७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘नेपाली मोबाइल बजार बढी प्रतिस्पर्धी’

सेन्जेन (चीन) - चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुवावे टेक्नोलोजीको नेपालका लागि देशीय निर्देशक जोयस झुले अन्य मुलुकको तुलनामा नेपालको मोबाइल बजार बढी प्रतिस्पर्धी भएको भन्दै नेपालमा लगानी बढाउने बताएका छन्।

गुणस्तरीय उत्पादन र नवीनतम प्रविधिको विकासका लागि अनुसन्धानमा विश्वभर अर्बौ रुपैयाँ खर्च गर्दै आएको हुवावेले नेपालमा आफ्नो बजार हिस्सा बढाउन लगानी बढाउने योजना बनाएको हो। 

झुले प्रतिस्पर्धी नेपाली बजारमा आफ्ना उत्पादनलाई लोकप्रिय बनाउने उद्देश्य कम्पनीको भएको बताए । ‘कम्पनीले नेपालमा लगानी बढाउने, धेरै स्थानमा रिटेल पसल स्थापना गर्ने र उपभोक्तालाई सकेसम्म खुसी बनाउने उद्देश्य राखेको छ,’ निर्देशक झुले गत साता चीनको सान्जेनमा नेपाली सञ्चारकर्मीहरुसँग भने । उनले हुवावेले नेपालमा कति रुपैयाँ लगानी गर्दैछ भन्ने बारेमा भने प्रष्ट पारेनन्।

उनका अनुसार नोभा ३ स्मार्टफोन नेपाली बजारमा ल्याउँदा उपभोक्ताले देखाएको रुचीले कम्पनीको हौसला बढेको छ । नोभा ३ सार्वजनिक गरेको दिन दुई घन्टामा नै दुई हजारभन्दा बढी मोबाइल बिक्री भएको उनले जानकारी दिए । हुवावेका पी २० र पी २० प्रोलगायत पछिल्ला उत्पादनहरु नेपाली बजारमा आइनसकेको जानकारी दिँदै उनले यी स्मार्टफोन नेपालमा बिक्री सुरु गर्दा पनि नोभा ३ जस्तै रुचाइने दाबी गरे। 

‘हाम्रो प्रतिस्पर्धा कुन–कुन कम्पनीहरुसँग छ भन्नुभन्दा पनि हामी उपभोक्ताको चाहना के हो र त्यो चाहनाअनुसार उत्पादनहरु बजारमा ल्याउन सकेका छौ वा छैनौं भन्नेमा चासो राख्छौं,’ सञ्चारकर्मीहरुको जिज्ञासामा झुले भने ।  निर्देशक झुले स–साना कम्पनीहरुसँग कुनै प्रतिस्पर्धा नभएको भन्दै अहिले सामसुङ र एप्पल कम्पनीका उत्पादनहरुसँग हुवावेका उत्पादनले बजारमा प्रतिस्पर्धी गरिरहेको बताए।  

उनका अनुसार नेपालको मोबाइल बजार उच्च प्रतिस्पर्धी हुँदाहुँदै सरकारको अस्थिर नीतिले बेलाबेलामा समस्या आउने गरेको छ । ‘चालु आर्थिक वर्षमा कतिपय क्षेत्रमा कर वृद्धि भएको छ भने मोबाइलमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुटको सुविधा पनि हटाइएको छ,’ झुले भने, ‘नीति स्थिर नहुँदासम्म लगानी बढाउँदा जोखिम बढी हुन्छ ।’ उनका अनुसार नेपाली बजारमा उधारो व्यापारले पनि समस्या हुने गरेको छ।  

हुवावेले उच्च र नवीनतम प्रविधि राखेर मोबाइल बजारमा ल्याउने झुले जानकारी दिए । उच्चस्तरको क्यामरा, धेरै समयसम्म टिक्ने किसिमको ब्याट्री, प्रोसेसर, डिजाइन, कलरलगायतमा कम्पनीले विशेष ध्यान दिने गरेको छ।

उनका अनुसार नेपाली बजार लिन मोबाइल कम्पनीबीच प्रतिस्पर्धा भए पनि हुवावेको बजार हिस्सा प्रत्येक वर्ष बढिरहेको छ । उनले उदाहरण दिँदै भने, ‘गत वर्ष विश्वभर मोबाइलको बजार २.५ प्रतिशतले मात्र वृद्धि भएकामा हुवावेको बजार हिस्सा ३० प्रतिशतले बढेको छ । नेपालको बजार हिस्सा पनि यस्तै हो । विश्वभरमा हुवावेका ५३ हजार रिटेल स्टोर खुलेका छन् । हुवावेका उपभोक्तामध्ये आधा (५० प्रतिशत) महिला मात्र छन्।

पछिल्लो समय मोबाइल बजारको वृद्धिदर त्यति राम्रो हुन नसकेको अवस्थामा पनि हुवावेले धेरै कम्पनीको बजार हिस्सा खोस्दै आएको दाबी झुको छ । उनले हुवावेले विश्वभर आफ्नो ब्रान्डलाई स्थापित गर्ने बाटोमा लागेको बताए । ‘चीनमा हामी पहिलो स्थानमा भए पनि अब नेपाललगायत विश्वभर नै हुवावेको ब्रान्ड लोकप्रिय बनाउनका लागि परेको छौं,’ झुले भने । हुवावे तीन दशकअघि चीनमा स्थापना भएको दूरसञ्चार कम्पनी हो। 

सन् १९८७ मा चीनको सेनजेन सहरमा यो कम्पनी खोलिएको थियो । अहिलेसम्म यो कम्पनी एक सय ७० भन्दा धेरै मुलुक र क्षेत्रहरुमा पुगिसकेको छ । हुवावे संसारकै सबैभन्दा ठूलो दूरसञ्चारका उपकरण आपूर्ति गर्ने कम्पनी पनि हो। 

हुवावेका अनुसार यो कम्पनीमा प्रत्यक्ष रुपमा एक लाख ८० हजार कर्मचारीले काम गरिरहेका छन् । सेन्जेनस्थित यसको मुख्य कार्यालयमा मात्र ४० हजारले काम गर्छन् । कम्पनीको गत वर्षको राजस्व ९२ अर्ब अमेरिकी डलर र खुद नाफा सात अर्ब अमेरिकी डलर बराबर छ । नेपालको कुल बजेटको आधा हिस्सा बराबर यो कम्पनीको नाफा मात्रै छ । यस्तै यसको कुल राजस्व नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) भन्दा तीन गुना ठूलो छ। 

गुणस्तरीय उत्पादनकै कारण हुवावेले विभिन्न किसिमका अवार्ड पाएको छ । यस वर्ष मात्रै कम्पनीले टिपा वर्ड र ऐसा अवार्ड पाएको छ । यस्तै कम्पनीको पछिल्लो उत्पादन पी २० प्रोले वेस्ट प्रोडक्टको पुरस्कार पाएको छ।  

हुवावेले पछिल्लो समयमा टेलिकम नेटवर्क, आइटी, स्मार्ट डिभाइस र स्याटेलाइट सेवाका क्षेत्रमा अनुसन्धान गर्ने, उच्चस्तरीय तथा गुणस्तरीय उत्पादन गर्ने काम गर्दै आएको छ । कम्पनीको उद्देश्य प्रत्येक व्यक्ति, घर र संस्थालाई एक आपसमा डिजिटल प्रविधिले जोडेर विश्वलाई नै अब्बल बनाउने रहेको छ । कम्पनीले ‘हुवावे क्लाउड’ सर्भिसका नामबाट स्याटेलाइट सेवा दिँदै आएको छ।

हुवावेले आफ्ना उत्पादन तथा सेवाहरुलाई उच्च गुणस्तरीय बनाउन विश्वका विभिन्न क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गरेर काम गरिरहेको छ भने कतिपय विश्वका प्रतिष्ठित अनुसन्धान केन्द्रहरुसँग मिलेर काम गर्दै आएको छ । कम्पनीका अनुसार चीनमा चार स्थानमा अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरिएका छन् । यस्तै विश्वका अन्य स्थानहरुमध्ये अमेरिकाको सिल्कन भ्याली, सियटल र बोस्टनमा पनि यस्ता केन्द्र खोलिएका छन् । अमेरिका बाहेक क्यानडा, जर्मनी, फ्रान्स, रसिया र भारतमा पनि हुवावेले अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेको छ । हुवावेले अहिले ३६ ‘ज्वाइन्ट इन्नोभेसन सेन्टर’ र १४ वटा अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेर काम गरिरहेको छ। 

हुवावेले उपभोक्ता र व्यवसायी दुवैका लागि उत्पादनहरु बजारमा ल्याएको छ । उपभोक्ताका लागि स्मार्ट फोन, कम्प्युटर र ट्याबलेट, घडी, मोबाइल ब्रोडब्यान्डलगायत छन् भने व्यापार व्यवसायका लागि पनि अन्य विभिन्न उपकरणहरु उत्पादन गर्दै आएको छ। 

प्रकाशित: १८ आश्विन २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App