अध्यक्ष कुमार कसजूको आग्रह थियो । ‘स्थानीय तहहरुले पुराना कृषकहरुको खेती क्षमता विस्तार र नयाँ कृषकहरुलाई खेतीमा संलग्न गराउनेतर्फ सहयोग गरिदिएमा स्थानीय रोजगारीसमेत बढ्छ,’ उनले थपे।

पछिल्लो समय फ्यान केन्द्रले काठमाडौं युनिभर्सिटीसँगको सहकार्यमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक डिभाइसबाट उत्पन्न हुने परावैजनिक किरणलाई न्यूनिकरण गर्र्ने, घरभित्र प्रयोग हुने वनस्पतिको पहिचान प्रसार र बजारीकरणमा सहकार्य गरिरहेको दृष्टान्त दिँदै कसजूले स्थानीय तहले पनि विभिन्न क्षेत्रमा सहकार्य गर्न सक्ने बताए।

‘फ्यानले पुष्प तथा पुष्पजन्य वस्तुको आत्मनिर्भरताका लागि गुणस्तरीय वस्तुको उत्पादन वृद्धिका साथै स्थानिय रैथाने जातका वनस्पतिको सम्भाव्यता पहिचानका लागि काम गरिरहेको छ । यसबाट स्वदेशी उत्पादनले आन्तरिक माग पूर्ति गर्ने भएकाले रणनीतिक एवं कार्यनीतिक योजनाहरु अगाडि सारिएको हो । यी सबै क्रियाकलापमा स्थानीय तहहरुसँग सहकार्य गर्न सकिन्छ,’ उनले थपे।

धुलिखेल–५, श्रीखण्डपुरका कृषक बिरेन्द्रबहादुर श्रेष्ठले १७ वर्षअघि जिल्लामै पहिलो पटक पुष्पखेती सुरु गरेका थिए । तेस्रो अधिवेशनबाट उनी जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।

‘काभ्रेको समग्र पुष्पखेतीमा १५ करोड रुपैयाँ लगानी रहेको छ । अघिल्लो आर्थिक वर्षमा तीन करोड रुपैयाँको पुष्प कारोबार भएको छ । खेती राम्रो भए पनि अधिकांश कृषकमा पोस्ट हार्भेस्टबाट हुने क्षतिलाई कमी ल्याउनका लागि प्रशिक्षणको जरुरी देखेको छु,’ श्रेष्ठले थपे।

उपत्यकानजिकै र हावापानी सुहाउँदो भएकाले काभ्रे जिल्ला फूलखेती फस्टाउँदो रहेको छ । एसोसियसनका अनुसार हाल काभ्रेमा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३० भन्दा बढी कृषकले पुष्पखेती गर्दै आएका छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सयभन्दा बढीलाई रोजगारी दिएको यस खेतीमा ७० प्रतिशतभन्दा बढी महिलाको बाहुल्य रहेको छ।

बनेपा, धुलिखेल, पाँचखाल नगरपालिकाका साथै रोशी र भुम्लु गाउँपालिकामा व्यावसायिक रुपमै फूलको खेती हुँदै आएको छ । यिनमा एक दुई लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गर्ने कृषकहरु रहेका छन् । काठमाडौं उपत्यकाको कटफ्लावर जातका ग्लाडिओलस, गुलाब, कार्नेसन, जर्बेरा, लिमोनियम, अर्किड जस्ता फूलहरुको मागको २५ प्रतिशत काभ्रेले धान्दै आएको फ्यान काभ्रेले जनाएको छ । पछिल्लो सयममा जिल्लाबाट सयपत्री, गोदावरी र लिली फूलसमेत जान थालेको छ।

फ्यान काभ्रेमा नयाँ समिति
काभ्रे जिल्लाकै पहिलो पुष्प व्यवसायी वीरेन्द्रबहादुर श्रेष्ठ फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान)को काभ्रे शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । फ्यानको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसहितका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित गरेको हो । समितिका उपाध्यक्षमा भेषबहादुर दनुवार, सचिवमा शम्भु तामाङ र कोषाध्यक्षमा रुद्र बहादुर खड्का र सदस्यहरुमा किरण खरेल, जनार्दन गौतम र ठाकुरप्रसाद दाहाल निर्वाचित भएका हुन्।

‘विगतमा पुष्पखेतीका लागि केन्द्रको मुख ताक्नुपर्ने अवस्था थियो । अब स्थानीय तहले सहयोग गर्ने भएपछि जिल्लाका सम्भावित ठाउँहरुमा पुष्पखेतीको विकास र विस्तारमा ध्यान केन्द्रित गर्नेछु,’ निर्वाचित भएपछि श्रेष्ठले भने।

प्रकाशित: २१ आश्विन २०७५ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App